• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको २४ घण्टा नबित्दै बाँकेको क्वारेन्टाइनमा एक युवकको मृत्यु

    3.2K
    SHARES

    नेपालगन्ज । सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको २४ घण्टा नबित्दै बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज इन्सपेक्टर मानबहादुर विसीका अनुसार नरैनापुर ५ को दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेका २५ वर्षका युवकको आइतबार बिहान ६:४० बजेतिर मृत्यु भएको हो। उनले बिहान ५:३० बजेतिर बान्ता गरेका थिए।

    नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज खरालकाअनुसार युवकलाई ज्वरो पनि आएको थियो। उनी ३० वैशाखमा भारतको मुम्बइबाट घर फर्केका थिए। शनिबार उनीलगायत क्वारेन्टाइनमा बसेका ३९ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। कोरोनाको रिपोर्ट भने आउन बाँकी रहेको बताइएको छ।

    भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले उनको स्वाबको परीक्षण भइरहेको बताए। रिपोर्ट आउन कम्तिमा ६ देखि ७ घण्टा लाग्ने बताइएको छ। यसअघि नरैनापुरमा भेटिएका ८ जना संक्रमितमध्ये ६ जना सोही दीपेन्द्र प्राविकै क्वारेन्टाइनका हुन्। उनीहरुको अहिले दाङको बेलझुण्डिस्थित आइसोलेसन अस्पतालमा उपचार भइरहेको छ।

    नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    उनीहरुको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो । हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ । शनिबार नेपालमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको थियो । मृतक सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिला हुन् ।

    कोरोना संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु, ७०६२ व्यक्ति संक्रमित
    कोरोना भाइरसको महामारीमा परेर विश्वभर ९६ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । शनिवार १६ मे २०२० सम्ममा सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको हो ।

    बेलायतपछि बढी मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेमा १५ जना नेपाली रहेको एनआरएनएले जनाएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

    मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् । यो सातामात्र नेपालसहित थप १८ जनाको मृत्यु भएको हो । यस साता ज्यान गुमाउनेहमा युकेमा १२, युएईमा ३, साउदी अरबमा २ र नेपालमा १ रहेको एनआरएनएले जनाएको छ ।

    संक्रमित हुनेमा नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपाली रहेका छन् । संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ । ११ देशमा गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् भने १९ देशमा रहेका नेपाली कोभिड १९ बाट संक्रमित बनेको एनआरएनएले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ