• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना संक्रमण पुष्टी, देशैभर तरंग

    काठमाडौँ । यतिबेला संसारभर काेराेनाकाे कहर छ । चीनको वुहानबाट विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को सिकार विभिन्न देशका प्रधानमन्त्री उपराष्ट्रपति र रक्षामन्त्री भएको पुष्टी भएको छ । केहि समयअघि बेलायका प्रधानमन्त्रीलाई कोरोना देखिएपछि उनी १० दिनसम्म आइसियुमा बसेका थिए ।

    पछिल्लोसमय दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र उनकी पत्नी एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपराष्ट्रपति माशरकी पत्नी एजेलिना देशको रक्षामन्त्री छिन् । माशरको उमेर ६० वर्षभन्दा बढी छ । उनमा १३ मेमा कोरोना परीक्षण गरिएको थियो । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति माशरलाई पनि परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

    माशरका बडीगार्ड र केही सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार दक्षिण सुडानमा २ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ भने ४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्प नै कोरोना भाइरसबाट जोगिन अप्रमाणित औषधि खाँदै !
    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै वैज्ञानिकबाट प्रमाणित नभएको औषधि सेवन गर्न थालेका छन् । ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफूले मलेरिया तथा लुपसको औषधि हाइड्रोक्सिक्लोरोक्वीन खान थालेको बताएका हुन् ।

    वैज्ञानिकहरुले प्रभावकारिता पुष्टि नगरेको र गम्भीर ‘साइड इफेक्ट’ हुन सक्ने बताइएको हाइड्रोक्सिक्लोरोक्वीन औषधि कोरोना भाइरसको उपचारमा प्रयोग गर्न थालेको ट्रम्पले बताएका हुन् ।

    उनले भने, ‘मैले झण्डै डेढ हप्तादेखि हाइड्रोक्सिक्लोरोक्वीन औषधि खाइरहेको छु । र पनि म यहाँ उपस्थित भएको छ ।’ हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरससँग लड्छ वा त्यसविरुद्ध काम गर्छ भन्ने कुनै प्रमाण अहिलेसम्म छैन ।

    क्लिनिकल ट्रायलमा रहेको औषधि खाएको राष्ट्रपति स्वयंले खुलासा गर्दै भने, ‘तपाईँहरुलाई आश्चर्य लाग्न सक्छ कि धेरै मानिसहरुले यो औषधि खाइरहेका छन् । विशेष गरी अग्रपंक्तिमा रहेर काम गर्नेहरुले कोरोना भाइरसको संक्रमण नहोस् भनेर खाइरहेका छन् । धेरैले यो औषधि खाएका छन् । र मैले पनि यो औषधि खाइरहेको छु ।’

    हाइड्रोक्सिक्लोरोक्वीनले सकारात्मक काम गर्छ भन्ने प्रमाण के छ भन्ने प्रश्नमा उनले भने, ‘यहाँ छ मेरो प्रमाणः यो औषधिले राम्रो गरेको छ भन्नेहरुको धेरै कल आइरहेको छ ।’ औषधि ह्वाइट हाउसका फिजिसियनले सुझाएर नभई आफैले मगाएर खाएको जानकारी दिँदै उनले ह्वाइट हाउसका केही कर्मचारी र आफैनजिकका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिए पनि आफूमा नरहेको दाबी गरे ।

    आफूले दैनिक रुपमा जिंक लिइरहेको र इन्फेक्सनबाट जोगाउने एन्टिबायोटिक एजिथ्रोमाइसिनको एक डोज पनि लिइरहेको ट्रम्पले सञ्चारमाध्यमलाई जानकारी दिए । उनले यो औषधिको प्रभाव राम्रै पर्ने देखिएको र राम्रो काम गरोस् भन्दै कामै गरेन भने पनि हाइड्रोक्सिक्लोरोक्वीन खाँदैमा बिरामी पर्ने वा मर्ने हुँदैन भने ।

    अमेरिकाकै फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले गत महिना हाइड्रोक्सिक्लोरोक्वीन कोरोना भाइरसको संक्रमण रोक्न वा निको बनाउन प्रभावकारी नदेखिएको र सुरक्षित पनि नरहेको बताएको थियो । उता बेलायतमाको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ ।

    सोमबार बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिकरूपमा सो कुरा बताएको हो । यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन । गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थियो र पुष्टिका लागि थप अनुसन्धान थालिएको थियो ।

    बेलायतको स्वास्थ विभागका एक अधिकृत प्रोफेसर जोनाथन भ्यान ट्यामले अनुसन्धानबाट यस्तो कुरा पत्ता लागेको बताए । कसैमा यी दुई मात्र लक्षण देखिए एक हप्ता घरमा अलग्गै बस्न आग्रह गरिएको छ भने यीबाहेक अन्य पूर्ववत् लक्षणसमेत देखिए १४ दिन अलग्गै बस्न भनिएको छ ।

    प्रो ट्यामले कोरोनाको सङ्क्रमणबाट हालै भर्ना भएका नयाँ सङ्क्रमितमा यी लक्षण करीब ९३ प्रतिशतलाई देखिएको बताए । किङ्स कलेज लण्डनका अनुसन्धानकर्मी प्रो टिम स्पेक्टरको समूहले गत हप्ता प्रकाशित गरेको अनुसन्धानले यस्तो निष्कर्ष देखाएको हो ।

    यस्तै साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १९ हजार ८३८ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४८ लाख ८५ हजार ९४५ जना संक्रमित भएका छन् ।

    संक्रमितमध्ये १९ लाख ३ हजार २०० जना संक्रमण मुक्त भएका हुन् । बितेको २४ घण्टामा ३ हजार ३१८ जनाले ज्यान गुमाएका छन् भने ८६ हजार ६७९ जनामा संक्रमण पुष्टि भएको छ । २६ लाख ६२ हजार ९०७ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ७५४ जनाको अवस्था गम्भीर छ ।

    सोमबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६३ हजार ६१९ जनाको मृत्यु भएको छ । १७ लाख ९७ हजार ५२८ जना संक्रमित भएकोमा ७ लाख ८१ हजार ६०२ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४ हजार ७० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख १० हजार ४० पुगेको छ ।

    यस्तै एसियाली मुलुकहरुमा २५ हजार १११ जनाको मृत्यु भएको छ । ८ लाख १८ हजार ९४७ जना संक्रमित भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा २४ हजार ५४ जनाको मृत्यु भएको छ । ४ लाख ५९ हजार ९७२ जना संक्रमित भएका छन् । अफ्रिकी मुलुकहरुमा २ हजार ८४९ जनाको ज्यान गएको छ भने ९० हजार ७४ जना संक्रमित छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२० जनाको मृत्यु भएको छ । ८ हजार ६६३ जना संक्रमित भएका छन् । कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९१ हजार ९१५ जनाको मृत्यु भएको छ । १५ लाख ४९ हजार ३३४ जना संक्रमित भएका छन् ।

    यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ९० हजार ६७८ जना संक्रमित भएका छन् भने २ हजार ७२२ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ