• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    बहराइनमा ३३१ नेपालीमा कोरोना संक्रमण, लकडाउन जेठ २० गतेसम्म थपिदै

    3K
    SHARES

    काठमाडौ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । भोलि सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो । कार्यदलले मन्त्रिषरिषद्‍मा लकडाउन २० गतेसम्म लम्ब्याउने प्रस्ताव ल्याएको र त्यसैलाई समितिले पारित गरेको समितिका सदस्य एक मन्त्रीले बताए ।

    देशका विभिन्न स्थानमा कोरोना स‌ंक्रमण देखिइरहेको र संक्रमितको मृत्युसमेत भएकाले लकडाउन अहिले खोल्न नहुने निष्कर्षमा समिति पुगेको उनले बताए । केहीबेरमा बस्ने मन्त्रिपरिषद्ले लकडाउनबारे निर्णय गर्नेछ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउनको कुनै विकल्प नभएको निष्कर्ष निकालिएको बताए । ‘लकडाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको छ । यसैले यसको विकल्प छैन । लकडाउनलाई थप कडा बनाउन सिफारिस गरिएको छ,’ बिडारीले भने । उनका अनुसार परीक्षणको दायरा र स्वास्थ्यकर्मीको मनोबल बढाउने निर्णय पनि समितिले गरेको छ । चैत ११ गतेदेखि सुरु गरिएको लकडाउन आइतबार ५५ दिन पुगेको छ । विभिन्न चार चरणमा लकडाउन थप गरिसकिएको छ ।

    यसैबीच सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने तयारी गरेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ ।

    ‘यूएई लगायतका देशले ‘आफ्नो नागरिक लैजाऊ’ भनेर दबाव समेत दिन थालेका छन् । त्यसैले उद्दारका लागि गृहकार्य थालेका छौं’ एक मन्त्रीले भने, ‘बाँकी प्रधानमन्त्रीमा भर पर्छ ।’ यसअघि पनि विदेशमा रहेका नेपालीहरुको उद्दारबारे छलफल गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।

    प्रधानमन्त्री सहमत भए आवश्यक तयारी गरेर आफ्ना नागरिकको उद्दार गर्ने समितिको तयारी छ । उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन स्थलमार्ग अर्थात भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार ल्याउने प्रस्ताव पेश गरेको छ । ‘हाम्रो प्राथमिकता रोजगारी गुमाएका, आमामाफी पाएका, विद्यार्थीहरु हुनेछन्’ स्रोतले भन्यो ।

    यसरी उद्दार गरेर ल्याइनेहरुलाई केहीदिन काठमाडौं र पोखरा र होटलमा क्वारेन्टाइन गरिनेछ । र, यसको खर्च क्वारेन्टाइनमा बस्ने व्यक्ति आफैंले व्यहोर्नुपर्नेछ । केही दिनको क्वारेन्टाइनपछि परीक्षण गरेर सम्बन्धित स्थानीय तहमा पठाइनेछ । स्थानीय तहमा केही दिन क्वारेन्टाइनमा बसेपछि पुनः परीक्षण गरेर मात्र घर जान दिइनेछ । परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार तत्काल उद्दार गर्नुपर्नेहरुको संख्या केही लाख हुनेछ ।

    उता बहराइनमा थप ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या ३३१ पुगेको छ । २४ वैशाखसम्म बहराइनमा रहेका थप २४५ जना नेपालीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसपछि थप ८६ जना नेपालीमा यस्तो संक्रमण भेटिएको छ ।

    बहराइनमा ३ हजार ९ सय ७३ जना संक्रमित उपचारमा छन् २ हजार ७ सय ६२ जना डिस्चार्ज भएका छन् । तर, त्यसमध्ये कति नेपाली डिस्चार्ज भए भन्ने खुलेको छैन । बिरामीमध्ये धेरै स्थानीय छन् भने आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाली संक्रमितको संख्या ठूलो छ । कोरोना संक्रमणकै कारण बहराइनमा अहिलेसम्म १२ जनाको मृत्यु भएको छ ।

    धेरै संक्रमण देखिएपछि बहराइनमा रहेका नेपालीहरूको परिवार नेपालमा चिन्तामा छन् । तर, बहराइनका लागि नेपाली राजदूतवासले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएको छ । दूतावासका अनुसार कामदारहरूको बासस्थानमा सामाजिक दुरी कायम गर्न नसक्दा संक्रमणको दर बढिरहेको छ । एकैस्थानमा धेरै कामदार बस्ने गरेकाले एक जनामा भएको संक्रमण अन्यमा फैलिएकाले नेपाली कामदारहरू असुरक्षित बन्न पुगेका छन् ।

    अहिले बहराइनमा सेमिलकडाउन छ । धेरै कम्पनीहरू बन्द भएपनि ठूला परियोजनामा काम भइरहेको छ । बिहान र बेलुका कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ । दूतावासले नेपाली कामदारहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन आग्रह गरेको छ ।

    मानमास्थित नेपाली दूतावासका अनुसार कतिपय कामदार भिसा अवधि सकिएर पनि नेपाल फर्किन सकेका छैनन् । उनीहरूलाई खानाको समस्या नहोस् भनेर दूतावास, स्थानीय संघ संस्था र सहयताकर्मीले सहयोग गरिरहेका छन् । बरहाइन सरकारले यस्ता अवैध बन्न पुगेका कामदारलाई ३१ डिसेम्बर २०२०सम्म माफी भिसा दिने निर्णय गरिसकेको छ । बहराइनमा करिब ३५ हजार नेपाली कार्यरत रहेको अनुमान छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ