• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    संसदमा बोल्दाबोल्दै प्रधानमन्त्री ओलीलाई एक्कासी गाह्रो, बोल्न नसकेपछि यसो गरियो

    काठमाडौँ । मंगलवार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा सम्बोधन गरिरहेका बेला एक्कासि गाह्रो भएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिन ओली संसदलाई सम्बोधन गरिरहेका छन् ।

    तर एक्कासी बोल्न गाह्रो भएपछि उनी अलमलमा परे । लगत्तै उनले उठेर बोल्न गाह्रो भएको संकेत गरेपछि संसद सचिवालयका कर्मचारीले उभिएर बोल्दा समस्या देखिएकाले बसेर बोल्ने ब्यबस्था गरेका छन् ।

    ‘सभामुखज्यू मलाई उभिएर बोल्न गाह्रो भयो,’ ओलीले भनेका थिए, ‘स्वास्थ्यका कारण गाह्रो भयो । अपरेसन गरेकाले समस्या भएको छ ।’ प्रधानमन्त्रीलाई गाह्रो भएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद्का महासचिवलाई कुर्सीको व्यवस्था गरिदिन निर्देशन दिएका थिए । रोष्ट्रममा उभिएर बोलिरहेका प्रधानमन्त्रीलाई कुर्सीको व्यवस्था गरिएको छ ।

    ओलीले चिनियाँ राजदूतले आफ्नो सरकार बचाएको भनेर ‘निम्छरा’ बयान नदिन चेतावनी दिएका छन् । अध्यादेश प्रकरणसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक वा दुबै पद त्याग्नुपर्ने माग चर्किएको थियो । तर ओली पार्टी सचिवालयमा आफ्नो पक्षमा बहुमत पु¥याउन सफल भएका छन् र, तत्कालका लागि त्यो खतरा टरेको छ ।

    त्यो अवधिमा नेपालका लागि चिनियाँ राजदूतले नेकपा नेताहरुसँग भेटवार्ता गरेकी थिइन् । त्यही कारण कतिपय भारतीय विश्लेषकहरुले ओली सरकार चीनले जोगाइदिएको टिप्पणी गरेका थिए ।

    त्यसतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी कहिले कहिले सुन्ने गर्छौं, जानैजानै लागेको थियो फलानो देशको राजदूतले भूमिका खेलेर फेरि आयो । अहिलेको सन्दर्भमा नेपालको स्वाभिमानमाथि यस्ता खालका कमजोर, निम्छरा बचन कुनै पनि देशले नबोलिए राम्रो हुन्छ । यो सरकार नेपाली जनताले बनाएको हो, कुनै देशको आशिर्वादबाट बनेको, टिक्ने, ढल्ने, ढालिने कल्पना नगरे हुन्छ ।’

    सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले आफ्नो राजीनामा माग्ने डा। बाबुराम भट्टराईलाई पनि जवाफ दिए । बेलायतमा नेभिल च्याम्बरलिनलाई हटाएर चर्चिल प्रधानमन्त्री हुनु अगाडि बेलायती संसदमा इनफ, इनफको नारा लागेको सम्झिँदै उनले भने, ‘शायद अहिलेको सरकारलाई छोडिदिनुपर्छ भन्ने मित्रलाई लागेको हो । नेपाली जनताले गएको चुनावमा इनफ, इनफ एण्ड मोर देन इनफ भनेर त यो सरकार बनाएको हो । त्यसकारण कुनै भ्रम नरहोस्, म आग्रह गर्न चाहन्छु ।’

    उनले अघि भने, ‘यो जनादेशबाट आएको सरकार हो, जनादेशलाई कदर गर्छ । इच्छा गर्न त पाइन्छ, म त्यसमा केही भन्दिनँ । अत्यन्त समानका साथ सम्झाउन मात्र चाहन्छु, जनताले इनफ, इनफ भन्छन् कहिलेकाहीँ ।’

    इनफ इनफ भनेपछि च्याम्बरलिनले छाडे जस्तो आफूले नछाड्ने संकेत गर्दै उनले भने, ‘एउटै जुत्ता सबै खुट्टामा मिल्दैन । यो च्याम्बरलिन र चर्चिलको दृष्टान्त पनि १९४० को जुत्ता नेपालीको खुट्टामा लगाउन खोज्दा धेरै अगाडि बढिसकेको परिस्थितिमा मिल्दैन ।’

    बरु यस्ता प्रयासले तानाशाह जन्माउन सक्ने प्रधानमन्त्री ओलीले बताए । मार्कोस, इदयमिनलाई देखेको भन्दै उनले भने, ‘हामी भन्न चाहन्छौं, नेपालमा कुनै तानाशाहको उदय हुन सक्दैन । कुनै तानाशाह फर्किएर आउने कल्पना नगर्दा हुन्छ । अब नेपालमा अधिनायकवादको सम्भावना छैन ।’

    बोल्ने क्रममा ओलीले कोरोना भाइरसबाट कसैको पनि मृत्‍यु हुन नदिने सरकारको प्रयास असफल भएको बताएका छन् । संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाबाट बच्न सिंगो राष्ट्र एकजुट हुनुपर्ने बताए।

    ‘संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास विभिन्न कारणले असफल भएको छ,’ प्रधानमन्त्री ओलीले भने। उनले कोरोनाका कारण मुलुक असहज र असामान्य अवस्थामा रहेको बताए। नेपालमा अहिलेसम्म दुई जना कोरोना संक्रमणबाट मृत्यु भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

    ‘त्यसकै कारणले नभए पनि अन्य कारणले भए पनि २ जनाको निधन भएको छ। म दु:ख व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘नेपालमा कोरोना कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास विभिन्न कारणले असफल भएको छ।’  प्रधानमन्त्री ओलीले अरू कुनै कारणले बिरामीको मृत्यु भए पनि कोरोना देखिएपछि कोरोनाबाट नै मृत्यु भएको मान्नुपर्ने बताए।

    ‘कोरोनभन्दा अरू बिरामीको जटिलताले निधन भएको हुनसक्छ तर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोना संक्रमित भए त्यहीबाट मृत्यु भएको मान्नुपर्छ,’ उनले भने। कोरोनाको परीक्षण दायरा वृद्धि गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

    ओलीले मुलुक असहज अवस्थामा रहेकाले सबैलाई एक जुट हुन आह्वान गरेका छन् ।  प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको अहिलेसम्मको संख्या ४०३ हुन सक्ने जानकारी आएको बताए । यद्यपि आधिकारिक तथ्यांक ३७७ रहेको उनले बताए । कोभिड नाइन्टिन सुरु हुँदा विश्व समानाका लागि तयार नभएको स्मरण गराउँदै उनले नेपालले भने तयारी पर्याप्त गरिरहेको संकेत गर्न खोजेका छन् ।

    ‘नेपालमा २३ जनवरीमा विद्यार्थीमा देखिएको थियो, अहिलेसम्म ३७७ कन्फर्म देखिएको छ यो संख्या अझै बढ्न सक्दैन भन्ने सकिन्न । यसको स्रोत नै बाहिरबाट आउने भएकाले त्यसलाई रोक्न जरुरी छ,’ उनले भने । तर जनप्रतिनिधी लगायतका विभिन्न कारणले मानिसहरूको आवागमन रोक्न नसकिएको बताए ।

    यद्यपि नियन्त्रणका लागि सबै एकजुट हुन जरूरी रहेको उनले बताए । हाल ५७ हजार ९०४ क्वारेन्टाइनको संख्या उपलब्ध रहेको तर ३० हजार संख्या मध्य खालको र २३ हजार क्वारेन्टानन उपयुक्त खालको रहेको बताउदै उनले ३ हजार ३०७ जना राख्न सक्ने गरीको आइसोलेसन तयारी रहेको जानकारी दिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ