• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    बाँकेमा काेराेनाबाट मृत्यु भएका २५ वर्षीय युवाको दर्दनाक कथा, मुम्बईदेखि क्वारेन्टाइनसम्म के के भयाे ?

    ०६० सालमा राप्ती नदीमा आएको बाढीले खेतीयोग्य जमिन बगायो । ०७१ मा फेरि राप्तीकै बाढीले बचेखुचेको जमिन र घरसमेत सोहोर्‍यो । परिवार नजिकैको सामुदायिक जंगलमा विस्थापित भएपछि उनका कठोर संघर्षका दिन सुरु भए । यो कथा आइतबार क्वारेन्टाइनमै कोरोनाले ज्यान गुमाएका बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवक (नाम गोप्य)को हो । विश्वराज पछडङ्ग्याले नयाँत्पत्रिका देनिकमा समाचार लेखेका छन् ।

    घर गर्जो टार्न श्रममा घोटिने बलिया पाखुरी उनकै थिए । त्यसैले परिवारका सदस्यको पेट पाल्ने जिम्मा लिएर उनी २० वर्षको उमेरमै मुम्बई हानिएका थिए । बुबा, आमा, श्रीमती, चार वर्षका छोरा र दुई वर्षकी छोरी उनकै कमाइबाट पालिएका थिए । मुम्बई जाने र घर फर्किने क्रम चलिरहेकै थियो, घर धानिरहेकै थिए ।

    पछिल्लोपटक उनी ६ महिनाअघि मुम्बई गएका थिए । बान्द्रा इस्ट मिकरानी गल्लीस्थित युपी होटेलमा काम थालेका थिए । तर, कोरोना फैलिएसँगै लकडाउन भयो । साहुले होटेल बन्द गरेपछि उनी कामविहीन बने । पछि, काम गरेर खर्च कटाउने सर्तमा केही समय त साहुले खाने र बस्ने व्यवस्था होटेलमै मिलाइदिएका थिए । तर, लकडाउन लम्बिँदै गएपछि साहुले घर फर्किन दबाब दिन थाले । बिभिन्न बहाना बनाएर साहुले दुःख दिन थालेपछि युवकसँग घर फर्किनुको विकल्प थिएन । आफूजस्तै दुःख पाएका साथीहरूसँग सल्लाह गरेर घर आउने निर्णय गरे । ७० जनाको समूह २६ वैशाखमा मुम्बईबाट बहराइच आउने ट्रकमा हिँड्यो । यो समूहमा २० जना त नरैनापुरकै थिए ।

    ‘खान बस्न त परै जावस्, चापाकलसमेत छुन दिएनन् । यहाँ बसेर कोरोना सारौला, आफ्नै देश जाऊ भनेर हप्काएपछि हामी साथीहरू मिलेर घर आउने निर्णय गर्‍यौँ,’ मुम्बईबाट उनीसँगै फर्किएका नरैनापुर घर भएका उनका एक साथीले भने, ‘हामी मुम्बईबाट केही टाढा बस्थ्यौँ । साथीहरूले बहराइच जाने ट्रक तयार गरेको भनेपछि दुई घन्टा पैदल हिँडेर ट्रक चढ्न आइपुग्यौँ । २६ वैशाखको बेलुकी ७ बजे हामी मुम्बईबाट ट्रकमा चढ्यौँ । हाम्रो समूहमा ७० जना थियौँ, अधिकांश नेपाली नै थियौँ । २० जना त नरैनापुरकै थियौँ ।’ उनीहरू सबै अहिले क्वारेन्टाइनमै छन् ।

    ती युवकका साथीका अनुसार बेलुकी ७ बजे छुटेको ट्रक रातको १२ बजे चालकले कुनै होटेलमा पुर्‍याएर रोके । कसैले होटेलको खाना–खाजा आए, कसैले साथमा ल्याएको रोटी । चालक एकछिन ट्रकमै सुते । राति दुई बजेतिर ट्रक अगाडि बढ्यो । झमझम पानी परिरहेको थियो । ‘एउटै ट्रकमा ७० जना भएकाले हामी त सुत्न मिल्ने कुरै भएन । केही साथीहरूले भने निद्रा खप्न नसकेर एक–अर्काको कुममा अडेस लगाए,’ उनले भने ।

    उनका अनुसार २७ वैशाखको बिहान बाटोमा प्रहरीले ट्रक रोकेर चालकलाई केरकार गरेको थियो । दुई घन्टा लामो चेकजाँच पछि ट्रक छाडिदियो । तर, केही अगाडि पुगेपछि चालकले फेरि ट्रक रोके । चालक र सहचालकले आफ्ना लागि भात पकाउन थाले । दिउँसो १२ बजेतिर भात खाइसकेपछि चालकले गाडी अगाडि बढाए । तर, फेरि केही बेरमै प्रहरीले ट्रक रोकेर चालकलाई केरकार गर्‍यो । यतिखेर भने ट्रकमा रहेका सबैलाई एक–एक गर्दै सोधेर हैरान पार्‍यो ।

    ‘निद्रा र भोकले हाम्रो शरीर एकदमै गलिसकेको थियो । शरीर थेग्न नसकेर म पनि निदाएछु । प्रहरीले केरकार गरेर झस्कायो । कतिपय साथीलाई त लठ्ठीले ताकेर हप्कायो,’ युवकसँगै फर्केका उनका अर्का साथीले भने । प्रहरीले छाडेपछि ट्रक अगाडि बढ्यो । राति ८ बजेतिर खाना खान ट्रक फेरि रोकियो । ‘चालकले आफूलाई भोक लागेपछि मात्रै खाने ठाउँमा रोक्थ्यो, अनि हामीलाई पनि खान भन्थ्यो,’ उनले भने ।

    २८ वैशाखमा पनि अघिल्ला दिनका जस्तै यात्रा भयो । निरन्तर पानी परिरहेकाले ठाउँ–ठाउँमा पहिरो पनि गएको थियो । त्यसैले वेलावेला रोकिनुपथ्र्यो । २९ वैशाखको बिहान लखनउ ल्याएको ट्रकले साँझ बहराइच छडिदियो । ‘बहराइचमा हामीलाई ओरालेर ट्रक आफ्नो बाटो लाग्यो । हामी राति नै मिनीट्रक चढेर २० किलोमिटर उत्तरतर्फ आयौँ,’ युवकका साथीले भने, ‘ट्रकले मिहिपूर्वामा ओरालिदियो । त्यसपछि हामी कहिले हिँड्दै, कहिले ट्र्याक्टर त कहिले टेम्पो चढ्दै ३० वैशाखको बिहान १० बजेतिर नेपाल–भारत सीमा भगवानपुर नाका आइपुग्यौँ ।’ उनीहरू भगवानपुर आइपुग्दा अन्य ठाउँबाट आएका नेपाली पनि देश भित्रिने समय पर्खिरहेका थिए । मुम्बईबाट आएको टोली पनि त्यही भिडमा मिसियो । तर, देश छिर्न सशस्त्र प्रहरीले रोकिरहेको थियो ।

    ‘त्यहीँबाट हामीले नरैनापुरका अध्यक्ष, राजनीतिक दलका नेता, वडाध्यक्ष र आफन्तलाई गुहार्‍यौँ । क्वारेन्टाइनमा बस्ने सहमतिमा बल्लतल्ल प्रहरीले नेपाल प्रवेश गर्ने अनुमति दियो,’ अहिले क्वारेन्टाइनमै रहेका उनका ती साथीले भने, ‘भगवानपुर नाकाबाट नेपाल प्रवेश गर्दा झन्डै ९० जना सँगै थियौँ ।’ नाकाबाट दुई घन्टा पैदल हिँडेर २० जनाको टोली नरैनापुर–५ स्थित दीपेन्द्र प्राविको क्वारेन्टाइनमा पुग्यो । क्वारेन्टाइनमा पनि आफू र युवक एउटै कोठामा बसेको उनले बताए । एउटै गाउँ र समान उमेर समूहका भएकाले पनि आफूहरू नजिक–नजिकको ओछ्यानमा सुतेको उनले सुनाए । ‘क्वारेन्टाइनमा घरपरिवारका दुःखसुखका गफ गथ्र्यौँ । उनी लकडाउनका कारण रमजान मनाउन नपाइने भयो भन्थ्योे । मैले बाँच्यौँ भने अर्को वर्ष मनाउँला नि भनेर सम्झाउँथेँ,’ उनले भने ।

    नरैनापुरको क्वारेन्टाइनमा स्वाब परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएपछि शनिबार अन्यको पनि स्वाब संकलन गरिएको थियो । युवक र उनका साथीले पनि परीक्षणका लागि स्वाब दिएका थिए । नियमितजस्तै त्यस दिन पनि राति ८ बजेतिर दुवैले सँगै खाना खाए । गर्मी भएकाले ११ बजेसम्म विद्यालयको प्राङ्गणमा बसेर गफगाफ गरे । परिवार र इष्टमित्रलाई फोन गरे । ‘उहाँले राति १० बजेतिर फोन गर्नुभएको थियो,’ युवककी पत्नीले भनिन्, ‘मेरो स्वास्थ्य राम्रो छ, चिन्ता नलिनु भनेर सम्झाउनुभएको थियो । मैले पनि स्वास्थ्यको ख्याल गर्नु, धेरै चिन्ता नलिनु भनेर सम्झाएँ । तर, भोलिपल्टै अप्रिय खबर आयो ।’

    मुम्बईबाट देश आइपुग्न जति पीडा भयो, क्वारेन्टाइनमा बस्दा झन् धेरै कष्ट भएको युवकका साथीले बताए । शनिबार ११ बजेपछि दुवै सँगै सुतेको, तर केही घन्टामै उनलाई समस्या भएको उनका साथीले बताए । ‘म त निद्रामै थिएँ । राति २ बजेतिर गाह्रो भएर उसले बाहिर निस्किएर उल्टी गरेछ । क्वारेन्टाइनमै बस्ने अर्को साथीले बोलाएपछि मात्रै मैले थाहा पाएँ । म बाहिर निस्किँदासम्म उसले उल्टी गरिरहेको थियो,’ क्वारेन्टाइनमा सँगै रहेका ती साथीले भने, ‘लगातार सात–आठपटक उल्टी ग¥यो । शरीर झमझम भएको बताएको थियो । आँखाले देख्न सकेको छैन, टाउको र पेट दुखेको छ भन्थ्यो ।’ आफूले दिएको पानी पनि निल्न नसकेको उनले बताए ।

    उनले राति नै वडाध्यक्ष र स्वास्थ्यकर्मीलाई फोन गरे । तर, कसैले पनि फोन उठाएनन् । ‘वडाध्यक्ष र स्वास्थ्यकर्मीले फोन उठाएनन् । क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका प्रहरी नेताको घरमा गएका थिए । ती प्रहरीले आफ्ना छोरालाई क्वारेन्टाइन हेर्ने जिम्मा दिएका थिए । उनले खबर गरेको झन्डै दुई घन्टापछि बिहान ५ः३० बजेतिर मात्रै स्वास्थ्यकर्मी आए, त्यतिवेलासम्म युवकको बोली बन्द भइसकेको थियो । हाम्रो कुरा सुन्थे, तर फर्काउन सक्दैनथे । इसारा मात्रै गर्थे,’ ती साथीले भने, ‘स्वास्थ्यकर्मीले चेकजाँच नगरीकनै तीन मिटर टाढाबाटै औषधि दिएर फर्किए । मलाई पानी र औषधि खुवाउन आदेश दिए । पानीसमेत पिउन नसक्ने साथीले औषधि खान सक्ने कुरै भएन । अन्ततः आइतबार बिहान करिब ६ बजेतिर उनले देहत्याग गरे ।’

    उनका अनुसार युवकको मृत्युपछि स्वास्थ्यकर्मी आएर नाडी छामछुम गरे । साढे ६ बजे एम्बुलेन्स पनि आइपुग्यो । मरिसकेको व्यक्तिलाई जिउँदै छ भन्दै एम्बुलेन्समा राखेर उपचारका लागि नेपालगन्ज लैजाने बहाना गरेको क्वारेन्टाइनमा रहेका उनका साथीहरूको आरोप छ । ‘समयमै औषधि पाएको भए ऊ बाँच्थ्यो होला । मलाई बचाउ भनेर उसले हामीसँग धेरै हारगुहार गर्‍यो । औषधि र पानी माग्यो,’ मुम्बईबाटै फर्किएका उनका अर्का साथीले भने, ‘उसको मृत्युमा क्वारेन्टाइन व्यवस्थापन समिति, स्वास्थ्यकर्मी र गाउँपालिकाको ठूलो गल्ती छ । एक ट्याब्लेट औषधिसमेत नपाएर उसले मर्नुप¥यो ।’ स्वाब परीक्षणको रिपोर्ट नआउँदै युवकको मृत्यु भएको थियो । पछि, रिपोर्टमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्‍यो ।

    एउटा क्वारेन्टाइनमा पाँचजना चिकित्सकको टोली हुनुपर्ने कानुनी व्यवस्था छ । तर, दीपेन्द्र प्राविको क्वारेन्टाइनमा ती युवकको मृत्यु हुँदा स्वास्थ्यकर्मी नै थिएनन् । स्वास्थ्यकर्मीको अभाव भएकाले एउटा क्वारेन्टाइनमा एकजना मात्रै खटाइएको नरैनापुरका स्वास्थ्य शाखा प्रमुख मोइन खानले बताए । दीपेन्द्र प्राविको क्वारेन्टाइनमा भारतबाट आएका ४३ जना बस्दै आएकोमा एकको मृत्युपछि अन्य ३८ जनालाई जयकिसान माविको खुला चौरमा सारिएको छ । उनीहरूलाई सामान्य टेन्टमा राखिएको छ । क्वारेन्टाइन व्यवस्थित गर्न टेन्टमा सारिएको स्वास्थ्य शाखा प्रमुख खानले बताए ।

    क्वारेन्टाइनभित्रै युवकको मृत्यु हुनुले एकातिर राज्यको जिम्मेवारीमाथि प्रश्न उठेको छ भने अर्कातिर एक विपन्न परिवारको भविष्यमाथि समस्या जन्मिएको छ । बाढीले घरखेत बढारेपछि सामुदायिक जंगलको जग्गामा बस्दै आएको परिवारलाई आफ्नै जमिनमा सानो पक्की घर बनाएर राख्ने लक्ष्य थियो युवकको । छोराले पटक–पटक दिएको यो आश्वासनले बाबुलाई यतिवेला नराम्रोसँग पोलेको छ । ‘कमाएर सानै भए पनि पक्की घरमा तपाईंहरूलाई राख्छु भन्थ्यो, तर उसका योजना दैवले तुहाइदियो,’ गहभरि आँसु लिँदै उनका बाबुले भने, ‘खेतीपाती गर्ने जमिन छैन । एक दिन काम नगरे छाक टार्न मुस्किल पर्छ । घरकै समस्या देखेर सानैदेखि छोरो भारत जान थाल्यो । बल्लतल्ल काम खोजेर घरखर्च पठाउँथ्यो । उसकै भरमा सबै चलेको थियो । हाम्रो त टेको नै भाँचियो ।’

    परिवारलाई दुःखबाट उकास्न उनी रोजगारीका लागि मुम्बई गएका थिए । ‘म त आफँै जान्छु भन्थेँ, उसलाई घरै बस भनेको हो,’ उनका बाबुले भने, ‘तर, मानेन । तपाईं घर हेर्नु, म जान्छु कमाउन भन्यो । अहिले यो दिन आइलाग्यो ।’

    रमजान मनाउन घर फर्किने वाचासहित उनी पछिल्लोपटक ६ महिनाअघि मुम्बई गएका थिए । यस वर्ष रमजानमा व्रत बस्ने र परिवारसँगै रमाइलो गर्ने उनको योजना थियो । तर, सयौँ हन्डर खाँदै घरनजिकै आइपुगेका उनले घर नपुग्दै क्वारेन्टाइनमै देहत्याग गरे । परिवार मात्रै होइन, सिँगो गाउँ शोकमा डुबेको छ । गाउँले एउटा मिहिनेती र इमानदार युवक गुमाएको उनका छिमेकीहरू बताउँछन् ।

    बाँकेका सबैजसो क्वारेन्टाइनको व्यवस्थापन अस्तव्यस्त
    बाँकेको नरैनापुरमा मात्रै १३ वटा क्वारेन्टाइन छन् । जहाँ सात सय ७९ जनालाई राखिएको छ । तर, कुनै पनि क्वारेन्टाइन मापदण्डअनुसारका छैनन् । कतिपय क्वारेन्टाइन झ्याल–ढोका नभएका विद्यालयमा छन् । कतिपयमा बिजुली, शुद्ध खानेपानी, उचित शौचालय पनि छैन । सर्पको खतरा भए पनि यहाँको क्वारेन्टाइनमा बसेकाहरू भुइँमा सुत्न बाध्य छन् । गाउँपालिकाले एउटा झुल, ओढ्न तन्ना र बिछ्याउने फोमबाहेक केही नदिएको क्वारेन्टाइनमा बसेकाहरू बताउँछन् ।

    प्रत्येक क्वारेन्टाइनमा पाँचजनाका दरले चिकित्सक हुनुपर्ने प्रावधान प्रदेश सरकारले तोके पनि स्थानीय तहले यस्तो व्यवस्थापन गरेका छैनन् । राप्तीसोनारी गाउँपालिकामा तयार गरिएका कुनै पनि क्वारेन्टाइनमा चिकित्सक र इन्टरनेट नभएको वडा नं ७ का अध्यक्ष रामलखन थारूले बताए ।

    जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख जनस्वास्थ्य अधिकृत धीरजंग शाहले पनि अधिकांश क्वारेन्टाइनको मापदण्ड नपुगेको बताए । खजुरा, नेपालगन्ज, कोहलपुर र बैजनाथ नगरपालिकाले स्थापना गरेका क्वारेन्टाइनमा इन्टरनेट सुविधा भए पनि चिकित्सकको व्यवस्था नभएको बताए ।

    बाँकेमा ८१ संक्रमित नरैनापुरका मात्रै ५६
    बाँकेमा संक्रमितको संख्या ८१ पुगेको छ । नरैनापुर गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका थप ४७ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । २४ संक्रमित नेपालगन्ज उपमहानगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ‘सोमबार ४७ जना थपिएसँगै नरैनापुरमा संक्रमितको संख्या ५६ पुगेको छ,’ स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले भने । यसमध्ये एकजनाको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ