• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आज एकैदिन १२९ जनामा कोरोना पुष्टि, कहाँ कति ?

    1.5K
    SHARES

    काठमाडौं । नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ ।

    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् । कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

    पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको हो ।
    बाँकेको भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

    बुधबार कर्णालीमा पनि १५ जनामा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुष रहेका छन् ।

    अर्का एकजना ५५ वर्षीय पुरुष बझाङका रहेको खुलेको छ भने अर्की एक महिला बोल्न नसक्ने भएकोले पहिचान नभएको महाशाखाका प्रमुख डा. तिवारीले बताए । नेपालमा बुधबार संक्रमण देखिएकामध्ये पुरुष ८०५ र महिला ९६ रहेका छन् ।

    यसैबीच जिल्ला प्रशासन कार्यालय बाँकेले आज (बुधबार) राति १० बजेदेखि अनिश्चितकालसम्म निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर अर्को सूचना जारी नहुँदासम्म निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

    निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सबै सेवा ठप्प हुने जनाइएको छ । मंगलबार मात्रै प्रमुख जिल्ला अधिकारीका रुपमा रामबहादुर कुरुम्वाङ बाँके पुगेसँगै निषेधाज्ञा जारी गरिएको हो ।

    प्रमुख जिल्ला अधिकारी कुरुवाङ्गको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न अत्यावश्यक काम तोकेर त्यस बाहेकका कामलाई हिँडडुल समेत रोक्ने निर्णय गरेको हो । बुधबार राति १० बजे देखि अर्को आदेश नभएसम्मका लागि यो निर्णय लागू गरिएको प्रमुख जिल्ला अधिकारी कुरुवांङ्गले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया