• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट आयो

    1.5K
    SHARES

    रोल्पा । जिल्ला अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट आएको छ। सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका युवकको मृत्यु भएको हो। रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

    दुई वर्षदेखि मिर्गौलाको रोगबाट पीडित युवक काठमाडौँबाट उपचार गरी फर्केको बताइएको छ। टिचिङ अस्पतालबाट फर्किएका युवकलाई आइतबार राति साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो। अस्पतालको आइसोलेशन वार्डमा रहेका बेला मृत्यु भएकोे रोल्पा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट धनमाया घर्ती मगरले जानकारी दिए।

    हालसम्म जिल्लाबाट २२ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा १९ को नेगेटिभ रिपोर्ट आएको र तीन जनाको आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोराना फोकल पर्सन अरुणभिटु उपाध्यायले जानकारी दिए।

    नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप २५ जनामा कोरोना पुष्टि भएको जनाएको हो । उनीहरु ३ देखि ४८ उमेरका छन्। जसमा १८ पुरुष र ७ महिला छन् ।

    मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा धनकुटाका ५ जना (२८, २९, ३५ र ३७ ) र एक जना २४ वर्षीय महिला रहेको बताएका छन् ।

    त्यसैगरी बाँकेमा ६ पुरुष ( नरैनापुरका १७, २०, २८ र ३० वर्ष)का र खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । त्यसका साथै कपिलवस्तुमा १३ जनामा र नवलपरासीमा थप १ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट ७५ हजार ७२ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३५ हजार ४ सय ९४ परीक्षण भएको प्रवक्ता देवकोटाले जनाएको छ ।

    यस्तै साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २४ हजार ५३५ जनाको मृत्यु भएको छ ।  २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४९ लाख ८२ हजार ८७५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १९ लाख ५६ हजार ३६१ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ५७० जनाले ज्यान गुमाएका छन् भने ९४ हजार ७५१ जनामा संक्रमण पुष्टि भएको छ ।

    २७ लाख १ हजार ९७९ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ४४३ जनाको अवस्था गम्भीर छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६४ हजार ५७४ जनाको मृत्यु भएको छ । १८ लाख १५ हजार ४३८ जना संक्रमित भएकोमा ७ लाख ९३ हजार ७६४ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५ हजार ९४२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख ३६ हजार ९६ पुगेको छ ।

    यस्तै एसियाली मुलुकहरुमा २५ हजार ४८१ जनाको मृत्यु भएको छ । ८ लाख ४१ हजार ६० जना संक्रमित भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा २४ हजार ४७८ जनाको मृत्यु भएको छ । ४ लाख ८७ हजार ६५७ जना संक्रमित भएका छन् । अफ्रिकी मुलुकहरुमा २ हजार ९२४ जनाको ज्यान गएको छ भने ९३ हजार २२८ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२१ जनाको मृत्यु भएको छ । ८ हजार ६७५ जना संक्रमित भएका छन् ।

    कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९३ हजार ५३३ जनाको मृत्यु भएको छ । १५ लाख ७० हजार ५८३ जना संक्रमित भएका छन् । यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ९९ हजार ९४१ जना संक्रमित भएका छन् भने २ हजार ८३७ जनाको मृत्यु भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ