• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बैतडीको क्वारेन्टाइनमा २२ वर्षीया युवतीको मृत्यु

    311
    SHARES

    बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको सोमबार साँझ मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दका अनुसार पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा सोही ठाउँमा घर भएकी २२ वर्षीया युवतीको मृत्यु भएको हो । उनी केही दिनअघि मात्रै भारतबाट आएकी हुन् ।

    निरीक्षक चन्दले ती युवतीले दमको उपचार गराइरहेको प्रारम्भिक जानकारी आफूले पाएको बताए । जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको छ । उनको परीक्षण रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने उनले बताए ।

    यस्तै गण्डकी प्रदेशमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा र पर्वतमा ५–५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसार स्याङ्जा चापाकोटका नगरपालिकाका २२, २६, ३२ र ४० का ४ जना पुरुष र स्याङजा विरुवा गाउँपालिकाका २० वर्षीय पुरुष गरी ५ जनामा कोरोना पुष्टि भएको हो ।

    यस्तै, पर्वत जिल्लामै पहिलो पटक कोरोना भेटिएको छ । मंगलबार पर्वत फलेबास नगरपालिकाका २० र ४० वर्षीय पुरुष, महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका ३ जना पुरुष गरी पर्वत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको डा शर्माले जानकारी दिए ।

    यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । जसमध्ये बागलुङमा २ र लमजुङका एकजना गरी ३ जना निको भई घर फर्किसकेका छन् । गण्डकीका बागलुङ, स्याङ्जा, लमजुङ, तनहुँ, नवलपुर, पर्वत, म्याग्दी गरी ७ जिल्लामा कोरोना देखिएको छ ।

    उता प्रदेश १ बाट थप १८ जनाले कोरोना जितेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिलाले कोरोना जितेका हुन् ।

    उनीहरुलाई सोमबार राति डिस्चार्ज गरिएको छ । दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि १८ जनालाई सोमबार राति डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । डा. सापकोटाका अनुसार डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।

    कोरोना जितेर डिस्चार्ज हुनेहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साहलगायतले पुष्पगुच्छा दिएर बिदाई गरेका थिए ।

    योसँगै प्रदेश १ मा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको छ । यसअघि कोशी अस्पताल विराटनगरको कोभिड १९ उपचार केन्द्रबाट पटक–पटक गरी ३० जना डिस्चार्ज भएका थिए ।

    प्रदेश १ मा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८० जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३९ जना विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ