• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    उपत्यकालाई कोरोनाबाट जाेगाउन गृहले लियो कडा एक्शन, काठमाडौं आउन चाहानेले यसो गर्नुहोस..

    काठमाडौं । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यकबाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो। काठमाडाैंलाई कोरोनाबाट जोगाउन गृहले यस्तो निर्णय लिएको हो ।

    जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो निर्देशन दिएसँगै अब उपत्यका प्रवेशमा थप कडाइ हुने भएको छ। गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा जेठ १ गते बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख-उपप्रमुख, उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए।

    गृहले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरू अत्यावश्यक प्रयोजनबाहेक पूर्णरुपमा सिल गर्न आग्रह गरिएको छ । लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न भनिएको छ ।

    ‘नाका प्रवेशका स्थानीय तहहरूलगायत काठमाडौँ उपत्यकाका सबै स्थानीय तहहरूले स्थानीय प्रशासनसँग समन्वय गरी आ-आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य सम्भाव्य स्थलहरूलाई क्वारेन्टायन बस्ने व्यक्ति स्वयंले क्वारेनटाइन खर्च भुक्तानी गर्ने गरी सम्भावित क्वारेन्टाइन प्रयोजनका लागि लागत संकलन र अन्य व्यवस्थापनको कार्य अगाडि बढाउने,’ पत्रमा भनिएको छ, ‘काठमाडौ‌ं उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयं आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाडौ‌ं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्ने ।’

    पत्रमा काठमाडौं उपत्यका प्रवेशबिन्दुमा आइपुग्ने सवारी साधनहरू प्रवेशबिन्दुमा पुग्नुपूर्व नै सुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाइ गर्ने पनि उल्लेख छ ।

    ‘काठमाडौं उपत्यकास्थित स्थानीय तहले स्थानीय प्रशासनको समन्वयमा लुकिछिपी उपत्यका प्रवेश गर्नेहरूको खोजी र लगत संकलन गरी आवश्यक कारबाही प्रक्रिया सुरु गर्ने,’ पत्रमा भनिएको छ, ‘सबै सुरक्षा निकायले उपत्यका प्रवेश नाकाको चेकचाँच र निगरानीमा थप कडाइ गर्ने, स्थानीय तहसँग समन्वय गर्ने ।’

    गृहले उपत्यकाका स्थानीय तहलाई अनुरोधसहित पठाएको पत्रमा स्थानीय संघसंस्था-क्लबहरूले गरिरहेको सामूहिक राहत वितरण र खाना वितरणले भिडभाड बढ्न गई जोखिम बढाएकोले उक्त कार्य स्थानीय तहसँग समन्वय नभएमा रोक्ने र समन्वय गरी स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी वितरण गर्ने पनि उल्लेख छ ।

    जेठ १ गतेको छलफलमा उपत्यकाका जनप्रतिनिधिले गृहमन्त्री रामबहादुर थापा बादललाई उपत्यकाको आवत-जावतलाई कडाइ गर्न माग गरेका थिए । बैठकमा उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनुभएका काठमाडौ‌ं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले लाखौ‌ंको संख्यामा रहेका उपत्यकावासीले सरकारले गरेको निर्णयलाई पालना गरिरहेको अवस्थामा केही व्यक्तिको आवत-जावतले उपत्यका अशान्त बनिरहेको भन्दै उपत्यकाका नाकामा कडाइ गर्नेभन्दा पनि प्रस्थानबिन्दूबाटै आवत-जावतलाई रोक्ने कुरालाई कडाइका साथ पूर्णरुपमा पालना गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका थिए ।

    उनले मन्त्रालयले पास दिने अनि उपत्यकाभित्र ल्याएर छाडिदिने उपत्यकाका वडाध्यक्ष-सदस्यहरू उनीहरूको पछि-पछि लाग्दै उनीहरूलाई खोज्दै हिँड्नुपर्ने बाध्यताका कारण ठूलो समस्या भएको जानकारी समेत गराएका थिए । उनीसहितका उपत्यकाका जनप्रतिनिधिले जथाभावी पास दिने कुरालाई समेत निरुत्साहित गर्न सुझाव थिएका थिए ।

    बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय तहलाई केन्द्रले निर्देशन दिने होइन समन्वय गरेर अघि बढ्नु पर्ने सुझाव दिएका थिए । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर-उपमेयरहरूको साझा संस्था नगरपालिका फोरमको गत वैशाख २७ गतेको बैठकले पनि सरकारलाई उपत्यका प्रवेशमा कडाइ गर्न माग गरेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ