• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सरिता गिरीको संशोधन अस्वीकृत गर्ने सभामुखको निर्णय

    2.2K
    SHARES

    काठमाडौं । संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् । संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए ।

    प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेकेा उनले बताए । नियम ११२ मा कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख छ । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ । यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन दर्ता गरेकी थिइन् ।

    समाजवादी पार्टीले उनलाई संशोधन फिर्ता लिन निर्देशन दिएको थियो भने नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्नेे संविधान संशोधन विधेयकको पक्षमा मत दिन पार्टीका सांसदहरूलाई हृविप समेत जारी गरेको छ । सांसद गिरीले भने यसबारे सोचेर संसदमा जानकारी दिने दललाई बताएकी थिइन् ।

    यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार सम्पन्न संसदीय दलको बैठकले संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिएको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।  काँग्रेसले काँग्रेसका सांसदहरुलाई अनिवार्य उपस्थित भइ विधेयकको पक्षमा अनिवार्य मतदानका लागि ह्वीप जारी गरेको छ ।

    काँग्रेसको निर्णयमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९ को उपधारा (२) सँग सम्बन्धित अनुसूची–३ मा रहेको नेपालको निशान छाप परिवर्तनका लागि नेपाल सरकारले प्रस्तुत गरेको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि ०७७ जेठ ३१ गते बस्ने प्रतिनिधिसभा बैठकमा मतदान हुने हुँदा उक्त बैठकमा नेपाली काँग्रेसका माननीय सदस्यहरुलाई अनिवार्य उपस्थित भइ उक्त विधेयकको पक्षमा अनिवार्य मतदान गर्न संसदीय दलको बैठकले निर्देशन गरेको छ ।’

    नेपाल सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ । काँग्रेससहित नेपालका सवै राजनीतिक दलहरुले नेपाली भूभाग समेटिएको नक्सा कार्यान्वयनमा ल्याउन गरिएको संशोधन प्रस्तावलाई समर्थन जनाएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया