• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    मनिषा कोइरालाबिरुद्ध नलाग्न भारतीय मिडियालाई जनसांस्कृतिक महासंघको चेतावनी, विज्ञप्तिसहित

    3.4K
    SHARES

    काठमाडाैं  । अखिल नेपाल जनसांस्कृतिक महासंघले अभिनेत्री मनिषा कोइरालाले सार्वजनिक गरेकी देशभक्तिपूर्ण अभिव्यक्तिको सम्मान गर्न सबैलाई आव्हान गरेको छ । साथै कोइरालाबिरुद्ध नलाग्न भारतीय मिडियालाई महासंघले चेतावनी दिएको छ । महासंघले भारतीय मिडियाहरूबाट नेपाल र नेपाली राष्ट्रियताका विरुद्ध गरिएका तमाम अनर्गल प्रचारको सशक्त प्रतिवाद गरेको छ ।

    महासंघका महासचिव खेम थपलियाले बिहिबार एक बिज्ञप्ति जारी गर्दै भारतका विभिन्न सञ्चार–माध्यमले कोइरालाको देशभक्तिपूर्ण अभिव्यक्तिका विरुद्ध प्रचारबाजी गरिएको प्रति आफ्नो संगठनकको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    ‘नेपालले हालसालै कालापानी, लिपुलेक र लिम्पियाधुराको समग्र नेपाली भू–भागलाई समेटेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि बलिउड चलचित्र उद्योगमा लामो समय योगदान दिँदै आएकी हाम्री कलाकार मनिषा कोइरालाले सार्वजनिक गरेकी देशभक्तिपूर्ण अभिव्यक्तिलाई लिएर भारतका विभिन्न सञ्चार–माध्यमले कोइरालाको उक्त देशभक्तिपूर्ण अभिव्यक्तिका विरुद्ध प्रचारबाजी गरिएको प्रति हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।’ थपलियाद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

    मनिषा कोइरालाको नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्वीटलाई रि–ट्विट गर्दै  ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान् देशहरूबिच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौँ ।’ भनेकी थिइन् । सोहि भनाइलाई लिएर अहिले भारतीय मिडियाहरु उनीबिरुद्ध खनिएपछि महासंघले आपत्ति जनाएको हो ।

    मनिषा कोइरालाले भारतलाई आफ्नो कर्मभूमि बनाएर जीवनको उर्बर समय कलाकारिताको माध्यमबाट भारतकै समृद्धि खर्च गरेको भन्दै महासंघले उनी कसैको दया, मायामा नभएर आफ्नै कला, श्रम र सीपमा बाँचेको प्रष्ट पारको छ । भारतीय मिडियाले नेपालविरुद्ध विषवमन गर्दै सामान्य मर्यादाको पनि सीमाबाहिर गएर त्यहाँ श्रम गर्ने नेपालीमाथि अपमानपूर्ण शब्द प्रयोग गर्न थालेकाेप्रति पनि महासंघले आपत्ति जनाएको छ ।

    ‘मनिषा कोइरालाले भारतलाई आफ्नो कर्मभूमि बनाइन् र जीवनको उर्बर समय कलाकारिताको माध्यमबाट भारतको समृद्धिमा योगदान पु¥याइन् । भारतको चलचित्र उद्योगमा आफ्नो कला, श्रम र सीप खन्याइन् । मनिषाले कसैको दया मायामा नभएर आफ्नै कला, श्रम र सीपमा सिङ्गो भारतलाई दिएर बाँचेकी हुन् । भारतीय मिडियाले नेपालविरुद्ध विषवमन गर्दै सामान्य मर्यादाको पनि सीमाबाहिर गएर भारतमा श्रम गर्ने नेपालीमाथि अपमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन्, अभिनेत्री मनिषाले बलिउडमा काम गरेकाले भारतको दासत्व स्वीकार्नुपर्ने खालको तर्क गरिरहेका छन् । भारतीय मिडियाहरूबाट नेपाल र नेपाली राष्ट्रियताका विरुद्ध गरिएका तमाम अनर्गल प्रचारको हामी सशक्त प्रतिवाद गर्न चाहन्छौँ ।’ थपलियाद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

    मनिषा कोइरालालाई भारतीय सङ्कीर्ण मानसिकताले भरिएका भारतीय मिडियाले लगाएको आरोप भत्सर्नायोग्य छ रहेको बिज्ञप्तिमा उल्लेख छ। नेपाली छोरीले नेपालको माया गर्न नपाउने ? भन्दै महासंघले प्रश्न समेत सोधेको छ । ‘श्रम बेच्न हुन्छ तर स्वाभिमान बेच्नुहुँदैन’ भन्ने मनिषाको अभिव्यक्तिले देशभक्तिको पवित्र आस्थालाई झनै स्पष्ट गरेको बिज्ञप्तिमा उल्लेख छ । साथै नेपालले आफ्नो देशकी नायिका मनिषा कोइरालामा जिवन्त रहेको देशभक्तिपूर्ण आस्था र निष्ठाको उच्च सम्मान गर्न चाहेको पनि बताएको छ।

    त्यस्तै नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले नेपाल सरकारले जारी गरेको नयाँ नक्सालाई कृत्रिम विस्तार भन्दै अस्वीकार्य भएको भनेर विरोध गरेको प्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल कसैको इन्च भूमि पनि लिने र आफ्नो एक इन्च भूमि पनि कसैलाई छोड्ने पक्षमा नरहेको उसले प्रष्ट पारेको छ । हेर्नुहोस बिज्ञप्तिको पुर्ण पाठ…

    ”मनिषा कोइरालाको देशभक्तिपूर्ण अभिव्यक्तिको सम्मान गर
    नेपालले हालसालै कालापानी, लिपुलेक र लिम्पियाधुराको समग्र नेपाली भू–भागलाई समेटेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि बलिउड चलचित्र उद्योगमा लामो समय योगदान दिँदै आएकी हाम्री कलाकार मनिषा कोइरालाले सार्वजनिक गरेकी देशभक्तिपूर्ण अभिव्यक्तिलाई लिएर भारतका विभिन्न सञ्चार–माध्यमले कोइरालाको उक्त देशभक्तिपूर्ण अभिव्यक्तिका विरुद्ध प्रचारबाजी गरिएको प्रति हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।

    मनिषा कोइरालाको नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्वीटलाई रि–ट्विट गर्दै शिष्ट भाषामा लेखेकी थिइन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान् देशहरूबिच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौँ ।’ मनिषा कोइरालाले भारतलाई आफ्नो कर्मभूमि बनाइन् र जीवनको उर्बर समय कलाकारिताको माध्यमबाट भारतको समृद्धिमा योगदान पु¥याइन् ।

    भारतको चलचित्र उद्योगमा आफ्नो कला, श्रम र सीप खन्याइन् । मनिषाले कसैको दया मायामा नभएर आफ्नै कला, श्रम र सीपमा सिङ्गो भारतलाई दिएर बाँचेकी हुन् । भारतीय मिडियाले नेपालविरुद्ध विषवमन गर्दै सामान्य मर्यादाको पनि सीमाबाहिर गएर भारतमा श्रम गर्ने नेपालीमाथि अपमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन्; अभिनेत्री मनिषाले बलिउडमा काम गरेकाले भारतको दासत्व स्वीकार्नुपर्ने खालको तर्क गरिरहेका छन् । भारतीय मिडियाहरूबाट नेपाल र नेपाली राष्ट्रियताका विरुद्ध गरिएका तमाम अनर्गल प्रचारको हामी सशक्त प्रतिवाद गर्न चाहन्छौँ ।

    राष्ट्रियता ठूलो, सानो, विकसित, अविकसित वा कुनै पनि अवस्थाले फरक पार्ने विषय होइन । राष्ट्रियताको मर्मको नै खिल्ली उड्ने गरी भारतीय मिडियाले मनिषा कोइरालामाथि नानाथरी आलोचना गरिरहेको छ । मनिषा कोइरालालाई भारतीय सङ्कीर्ण मानसिकताले भरिएका भारतीय मिडियाले लगाएको आरोप भत्सर्नायोग्य छ । नेपाली छोरीले नेपालको माया गर्न नपाउने ? ‘श्रम बेच्न हुन्छ तर स्वाभिमान बेच्नुहुँदैन’ भन्ने मनिषाको अभिव्यक्तिले देशभक्तिको पवित्र आस्थालाई झनै स्पष्ट गरेको छ । हामी नेपालकी नायिका मनिषा कोइरालामा जिवन्त रहेको देशभक्तिपूर्ण आस्था र निष्ठाको उच्च सम्मान गर्न चाहन्छौँ ।

    नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले नेपाल सरकारले जारी गरेको नयाँ नक्सालाई कृत्रिम विस्तार भन्दै अस्वीकार्य भएको भन्दै विरोध गरेको प्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल कसैको इन्च भूमि पनि चाहँदैन र आफ्नो एक इन्च भूमि पनि कसैलाई छोड्दैन ।

    साम्राज्यवादीलाई कुकुर भनेर लल्कार्ने भीमसेन थापा र चमचम गर्ने खुकुरी नचाउँदै सतलजसम्म पुग्ने अमर सिंह थापाको देशभक्तिपूर्ण राप र तापले सिर्जना गरेको टिष्टादेखि काँगडासम्मको नेपालको स्मरण जनतामा ताजा नै छ । साथै, भारतले नेपालको ७१ भन्दा बढी स्थानमा सिमाना मिचेको छ भने ६० हजार हेक्टरभन्दा बढी जमिन अतिक्रमण गरेको छ । हामीले पुर्खाहरूले आफ्नो रगत पसिनाद्वारा सिञ्चित इन्च इन्च भू–भागको हिसाब किताब गर्नु छ, आफ्नो भूमि फिर्ता ल्याउनु छ ।

    साम्राज्यवादी भारतले सामाजिक, सांस्कृतिक रूपमा समेत नेपालमाथि अतिक्रमण गर्दै आएको छ । मनिषा कोइरालाको अभिव्यक्तिमाथि प्रहार हुनु सांस्कृतिक अतिक्रमणकै नयाँ शृङ्खलाको रूपमा हाम्रो सङ्गठनले लिएको छ । भारतीय साम्राज्यवादी सांस्कृतिक प्रदूषणका विरुद्ध हामी निकै लामो समयदेखि सङ्घर्ष गर्दै आइरहेका छौँ ।

    भारतले नेपाल र नेपाली जनताको भावनामाथि चोट पु¥याउने सम्पूर्ण हर्कत बन्द नगरे हामी नेपालमा हिन्दी गीतहरू बजाउन रोक लगाउन र सम्पूर्ण भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउन बाध्य हुनेछौँ । नेपाली राष्ट्रियता र नेपाली देशभक्तिपूर्ण भावनाको सम्मान गर्नु भारतको पनि दायित्व हो । नेपालीहरूले आफ्नो भूमिको रक्षार्थ उठाएको राष्ट्रिय स्वाधीनताको झन्डामुनि गोलबन्ध हुन हामी यसै वक्तव्यमार्फत सबैलाई विशेष आह्वान् पनि गर्दछौँ ।”

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया