• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    डब्ल्युएचओसँग सबै सम्बन्ध तोडेका ट्रम्पलाई चीनले दियो यस्तो संज्ञा

    7.5K
    SHARES

    काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओसँग सबै प्रकारका सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम ‘एकतर्फी सोच’ को उपज भएको चीनले टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयले सोमबार संयुक्त राज्य अमेरिकाको उक्त निर्णयलाई उसको ‘शक्ति राजनीति’ र ‘एकतर्फी सोच’ को संज्ञा दिएको हो ।

    अमेरिकी कदमको आलोचना गर्दै चीनले विश्व स्वास्थ्य संगठनलाई थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी रोक्न असफल भएको भन्दै गत शनिवार विश्व स्वास्थ्य संगठनसँगको सबै सम्बन्ध समाप्त भएको घोषणा गरेका थिए ।

    यस्तै चीनमा हाल विकास भइरहेको कोरोना भाइरसविरूद्धको खोप यस वर्षको अन्त्यसम्म बजारमा आउने अनुमान गरिएको छ। चीनको मन्त्रीपरिषद्सँग जोडिएको सरकारी निकाय स्टेट काउन्सिलले यस्तो जानकारी दिएको हो। वुहान वायोलिजिकल प्रोडक्टस् रिसर्च इन्सिट्यूट र बेइजिङ प्रोडक्ट्स रिसर्च इन्सिट्यूटले संयूक्तरूपमा विकास गरिरहेको यो खोपको चिकित्सकीय तथा मानवीय परीक्षणको दुई चरण पूरा भइसकेको छ।

    चीनको सरकारी स्वामित्वमा रहेको ‘एसेट सुपरभिजन तथा प्रसाशनिक कमिसन’ले चिनियाँ सामाजिक संजाल विच्याटमा खोप वर्षको अन्त्यसम्म उपलब्ध हुने घोषणा गरेको छ। हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार यी दुबै संस्थाहरू चीनको सरकारी स्वामित्वमा रहेको औषधि निर्माण कम्पनी ‘सिनोफार्म’सँग सम्बन्धित छन्। २ हजार बढी मानिसमा पहिलो दुई चरणको परीक्षण सम्पन्न भइसकेको छ।

    ‘यसको चिकित्सकीय परीक्षणलाई तीन चरणमा बाँडिएको छ, बजारमा आउनुपूर्व तेश्रो चरण पूरा गरिनेछ। यो वर्षको अन्त्यसम्म वा अर्को वर्षको सुरूवातसम्म खोप बजारमा आउनसक्छ’, घोषणामा भनिएको छ। खोप परीक्षणका दुई चरणबाट प्राप्त तथ्यांकले अन्य खोपको भन्दा सुरक्षा र असरका हिसाबले अझ राम्रो छ।

    हाल विश्वभर सय भन्दा बढी खोपको विकास भइरहेको छ र चीनमा मात्रै ५ वटा कोरोना खोपको परीक्षण र विकास चलिरहेको छ। यसैगरी कोरोना भाइरसको उद्गम स्थलमा वुहान कोरोनाको महत्वाकांक्षी ‘न्यूक्लिक एसिड परीक्षण’ पूरा गर्ने लक्ष्यको नजिक पुगेको छ। वुहान शहरले प्रत्येक नागरिकको कोरोना परीक्षण गर्ने घोषणा गरेको थियो।

    मे १५ देखि २५ को अवधिमा वुहानका स्वास्थ्य परीक्षणकर्मीहरूले त्यहाँका ६५ लाख बढी नागरिकको परीक्षण गरेका थिए। परीक्षणमा २ सय १८ जनामा लक्षण नदेखिएका कोरोना संक्रमित फेला परेका छन्।

    चीनले यो परीक्षण भाइरसको सम्भावित दोश्रो महामारीको खतरालाई ध्यानमा राख्दै गरेको हो। वुहानका केही वासिन्दामा पुनः संक्रमण देखिएपछि ऊ यो महत्वाकांक्षी परीक्षणमा गएको थियो। परीक्षणलाई समयमै सक्न स्वास्थ्यकर्मीहरूले १० देखि २० वटा नमुनालाई एकै ठाउँमा मिसाएर तिनको एकल परीक्षण गरेको थियो। यसक्रममा नतिजा पोजेटिभ आएको समूहका मानिसमध्ये कसलाई पोजेटिभ छ भन्ने जान्न उनीहरू नमुना पुनः छुट्टाछुट्टै परिक्षण गरिएको थियो।

    यस्तै कोरोना भाइरसको महामारीले अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धक्का लाग्न सक्ने सर्वेक्षण रिपोर्ट सार्वजनिक भएको छ ।

    कोरोनाभाइरसको महामारीलाई व्यवस्थापन गर्न नसकेको आरोप खेपिरहेका ट्रम्पलाई सर्वेक्षणमा सहभागी नागरिकले पनि उक्त आरोपलाई बल पुग्ने गरिका मत जाहेर गरेका छन् ।

    कोरोना भाइरसलाई समयमा नै नियन्त्रण गर्न नसक्दा यसको प्रभाव अमेरिकी अर्थतन्त्र तथा नागरिकको दैनिकीमा पनि देखिन थालेकोले ट्रम्पको ख्याति कोरोना भाइरसको महामारीपूर्वभन्दा घटेको निष्कर्ष वासिङ्टन पोष्ट-एबीसी न्यूज सर्वेक्षण प्रतिवेदनको छ ।

    समग्रमा अमेरिकीहरूले ट्रम्प र जो वाइडेनप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार चयन हुने विश्वास गरिएका वाइडेनको लोकप्रियता पनि पहिलेको तुलनामा घटेको छ ।

    राष्ट्रपति ट्रम्पका समर्थकहरूले ट्रम्पलाई नै मतदान गर्ने प्रतिवद्धता व्यक्त गरिरहँदा डेमोक्र्याटिक नेता वाइडेनको पक्षमा उनकै दलका समर्थकबीच पनि पार्टीभित्र ट्रम्पजस्तो लोकप्रियता नदेखिएको सर्वेक्षणमा जनाइएको छ ।

    गत मे २५ देखि २८ तारिकबीचमा फोनमार्फत आकस्मिक (र्‍यान्डम) आधारमा राष्ट्रियस्तरमा सूचिकृत एक हजार एक वयस्क अमेरिकी मतदातासँग गरिएको सर्वेक्षणमा बाइडेनले ट्रम्पमाथि ५३ प्रतिशतका विरूद्ध ४३ प्रतिशतले अग्रता लिएको बताइएको छ ।

    ट्रम्पको समर्थनमा कमी आउनु कोरोना भाइरस नियन्त्रणका लागि ट्रम्प सरकारले लिएको व्यवस्थापकीय भूमिका जिम्मेवार मानिएको छ । दुई महिना पहिले सरकारले सङ्क्रमण नियन्त्रण प्रयासका सुरूवाती कामहरू गरिरहेको थियो र यसका कारण राष्ट्रपति सकारात्मक क्षेत्रमा रहेका थिए । सर्वेक्षणमा ३४ प्रतिशत अमेरिकीले वर्तमान् अर्थतन्त्रलाई सकारात्मक मुल्याङ्कन गरेका छन् भने ६५ प्रतिशतले नकारात्मक मुल्याङ्कन गरेका छन् ।

    यस्तै चीनको वुहानबाट विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाको चपेटामा परेको भारतलाई फेरी अर्को संकट आइपरेको छ । कोरोनाको महामारीले सिंगो भारत अस्तव्यस्त बनेका बेला भारतीय वैज्ञानिकहरुले नै भारतमा कोरोना भाइरसको नयाँ प्रकार पाइएको पुष्टि गरिदिएपछि अहिले भारतभर त्रास पैदा गरिदिएको छ ।

    हैदरावादको सेन्टर फर सेल्युलर एन्ड मोलिक्यूलर बायोलोजी सीसीएमबीका वैज्ञानिकले भारतका कोरोना संक्रमितमा कोरोनाभाइरसकै नयाँ प्रकारको भाइरस पत्ता लगाएका हुन् । यस्तो भाइरस दक्षिणी राज्य तमिलनाडु र तेलंगानामा बढी पाइएको छ ।

    वैज्ञानिकहरुले भाइरसको यो अनौठो समूहलाई ‘क्लेड ए३आइ’ नाम दिएका छन् । यस्तो भाइरस भारतमा जीनोम (जीनहरुको समूह) सिक्वेन्सका ४१ प्रतिशत नमूनामा पाइएको छ । सीसीएमबीका निर्देशक तथा रिसर्च पेपरका सहलेखक राकेश मिश्राका अनुसार तेलंगाना र तमिलनाडुबाट लिइएका धेरैजसो नमूनामा ‘क्लेड ए३आइ’ पाइएको छ ।

    भारतमा यतिबेला कोरोनभाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको छ । भाइरसहरु म्युटेसन हुने सम्भावना रहन्छ । यसले गर्दा एउटै भाइरसको स्वरुप पनि परिवर्तन भइरहेको हुन्छ । कोरोनाभाइरसको म्युटेसनको बारेमा विश्वभर अध्ययनहरु भइरहेका छन् । भारतमा कोरोना भाइरसको संक्रमणबाट ६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २५९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८८ पुगेको हो।

    एकै दिन ९ हजार ६३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या २ लाख १६ हजार ८२४ पुगेको छ । संक्रमितमध्ये १ लाख ४ हजार ७१ जना संक्रमणमुक्त भएका छन् । कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

    त्यस्तै कोरोना भाइरसको महामारीले विश्वभर ६५ लाख ६७ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६५ लाख ६७ हजार ५८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १३ हजार ३३३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ४ हजार ४२८ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ८७ हजार ८९९ पुगेको छ ।

    ३० लाख १४ हजार ९०६ जनाको उपचार भइरहेकोमा ५४ हजार २०१ जनाको अवस्था गम्भीर छ भने ३१ लाख ६४ हजार २५३ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बिहिबार बिहानसम्म १ लाख ७६ हजार ४४६ जनाको मृत्यु भएको छ । २० लाख २८ हजार २४१ जना संक्रमित भएकोमा १० लाख २७ हजार ८५४ जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २९ हजार ९२९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २१ लाख ५१ हजार ४६८ पुगेको छ । त्यसमध्ये ८ लाख ४० हजार ६१९ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३२ हजार ४६५ जनाको मृत्यु भएको छ । १२ लाख २६ हजार ६३१ जना संक्रमित भएकोमा ७ लाख ४८ हजार ५१३ जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा ४४ हजार २९३ जनाको मृत्यु भएको छ । ९ लाख ८६ हजार १७३ जना संक्रमित भएकोमा ४ लाख ६६ हजार १४ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ४ हजार ६२७ जनाको ज्यान गएको छ भने १ लाख ६४ हजार ९८५ जना संक्रमित छन् । संक्रमितमध्ये ७२ हजार ३८० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८३९ जना संक्रमित भएकोमा ८ हजार २२२ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै  कोरोना महामारीबीच इटालीले पर्यटन क्षेत्र खुला गरेको छ । कोरोनाले मृत्यु हुने संख्याका आधारमा युरोपकै दोस्रो प्रभावित मुलुक इटालीले महामारी पूर्ण रूपमा नियन्त्रणमा नआउदै पर्यटन क्षेत्र सुचारू गरेको हो । महामारीका कारण कमजोर बनेको देशको आर्थिक अवस्था उकास्न इटालीको बुधबारदेखि पर्यटन क्षेत्र खुला गरेको छ ।

    अर्थतन्त्र सुधार्ने प्रयत्नस्वरूप उसले पर्यटकहरूलाई इटाली प्रवेसमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तर यो प्रतिबन्ध तत्काललाई युरोपेली मुलुकका पर्यटकहरुमा मात्र फुकुवा गरिएको बताइएको छ । गर्मीयाम सुरु भएसँगै छुट्टी मनाउने युरोपेलीलाई आफ्नो देशमा आकर्षित गरी पर्यटन व्यवसायलाई पुनर्जीवित गर्दै अर्थतन्त्र उकास्न सकिने इटालीको अपेक्षा छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ