• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको पुष्टी, को हुन् उनि ?

    2.7K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टी भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो ।

    नारायणी अस्पतालमा गरेको परीक्षणमा रिपोर्ट शंकास्पद आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । त्यसक्रममा उनको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

    यस्तै नेपालमा थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ ।  मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    काठमाडौंको टोखा नगरपालिका ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । यस्तै रौतहटको राजपुर परहदवा– २, ६ र ८ तथा इशनाथ– २ मा संक्रमित फेला परेका छन् । बाराको गढीमाई नगरपालिकामा २१ जना र कलैया नगरपालिका कोटवाली–१ मा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यस्तै सप्तरीको डाक्नेश्वरी गाउँपालिकामा २ जना र धनुषाको नगराइन नगरपालिका-३ मा तीन जनामा संक्रमण पुष्टि भएको छ । बर्दियाको बाँसगढी–९ मा एक जना, बाँकेको राप्ती सोनारी–७ र डुडुवा २ मा चार जनामा कोरोना संक्रमण देखिएको छ ।

    यस्तै दैलेखको नारायण नगरपालिकामा ४ जना, गुराँस गाउँपालिकामा २ र ढुंगेश्वर गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

    कोरोना भाइरसको महामारीबाट विश्वभर ५४ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९६ हजार ५०५ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख ९४ हजार ४५५ पुगेको छ ।

    विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २२ लाख ९९ हजार ३४५ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा २ हजार ८२६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ४३४ पुगेको छ ।

    २८ लाख ४८ हजार ६७६ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ५३ हजार २२४ जनाको अवस्था गम्भीर छ । सोमबार बिहान ६ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार ८४४ जनाको मृत्यु भएको छ । १९ लाख १ हजार ७४९ जना संक्रमित भएकोमा ८ लाख ८२ हजार ६०७ जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १४ हजार १६९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १८ लाख ७७ हजार ३४९ पुगेको छ । त्यसमध्ये ५ लाख ५९ हजार ९८१ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा २७ हजार ४५५ जनाको मृत्यु भएको छ । ९ लाख ६० हजार ४१८ जना संक्रमित भएकोमा ५ लाख ५९ हजार ५८५ जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा ३१ हजार ४७२ जनाको मृत्यु भएको छ । ६ लाख ३१ हजार ८४० जना संक्रमित भएकोमा २ लाख ४२ हजार १८७ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ३ हजार ३५६ जनाको ज्यान गएको छ भने १ लाख १३ हजार ६५६ जना संक्रमित छन् । संक्रमितमध्ये ४६ हजार २६९ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२३ जनाको मृत्यु भएको छ । ८ हजार ७२२ जना संक्रमित भएकोमा ८ हजार ६५ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारीले अमेरिकामा ९९ हजार ३०० जनाको मृत्यु भएको छ । संक्रमित १६ लाख ८६ हजार ४३६ जनामध्ये ४ लाख ५१ हजार ७०२ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया