• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    धुलिखेल अस्पतालको आइसोलेसनमा मृत्यु भएकी महिलाबारे स्वास्थ्य मन्त्रालयले मुख खोल्यो, के हो यर्थाथ ?

    2.2K
    SHARES

    काठमाडौं । धुलिखेल अस्पतालको आइसोलेसनमामा मृत्यु भएकी सुत्केरी महिलामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सिन्धुपाल्चोककी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनको नर्मल डेलिभरी भएको जानकारी दिए ।

    उनी २५ गते डिस्चार्ज भएको र त्यसपछि सिन्धुपाल्चोक घर गएपछि ज्वरो, स्वासप्रश्वासलगायका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएको जानकारी पाएको देवकोटाले बताए । तर निको हुनुको साटो उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि धुलीखेल अस्पतालमा उपचारका लागि जाँदै गर्दा बाटैमा मृत्यु भएको जानकारी आएको डा देवकोटाले बताए ।

    यससम्बन्धमा मन्त्रालयले विस्तृत विवरण लिइरहेको भन्दै कोरोनासम्बन्धी रिपोर्ट प्राप्त भएपछि मन्त्रालयले आधिकारिक जानकारी निक्योलका साथ दिने देवकोटाले बताए ।

    उनको बैशाख २४ गते नर्मल डेरीभरी भएको थियो । ती महिला बैशाख २५ गते टिचिङबाट डिस्चार्ज भएकी थिइन् । ‘ती सुत्केरी महिलाको के कारणले मृत्यु भएको हो भन्नेबारे हामी थप विवरणहरु संकलन र अनुसन्धानहरु गर्दैछौँ, यसबारे थाहा भएपछि हामी फेरि जानकारी गराउनेछौँ,’ डा. देवकोटाले भने।

    ‘ज्वरो र श्वासप्रश्वासको समस्या लगायतका शारीरिक समस्या भएपनि उनलाई स्थानीय अस्पतालमा उपचार गराउनुभएको कुरा जानकारी आएको छ,’ प्रवक्ता डाक्टर देवकोटाले भने, ‘उहाँको स्थिति जटिल बन्दै जाँदा धुलिखेल अस्पतालमा आउँदै गर्दा मृत्युभएको जानकारी पाएका छौं ।’ डा देवकोटाले उनको कोरोनाको थप परीक्षण भइरहेको र थप परीक्षणको विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य मन्त्रालयले जानकारी गराउने बताए ।

    ‘यस सम्बन्धमा हामीले थप विस्तृत विवरणहरु लिइ रहेका छौं, कोभिड १९ सँग सम्बन्धित थप परीक्षणहरु भइरहेका छन्,’ डा देवकोटाले भने, ‘ त्यसले गर्दा यो परीक्षण र सम्पूर्ण विवरण प्राप्त भइसकेपछि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारी रुपमा कोभिड १९ सँगको सम्बन्धको मृत्यु होव वा होइन भन्ने कुरा निर्क्यौल गरेर प्रसारण गर्ने कुरा जानकारी गराउछु ।’

    स्वासप्रस्वासमा समस्या र ज्वरो पनि देखिएपछि धुलिखेल अस्पतालले मृतक महिलाको स्वाब शुक्रबार बिहान निकालेर पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएको स्रोतले जनाएको छ । पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

    यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महोत्तरी ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।  हालसम्म नेपालमा कोरोनाभाइरस २६ जिल्लामा देखिएको छ

    त्यस्तै कोरोना संक्रमण पुष्टि भएका सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका ३० वर्षीय पुरुष फागुन २८ गते मलेसियाबाट घर फर्केका थिए । पाँच दिन अघि उनको स्वाब स‌ंकलन गरिएको गाउँपालिका अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए । ‘स्वास्थ्य मन्त्रालयको बुलिटिनमा सिरहा सखुवा–१९ का ३० वर्षीय पुरुष भनिएको छ । जसले यहाँका जनप्रतिनिधिदेखि प्रहरी सबैलाई अलमलाएको छ ।

    यो गाउँपालिकामा सखुवा १९ छैन् । यो गाउँपालिकामा जम्मा ५ वटा वडा छ । साविका गाउँविकास समितीमा पनि १९ वटा वडा थिएन’, अध्यक्ष यादवले भने,‘ठेगानाले हामीलाई अन्यौलमा पारिदिएको छ । बुझ्दै जाँदा सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका भएको खुलेको छ । सिरहामा कोरोना पुष्टि भएको यो पहिलो केस हो । यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ ।

    यस्तै साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट १७ लाख ५४ हजार मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमित ४६ लाख १९ हजार ४८९ मध्ये १७ लाख ५४ हजार ५३ जना संक्रमण मुक्त भएका हुन् ।

    बितेको २४ घण्टामा ५ हजार २७ जनाले ज्यान गुमाएका छन् भने ९७ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ । २५ लाख ५७ हजार ३२७ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ८ जनाको अवस्था गम्भीर छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६० हजार ४८२ जनाको मृत्यु भएको छ ।

    १७ लाख ४१ हजार १२९ जना संक्रमित भएकोमा ७ लाख ३९ हजार ८११ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा ९९ हजार ५९७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ३० हजार ७४५ पुगेको छ । त्यसमध्ये ४ लाख ४ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा २३ हजार ९६२ जनाको मृत्यु भएको छ । ७ लाख ५७ हजार ९१२ जना संक्रमित भएकोमा ४ लाख ३१ हजार ९२० जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा २१ हजार ३०० जनाको मृत्यु भएको छ । ४ लाख ६९५ जना संक्रमित भएकोमा १ लाख ३९ हजार ६३१ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा २ हजार ६३४ जनाको ज्यान गएको छ भने ७९ हजार ६६६ जना संक्रमित छन् । संक्रमितमध्ये २९ हजार ३९२ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । ८ हजार ६२१ जना संक्रमित भएकोमा ७ हजार ८५८ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारीले अमेरिकामा ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित १४ लाख ८२ हजार ८६३ जनामध्ये ३ लाख २५ हजार ९९७ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ