• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    १० गतेपछि फेरी पूर्ण लकडाउन हुने हल्ला चलेपछि ओली सरकारले मुख खाेल्याे, यस्तो छ यथार्थ

    12.3K
    SHARES

    काठमाडौं । असार १० गतेपछि फेरी पूर्ण लकडाउन हुने हल्ला चलेपछि सरकारले मुख खोलेको छ । अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो गरिएको सरकारको भनाइ छ । कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको बताए ।

    जनताको दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो गरिए पनि जनता आफैं सचेत हुनुपर्ने बताए । ‘कतै क्रिटिकल केसहरु आए भने निश्चित एरियालाई सिल गर्ने हो र लकडाउनका नियम सबैले पालना गर्नुपर्ने उनले बताए ।

    उनकाअनुसार दुई सयभन्दा बढी सक्रिय केस देखिएका स्थानमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिनेछ । अन्त्रय अनावश्यक रुपमा घर बाहिर ननिस्कन र भिडभाड हुने ठाउँबाट जोगिन जनता आफैं सचेत हुनुपर्ने एवं उपप्रधानमन्त्री पोखरेलले बताए । लकडाउन खुकुलो भयो भन्दैमा भिडभाड गर्ने, लापरवाहीपूर्ण जीवनशैली अपनाउने र सरकारका निर्देशन पालना नगर्दा आफैंलाई असर पर्नेतर्फ सचेत हुन सरकारले आग्रह गरेको छ ।

    सार्वजनिक यातायात सञ्चालन गर्न आवागमन बढ्ने र प्रत्येक सवारी साधनमा प्रहरी सुरक्षाकर्मी राखेर सञ्चालन गर्न पनि गाह्रो हुने भएकाले केही समय हेरेरमात्र ठाउँ अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी सरकारको छ । स्कुल, सावर्जनिक यातायात, सिनेमा, ठूला रेष्टुरेन्ट अझै पनि सञ्चालन नहुने उपप्रधानमत्री पोखरेलले बताए ।

    उनकाअनुसार सार्वजिनक सभा समारोह पनि गर्न पाइँदैन । सरकारले गरेका निर्णय पूर्ण पालना नगर्दा आफैं जोखिममा पर्ने यथार्थ बुझ्न उनले आग्रह गरे । अहिलेसम्म संक्रमण भारत र तेस्रो मुुलुकबाट आएकाहरुमा मात्र देखिएको र समुदायमा नफैलिएको हुनाले यो अवस्था कायमै राख्नु चुनौतिपूर्ण रहेको सरकारको बुझाइ छ ।

    यसैबीचशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण संस्था सञ्चालन नभएको अवधिको शुल्क नलिन निजी विद्यालयहरुलाई निर्देशन दिएको छ । सोमबार मन्त्रालयका प्रवक्ता दिपक शर्माले विज्ञप्ति जारी गरेर शुल्क नलिन निजी विद्यालयको छाता संस्था प्याब्सन, एनप्याब्सनलाई सचेत गराएका हुन् । आइतबार निजी विद्यालयका छाता संस्थाहरु प्याब्सन र एनप्याब्सनले गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क बुझाउन अपिल गरेका थिए ।

    निजी विद्यालयले शुल्क उठाउन गरेको सर्कुलरमा विद्यार्थी र अभिभावकले असन्तुष्टि जनाएका थिए । सरकारले असार १ गतेदेखि वैकल्पिक विधिका माध्यमबाट सिकाई क्रियाकलापका गतिवधि सञ्चालन गरेको छ । शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशका २०७७ विपरित हुने क्रियाकलाप नगर्न आग्रह गरेको हो । मन्त्रालयले जेठ १८ गते निर्देशिका जारी गरेको थियो ।

    प्रवक्ता शर्माद्धारा जारी विज्ञप्तिमा प्याब्सन, एनप्याब्सनले गरेको अपिलप्रति मन्त्रालयको ध्यानार्कषण भएको उल्लेख छ । चैतदेखि शिक्षण संस्था बन्द छन् । निजी विद्यालय सञ्चालकहरुले लकडाउनको अवधिमा सरकारले कुनै राहत नदिएको भन्दै शुल्क उठाउनु परेको जिकिर गरेका थिए । विद्यालयहरुले भोग्नु परेको समस्याको बारेमा छलफल गर्न सकिने मन्त्रालयले जनाएको छ । असार १ गतेदेखि सञ्चालन गरिएको वैकल्पिक कक्षासम्बन्धी कुनै समस्या भए विद्यालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नुपर्ने शर्माले बताए । विद्यालयको शुल्क सम्बन्धी अनुगमन र रेखदेख स्थानीय तहले गर्दै आएका छन् । मन्त्रालयले पनि विद्यालहरुलाई स्थानीय तहसँग परार्मश गर्न आग्रह गरेको हो ।

    वैकल्पिक कक्षामा कक्षा १ मा भर्ना हुने देशभरका नयाँ विद्यार्थी नसमेटिएको भन्दै सरोकारवालाहरुले गुनसो गरेका थिए । मन्त्रालयले भने गत वर्ष प्रारम्भिक बाल कक्षामा भर्ना भएका विद्यार्थीको अभिलेखीकरण गरेर पाठ्यपुस्तक उपलब्ध गराउन भनेको छ । ५ वर्ष पुरा भएका बालबालिकालाई उनीहरुको पायक पर्ने विद्यालयले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराएर वैकल्पिक कक्षामा समेट्नुपर्ने शर्माले जनाए ।

    आफुलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण हुन चाहने कक्षा १–१० का विद्यार्थीलाई समेत अभिलेख राखेर पाठ्यपुस्तक उपलब्ध गराउन सकिने मन्त्रालयले जनाएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निजी विद्यालयलाई शुल्क नबुझाउन अभिभावकलाई आव्हान गरेका छन् ।

    सोमबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी अनेरास्ववियू र नेविसंघले शिक्षण संस्था नै सञ्चालन नभएको अवधिको शुल्क नतिर्ने प्रष्टाएका हुन् । सत्तारुढ र प्रमुख प्रतिपक्षी ठूला दुई विद्यार्थी संगठनले विद्यालय नै बन्द रहेर पठनपाठन नभएको बेला समेत शुल्क मागेको भन्दै त्यसको विरोध गरेका हुन् ।

    अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा प्याब्सन, एनप्याब्सनले शुल्क माग्दै गरेको अपिललाई अवज्ञा गर्न विद्यार्थी अभिभावकसँग आग्रह गरेका छन् । उनीहरुले असान्दर्भिक र अव्यवहारिक अपिल फिर्ता लिन निजी विद्यालय सञ्चालकहरुलाई आग्रह समेत गरेका छन् । लकडाउनको अवधि कायम रहेसम्म कुनै पनि प्रकारका शुल्क नलिन सचेत गराएका छन् ।

    त्यस्तै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शिक्षण संस्था नखुलेसम्म शुल्क नतिर्न विद्यार्थी, अभिभावकलाई आव्हान गरेका छन् । नेविसंघले शुल्क उठाउन नदिन सरकार र शिक्षा मन्त्रालयलाई सचेत समेत गराएको छ ।

    नेपालमा सोमबार थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ९ हजार५६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ९ हजार ५६१ पुगेको जानकारी दिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार रसुवाबाहेक नेपालका ७६ जिल्लामा अहिलेसम्म नाै हजार पाँच सय ६१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

    मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा सात जना, गजेन्द्र नारायणसिंह प्रयोगशालामा ११ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा १३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएकाे परीक्षणमा दुई सय ८३ जना, भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा २१ जना, धुलिखेल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा ४२ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणमा १२ जनामा कोरोना सङ्क्रमण देखिएको प्रवक्ता डा. गौतमले बताए ।

    साथै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको परीक्षणमा २० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा एक सय तीन जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा १३ जनामा कोराना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ ।

    सोमबार ३७० जना डिस्चार्ज

    पछिल्लो २४ घण्टामा थप ३७० जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। दाङबाट ६ जना, सुर्खेतबाट ६, कालिकोटका २८ जना, दैलेखमा उपचाररत २६५, सल्यानबाट ३७ नारायणी अस्पतालबाट ११, धादिङबाट १७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन्।

    योसहित नेपालमा हालसम्म जना २ हजार १ सय ४२ जना सफल उपचारपछि निको भएका छन्। नेपालमा शनिबारसम्म २३ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

    कोरोनाले हालसम्म २३ जनाको मृत्यु
    नेपालमा आइतबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

    ६९ वर्षका गुल्मी छत्रकोटका एक जनाको कोरोनाका कारण मृत्यु भएको स्थास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार गुल्मीका थप एक जनाको कोरोनाका कारण ज्यान गएको हो ।

    उनको घरमै मृत्यु भएको र शव व्यवस्थापन भइसकेको मन्त्रालयले जनाएको छ । यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

    त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

    यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

    त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला गरी २२ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    उता पाल्पाको पूर्वखोला गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि आफैंले निर्माण गरेको आइसोलेसन प्रयोग गर्ने भएको छ । सोमबार एकै पटक ८० जनामा कोरोना संक्रमण पुष्टि भएपछि वडा नम्बर २ मा रहेको सरस्वती मावि र वडा नम्बर ३ मा रहेको उद्ध माविमा ५० बेडको आइसोलेसन बनाएर संक्रमितको उपचार गरिने गाउँपालिकाका स्वास्थ्य सूचना अधिकृत मोहन ढकालले जानकारी दिए ।

    उनले भने, ‘पूर्वखोला र रम्बा गाउँपालिकाले संयुक्त रुपमा रम्बाको टाउनस्थित रम्बा माविमा २५ बेडको आइसोलेसन बनाएका थियौं । त्यहाँ १० जना संक्रमित उपचाररत छन् । सोमबार एक्कासी ८० जना संक्रमित थपिएपछि त्यहाँ नअट्ने भयो । त्यसैले ५० बेडको आइसोलेसन बेड तयार पार्ने काम भइरहेको छ ।’ यस गाउँपालिकामा अहिलेसम्म ९२ जनामा कोरोना संक्रमण पुष्टि छ । जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ