• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कोरोना सन्चो भएका वडाध्यक्षले दिए यस्तो अनौठो बयान, डाक्टर समेत दंग

    1.5K
    SHARES

    कैलाली । कैलालीको गोदावरी नगरपालिकाका– १ का वडाध्यक्ष शर्मानन्द भट्टले कोरोनालाई जितेका छन् । गत चैत्र ११ गतेदेखि भारतबाट आएका नेपालीको उद्धार र व्यवस्थापनमा खटिएका भट्टलाई जेठ २४ गते कोरोना संक्रमणको पुष्टि भएकाे थियाे।

    कोरोना निको भएपछि उनले दिन प्रतिदिन संक्रमित बढ्न थाले पनि आफू उच्च मनोबलमा रहेको बताए । डर, त्रास र चिन्ताको अन्त्य गरियो भने कोरोना जित्न सकिने उनको बयान छ । २४ गते संक्रमण पुष्टि भए पनि उनी २० गते र्‍यापिड टेस्टबाट पोजेटिभ देखिएदेखिनै आइसोलेसनमा बसेका थिए ।

    यस अवधिमा उनलाई कुनै स्वास्थ्य समस्या देखिएन । संक्रमण पुष्टि भइसकेपछि जेठ २८ मा उनलाई स्वास प्रश्वासमा समस्या देखियो । ‘राति एकाएक सास फेर्न गाह्रो भयो । त्यति बेला केही डर लाग्यो’ उनले भने, ‘राति नै उठे, लामो सास फेरे, कसरत गरेँ अनि ठीक भएको जस्तो लाग्यो ।’

    भट्टको परिवारमा ६ जना सदस्य छन् । उनलाई संक्रमण पुष्टि भएपछि उनका परिवारका सबै सदस्यमा कोरोना परीक्षण गर्न नमुना संकलन गरियो । तर, उनी बाहेक अरु कसैमा पनि संक्रमण देखिएन ।

    उनलाई सबै भन्दा ठूलो चिन्ता आमाको थियो । ‘६५ बर्षकी आमा दमको रोगी हुनुहुन्छ । उहाँलाई २४ घण्टा नै अक्सिजन दिनुपर्छ’ उनले भने ‘मलाई संक्रमण भएपछि उहाँमा पनि हुन्छ कि भन्ने ठूलो पीर थियो । धन्न भएन ।’

    आइतबार पीसीआर रिपोर्ट नेगेटिभ आए पछि उनी डिस्चार्ज भएका छन् । उनी १५ दिनपछि निको भएका हुन् । उनी आत्मविश्वासले रोगलाई जितेको बताउँछन् । ‘मलाई कोरोना संक्रमण भएको महसुस नै भएन’ उनले भने, ‘आत्मबल बलियो बनाउँदा कोरोनालाई हराउन सफल भइने रहेछ ।’

    उनी आइसोलेसनमै रहेका बेला कोरोना संक्रमणबाट उनको छिमेकीको मृत्यु भयो । त्यसले उनी चिन्तित त भए, तर आत्मविश्वास कमजोर हुन दिएनन् । निको भएर घर फर्किने बेलासम्म पनि आफूमा कसरी संक्रमण भयो भन्ने बिषयमा उनी अनविज्ञ छन् । उद्धारमा खटिएकै बेला संक्रमण भएको हुन सक्ने उनको अनुमान छ ।

    भट्ट अझै केही दिन घरमा सुरक्षित बस्ने बताउँछन् । ‘यो बेला धेरै काम र जिम्मेवारी पनि छन् । तर, त्यो भन्दा पहिले म पूर्ण रुपमा ठीक हुनु छ’ उनले भने ‘त्यसपछि फेरि पुरानै शैलीमा फर्किन्छु ।’

    भट्ट गोदावरी नगरपालिकाका पहिलो संक्रमित हुन् । त्यसयता शनिबार सम्म २२ जनामा संक्रमण पुष्टि भइसकेको छ । शनिबार एकै दिन १३ जना संक्रमित भेटिएको छ । तीमध्ये एक जनाको कोरोनाबाटै मृत्यु भइसकेको छ ।

    नेपालमा आइतबार थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ९ हजार २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ९ हजार २६ पुगेको जानकारी दिएका हुन् । नयाँ थपिएका संक्रमित मध्ये ३५७ पुरुष र ६४ महिला रहेका छन् ।

    कुन जिल्लामा कति थपिए ?

    डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ३ महिला र ३ पुरुष, उदयपुरका एक महिला र ४ जना पुरुष, मोरङका एकजना महिला र एकजना पुरुष, सुनसरीको एकजना महिला र एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीषणमा धनुषाका एकजना महिला र ७ जना पुरुष, महोत्तरीका २ जना पुरुष र सप्तरीका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता डा गौतमका अनुसार नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीषणमा बाराका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अर्घाखाँचीका ६ जना महिला र१० जना पुरुष, डडेल्धुराका ३ महिला र ११ जना पुरुष, डोटीका २ महिला र १४ जना पुरुष, गुल्मीका एक महिला र ४ जना पुरुष, कैलालीका ३ पुरुष, कपिलवस्तुका ११ पुरुष, नवलपरासी पश्चिमका ५ महिला र १६ जना पुरुष र नुवाकोटका एक पुरुष, प्युठानका २ महिला र १८ पुरुष, रामेछापका एकजना पुरुष, रुपन्देहीका एकजना पुरुष, सर्लाहीका एकजना महिला र ४ जना पुरुष, सिराहाका ४ महिला र ४८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा ललितपुरकी एक महिला र पाल्पाका २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका १० महिला र ३९ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाग्लुङका २ जना पुरुष,कास्कीका एकजना पुरुष, स्याङ्जाका २ जना महिला र ८ जना पुरुष, बाग्लुङका २१ जना पुरुष, मुस्ताङका एकजना पुरुष, म्याग्दीका २ महिला र २ जना पुरुष, नवलपरासी पुर्वका २ पुरुष, पर्वतका २ जना पुरुष, तनहुँका एक महिला र ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एक महिला र ८ जना पुरुष, गुल्मीका एक महिला र एक पुरुष, कपिलवस्तुका १३ जना पुरुष, नवलपरासी पश्चिमका एक पुरुष, पाल्पाका एक महिला र एक पुरुष र रुपन्देहीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यसैगरी भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एक पुरुष, बर्दियाका ३ जना पुरुष, रोल्पाका एकजना महिला र २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १० जना पुरुष र रोल्पाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलखका एक महिला, सल्यानका ६ जना पुरुष र सुर्खेतका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका २ जना पुरुष, बैतडीका एकजना पुरुष र एक महिला, बझाङका २ जना पुरुष, डडेल्धुराका ४ जना महिला र २३ जना पुरुष, डोटीका ४ महिला र ७ पुरुष, कैलालीका २ महिला र २२ पुरुष र कञ्चनपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७५ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

    पछिल्लो २४ घण्टामा १९६ जना डिस्चार्ज

    नेपालमा पछिल्लो २४ घण्टामा १९६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ हजार ७७२ पुगेको छ । जसमध्ये १४९ महिला र १६२३ पुरुष रहेका छन् ।

    हालसम्म २३ जनाको मृत्यु

    नेपालमा आइतबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

    ६९ वर्षका गुल्मी छत्रकोटका एक जनाको कोरोनाका कारण मृत्यु भएको स्थास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार गुल्मीका थप एक जनाको कोरोनाका कारण ज्यान गएको हो । उनको घरमै मृत्यु भएको र शव व्यवस्थापन भइसकेको मन्त्रालयले जनाएको छ ।

    यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

    त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

    यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

    त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला गरी २२ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ