• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    सकियो लकडाउन लम्ब्याउनेबारे निर्णय गर्न बसेको उच्चस्तरीय समितिको बैठक, के भयो निर्णय ?

    5.5K
    SHARES

    काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गठित उच्चस्तरीय समितिको बैठक केहिबेर अघिमात्र सकिएको छ ।  कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे आजै ५ बजे बस्ने मन्त्रिपरिषद बैठकेल निर्णय गर्नेछ ।

    समितिमा रहेका एक मन्त्रीले भने, ‘सम्भवत १५ गतेसम्म लकडाउन थप हुनसक्छ ।’ सरकारले यसअघि जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो । तर पछिल्लो समय कोरोना संक्रमण फैलिदै गएको र कोरोना संक्रमणको कारण मृत्यु नै पुष्टि भएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो ।

    जनस्वास्थ्यका विज्ञहरुले बढी प्रभावित क्षेत्रमा लकडाउन कडा पारेर अन्य क्षेत्रमा खुकुलो बनाउने नीति लिनुपर्ने बताउँदै आएका छन् यस्तै कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

    यस्तै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको बताए। ‘उहाँको रिपोर्ट पोजेटिभ आयो, योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ,’ मन्त्री बरालले भने।

    मन्त्री बरालले कोरोना संक्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिका आधार मृतकको शव व्यवस्थापन गर्न निर्देशन दिएको जानकारी दिए। उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने मन्त्री बरालले बताए।

    योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो। आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए।

    भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो। नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन्। मृत्यु हुनुअघि आइतबार बिहान ४ बजेतिर उनले अचानक दुई पटक बान्ता गरेका थिए।

    यस्तै साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १२ हजार ३११ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४७ लाख १४ हजार ७५७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १८ लाख ९ हजार ७२३ जना संक्रमण मुक्त भएका हुन् । बितेको २४ घण्टामा ४ हजार १५७ जनाले ज्यान गुमाएका छन् भने ९३ हजार ३४८ जनामा संक्रमण पुष्टि भएको छ ।

    २५ लाख ९२ हजार ७२३ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ८४१ जनाको अवस्था गम्भीर छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६१ हजार ६७२ जनाको मृत्यु भएको छ । १७ लाख ६१ हजार ३५५ जना संक्रमित भएकोमा ७ लाख ५५ हजार ५२५ जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १ हजार ८३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ५८ हजार २१८ पुगेको छ । यस्तै एसियाली मुलुकहरुमा २४ हजार २९० जनाको मृत्यु भएको छ । ७ लाख ७८ हजार ४७ जना संक्रमित भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा २२ हजार ४०६ जनाको मृत्यु भएको छ । ४ लाख २४ हजार ५०२ जना संक्रमित भएका छन् । अफ्रिकी मुलुकहरुमा २ हजार ७२६ जनाको ज्यान गएको छ भने ८३ हजार २७६ जना संक्रमित छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । ८ हजार ६३८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ८९ हजारभन्दा बढीको मृत्यु भएको छ । १५ लाख ५ हजार ६८४ जना संक्रमित भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया