• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    कोरोना संक्रमणबाट नेपालमा छैटौँ व्यक्तिको मृत्यु

    2.6K
    SHARES

    काठमाडौँ । नेपालमा कोरोनाभाइरस कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा कपिलवस्तुको सीमा नजिकै बाटोमै मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ का एक युवामा कोरोनाभाइरसको पुष्टि भएको हो।

    भुमिकास्थान-९ का वडाध्यक्ष नारायणप्रसाद खनालले ती युवामा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले खबर गरेको जानकारी दिए। ती युवकको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गरिएको थियो। आज कोरोना संक्रमण पुष्टि भएका युवाको शव भने अन्त्येष्टि गरिसकेको छ।

    ‘हामीले परिवारसँग सल्लाह गरेर सुरक्षाका मापदण्ड अपनाएर उनको शव चार दिनअघि नै गाडिसकेका थियौं, रिपोर्ट आज आएको हो,’ उनले भने। अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेमध्ये पाँच जनाको मृत्युपछिमात्र कोरोना संक्रमण पुष्टि भएको हो।

    यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट मृतकको संख्या र संक्रमितको संख्या दुुवै बढ्दै गएको भन्दै सावधानी अपनाउन सवैलाई आग्रह गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो अपडेटबारे जानकारी गराउदै मृतकको संख्या ५ पुगेको र संक्रमितको संख्या एकहजार ४२ पुगेको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा १५६ संक्रमित थपिएका छन् । हालसम्म ५१ जिल्लामा संक्रमण फैलिसकेको छ ।

    पछिल्लो पटक कोरोना संक्रमणबाट ललितपुर बुंगमतिका ५६ बर्षिय पूरुषको जेठ १४ गते मृत्यु भएको थियो । मन्त्रालयले यस विषम परिस्थितिमा थप सजगता र आफ्ना कार्यहरु गतिशिल बनाउनुपर्ने भएकाले सवैलाई सहयोग गर्न आह्वान गरेको छ । मन्त्रालयले अझै चुनौती बेहोर्नुपर्ने भएकाले विशेषगरी दीर्घरोगीहरु लगायतलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गरेको छ ।

    त्यस्तै कोरोना भाइरसको महामारीबाट विश्वभर ५७ लाख ८४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ४७३ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५७ लाख ८४ हजार ६०१ पुगेको छ । यस्तै एकैदिन अरू ५ हजार २८३ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५६ हजार ९३७ पुगेको छ ।

    विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २४ लाख ९४ हजार ९५२ जना संक्रमण मुक्त भएका छन् । २९ लाख ३२ हजार ७१२ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५२ हजार ९७३ जनाको अवस्था गम्भीर छ ।

    विहिबार बिहान ६ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ७० हजार ६३१ जनाको मृत्यु भएको छ । १९ लाख ५० हजार ८३ जना संक्रमित भएकोमा ९ लाख ३१ हजार ५६१ जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १८ हजार ३४६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख ५२ हजार ६२४ पुगेको छ । त्यसमध्ये ६ लाख १० हजार ३२३ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा २८ हजार ६८१ जनाको मृत्यु भएको छ । १० लाख २६ हजार १५५ जना संक्रमित भएकोमा ६ लाख ४ हजार १६४ जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा ३५ हजार ४३० जनाको मृत्यु भएको छ । ७ लाख १९ हजार ६३३ जना संक्रमित भएकोमा २ लाख ८७ हजार ५०१ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ३ हजार ७१० जनाको ज्यान गएको छ भने १ लाख २६ हजार ६३८ जना संक्रमित छन् । संक्रमितमध्ये ५२ हजार ६२३ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ७४७ जना संक्रमित भएकोमा ८ हजार १२९ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख २ हजार १०७ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख ४५ हजार ८०१ जनामध्ये ४ लाख ९० हजार १२६ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया