• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    दुखद खबर, भारतमा कोरोना संक्रमित दुई प्रहरीको मृत्यु

    भारत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतको मुम्बईमा दुई जना प्रहरीको मृत्यु भएको छ । मुम्बई प्रहरीले ट्विट गर्दै दुई प्रहरीको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । प्रहरीका अनुसार सेवरी थानाका एएसआई मुरलीधर बाघमारे र शिवाजी नगर थानाका नाइक भगवान पार्टेको कोरोना कारण मृत्यु भएको हो ।

    महाराष्ट्रमा मुम्बई सबैभन्दा बढी प्रभावित भएको छ भने यहाँ प्रहरीमा पनि कोरोना संक्रमण बढी देखिएको छ । भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट २ हजार ५६४ जनाको मृत्यु भएको छ । विहीबार मात्र थप १३ जनाले ज्यान गुमाएका छन् । विहीबार थप १ हजार २७८ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमितको संख्या ७९ हजार ३३३ पुगेको छ । भारतमा हालसम्म २६ हजार ५७५ जना निको भएका छन् भने ५० हजार ९४ को उपचार भइरहेको छ ।

    यसैबीच लकडाउनको समयमा अवैध रुपमा हालसम्म १०० भन्दा बढी नेपाली नागरिक महाकाली नदी तरेर नेपाल भित्रिएका छन् । बैतडी र दार्चुलामा गरी उक्त सङ्ख्यामा स्वदेश भित्रिएका हुन् । महाकाली नदीमा ट्युवमार्फत बैतडीमा ४० जना भित्रिएका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । सीमा सील रहेका बेला अवैध रुपमा सुरक्षाकर्मीको आँखा छलेर उनीहरु नेपाल आएका हुन् ।

    उनीहरु सबैलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको उनले बताए । दार्चुलामा पनि लकडाउनमा समयमा महाकाली नदी तरेर ७० जना भित्रिएको तथ्याङ्क रहेको छ । उनीहरुमध्ये कोही महाकालीमा पौडिएर, कोही तुहिनमार्फत र कोही ट्युबमार्फत स्वदेश भित्रिएका हुन् ।

    स्वेदश फर्कने सबै नेपाली मजदुर रहेको र उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने र कोरोना परीक्षणपश्चात मात्रै घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका विभिन्न १५ स्थानमा सशस्त्र प्रहरीको पोष्ट स्थापना गरिएका छन् ।

    लकडाउन रहेको समयमा अवैध रुपमा सीमा क्षेत्रबाट हुने वारपार रोक्न निगरानी समूह गठन गर्न थालिएको छ । बैतडीस्थित महाकाली नदीमा ट्युबमार्फत तरेर अवैध रुपमा नेपाली फर्कने क्रम नरोकिएपछि यहाँका सिमावर्ती स्थानीय तहहरुले निगरानी समूह गठन गर्न थालेका हुन् ।

    कोरोनाको जोखिम हुनसक्ने भएकाले सीमासँग जोडिएका सबै स्थानीय तहहरुले निगरानी समूह गठन गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए । जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका भारतसँग सीमा जोडिएका छन् । यी स्थानीय तहहरुमा निगरानी समूह गठन गरिदैंछन् ।

    औपचारिक रुपमा काठमाडौं उपत्यकामा बसोबास गर्ने कति व्यक्तिको पीसीआर विधिबाट कोरोनाभाइरस परीक्षण गरियो भन्ने तथ्यांक कुनै पनि निकायसँग दुरुस्त अवस्थामा नरहेको भेटिएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी डा. झासहित ६ जनालाई एनएचआरसीले किन सोध्यो स्पष्टीकरण ?
    नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झासहित ६ जनासँग लिखित स्पष्टीकरण मागेको छ । परिषद्ले नेपालको पहिलो कोरोना संक्रमित युवकको जिन विश्लेषणसम्बन्धी अनुसन्धान गरेको र विदेशी जर्नल ‘माइक्रोबायोलोजी रिसोर्स अनाउन्समेन्ट्स’मा सरकारको स्वीकृति नलिई प्रकाशित गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

    परिषद्ले डा. झाका साथै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे, पूर्व निर्देशक डा. विवेक लाल, प्रयोगशालाकर्मी रन्जित साह, हेमन्तचन्दा झा र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोलालाई स्पष्टीकरण सोधेको हो ।

    परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार केही दिनअघि तीन दिन अघि उनीहरुलाई पत्र पठाइएको हो । अनुमतिबिनै गरिएको अनुसन्धान रिपोर्टबारे परिषद्मा उजुरी परेपछि स्पष्टLकरण सोधिएको बताउँदै उनले यो नियमित प्रक्रिया भएको बताए ।

    ‘यसलाई अतिरिञ्जत नबनाइदिनुस् । हामीले गलत हिसाबले व्याख्या गरेको होइन,’ उनले भने, ‘जसरी कुनै अनिमियतता भएपछि मेडिकल काउन्सिलले छानबिन गर्छ त्यसरी नै कुनै रिसर्चहरु प्रकाशित भयो भने परिषद्ले छानबिन गर्ने हो । त्यसरी नै यो एक प्रक्रियागत काम हो ।’ उनले स्वास्थ्यसँग सम्बन्धित रिसर्च गर्दा लिनुपर्ने स्वीकृति नलिएको र स्याम्पल पनि अनुमति नै नलिई विदेश पठाएको देखिएकाले लिखित स्पष्टिकरण सोधिएको दाबी गरे ।

    ‘यो इथिक्सविपरीत गरिएको काम हो संलग्न सबै चिकित्सकलाई हामीले लिखित स्पष्टीकरण सोधेका छौं,’ उनले भने, ‘यसरी रिसर्चको नाममा स्वीकृतिबिना कसैको अगं र रगतको परीक्षण विदेश पठाउन मिल्दैन ।’ चिकित्सकले कानुनबाहिर गएर अनुसन्धान गरेको उनले बताए ।

    उनका अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन,२०७४ को दफा ११ ले स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्न चाहने व्यक्ति वा संस्थाले परिषद्‍बाट स्वीकृति लिनुपर्ने र स्वीकृति बिनै अनुसन्धान गर्नेलाई कारबाहीसमेत गर्न सकिने उनले बताए । नेपालमा भेटिएका कोरोना संक्रमितबाट लिइएको कोरोना भाइरसको जेनेटिक सिक्वेन्सिङबारे अनुसन्धान गर्दा परिषद्मा नसोधेको डा. रुणा झाले स्वीकार गरिन् । एउटा केसबारे अध्ययन गर्दा कसैलाई सोध्न आवश्यक नभएको उनले दाबीसमेत गरिन् ।

    ‘अनुमति नै चाहिने भए त्यति ठूलो निकायले हाम्रो आर्टिकल किन छाप्थ्यो,’ उनले भनिन्, ‘मन्त्री, सचिव या कुनै निकायले सोधेको भए हुन्थ्यो, परिषद्लाई त सोध्ने अधिकार पनि छैन ।’ महामारीको बेला त झनै अनुसन्धान गर्दा सोधिराख्न आवश्यक नभएको उनले बताइन् । अनुसन्धानमा संलग्न चिकित्सक टोलीले कुनै व्यक्तीको रगत नमुना नभई भाइरसको प्रजातिबारे अनुसन्धान गरेको उनले दाबी गरिन् । उनले भोलि नै पत्र पढेर परिषद्लाई स्पष्टीकरण पत्र पठाउने बताइन् ।

    त्यस्तै ईडीसीडीका प्रमुख डा. वासुदेव पाण्डेले परिषद्‍बाट काटिएको पत्र खोल्न नभ्याएको प्रतिक्रिया दिए । ‘हो हामीले अनुसन्धान गरेको हो,’ उनले भने, ‘हामीले आफ्नो काम आफैं गर्ने हो । यस्तो कुरा कसैलाई सोध्नुपर्छ जस्तो लाग्दैन ।’

    यस्तै अनुसन्धानमा संलग्न र जर्नलका सहलेखक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले लिखित स्पष्टीकरण सोधिएको स्वीकार गर्दै थप प्रतिक्रिया दिन चाहेनन् । जिन विश्लेषणमार्फत त्यो भाइरसको बारेमा थप जान्न र त्यसको सहयोगबाट भ्याक्सिन समेत पत्ता लगाउन सहयोग पुग्नसक्छ ।

    चीनको वुहानबाट गत माघ ९ मा फर्किएका ३२ वर्षीय कोभिड संक्रमित एक जना नेपालीको भाइरसको जिनको विश्लेषण गर्नका लागि हङकङ पठाइएको थियो । यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा नेपाली चिकित्सकका विभिन्न मेडिकल जर्नल प्रकाशित भएका छन् । तर परिषद्ले त्यसप्रति ध्यान दिएको देखिँदैन ।

    उपलब्ध छैन उपत्यकाकै यकिन पीसीआर परीक्षण तथ्यांक
    लकडाउनको ५२ औं दिन बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म काठमाडौं उपत्यकामा बसोबास गर्ने करिब १६ सय ५० जनाको पीसीआर विधिबाट परीक्षण भएको जानकारी आफूलाई दिइएको बताए ।
    ‘बिहान प्रेजेन्टेसन हुँदा दिइएको तथ्यांक यही हो,’ उनले भने, ‘बाँकी त मलाई पनि जानकारी छैन । इपिडिमियोलोजिले नै दिएको तथ्यांक हो । यति नै होला ।’

    विज्ञहरुले सुरुको दिनदेखि नै धेरैभन्दा धेरै परिक्षण हुनुपर्ने बताउँदै आए पनि सबैभन्दा धेरै मानिस बसोबास गर्ने काठमाडौं उपत्यकामै कतिजनाको परीक्षण भयो भन्ने यकिन तथ्यांक उपलब्ध छैन । मन्त्रालय, विभाग, महाशाखा तथा प्रदेशको सामाजिक विकास मन्त्रालयसँग भएका तथ्यांकहरु नै एकआपसमा मेल खाँदैनन् ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालास्थित उच्च स्रोतका अनुसार त्यहाँ परीक्षणका लागि आउने नमुनाको स्थायी ठेगाना मात्रै इन्ट्री गर्ने गरिएको छ । त्यसले गर्दा यहाँ गरिएका परीक्षणहरु वास्तवमा कुन जिल्लाका व्यक्तिको हो भनेर तथ्यांक निकाल्न कठिन छ ।

    ‘काठमाडौं नै स्थायी ठेगाना लेखेकाहरु कतिजनाको परीक्षण भयो भनेर त सिस्टममा हेर्न मिल्छ । तर, त्योमात्रै काठमाडौंमा बसोबास गर्नेहरुको यकिन संख्या त होइन नि,’ स्रोतले भन्यो, ‘कतिपय काठमाडौंमै बसोबास गर्नेले स्थायी ठेगानामा बाहिर जिल्ला लेखाउने गर्छन् ।’

    वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार भने काठमाडौं उपत्यकामा बुधबारसम्ममा ११ सय ८७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । मन्त्रालयका सूचना अधिकारी एवं चिकित्सा महाशाखाका प्रमुख डा. पुरुषोत्तम सेढाईले यो तथ्यांक भनेको हरेक दिन उपत्यकाका तीन जिल्लाका स्वास्थ्य कार्यालयले स्वाब संकलन गरेर परीक्षण गरेको रिपोर्ट मात्र भएको बताए ।

    ‘हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला वाग्मती प्रदेशमा रहेकोले त्यहाँ गरिने परीक्षणको तथ्यांक पनि मागेका छौं । तर, उहाँहरु केन्द्र मातहत भएकाले हामीलाई उपलब्ध गराउनुभएको छैन,’ उनले भने, ‘अहिले जिल्ला स्वास्थ्य कार्यालयका अलावा प्रयोगशालाकै टोली गएर पनि विभिन्न स्थानबाट नमुना संकलन गर्छ । त्यो हामीलाई थाहै हुन्न ।’

    स्वास्थ्य मन्त्रालयमा रहेको स्रोतका अनुसार पनि काठमाडौं उपत्यकामा कतिजनाको कुल परीक्षण भयो भनेर थाह पाउने एकमात्रै उपाय भनेको प्रयोगशालामा कहाँबाट कति नमुना आए भनेर हरेक दिनको तथ्यांक हेर्नुमात्रै हो । ‘प्रयोगशालाले स्थायी ठेगाना मात्रै राख्छ भने हरेक दिन शुक्रराज अस्पतालबाट कतिवटा नमुना आयो, अन्य अस्पतालहरुबाट कतिवटा आयो भनेर खोज्नुपर्ने भयो,’ स्रोतले भन्यो ।

    जोनहप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्का रुपमा कार्यरत डा. दिनेश न्यौपानेको विचारमा यस्तो महामारीको अवस्थामा यति संवेदनशील तथ्यांक खोज्नका लागि पनि धेरै सकस हुनु लज्जाको विषय हो । ‘यदि काठमाडौं उपत्यकामा बसोबास गर्ने कतिजनाको परीक्षण भयो भन्ने यकिन तथ्यांक नै छैन भने अरु के कुरा गर्नु ?’ उनले भने, ‘यसको मतलब त कागजी काम धेरै भयो तर वास्तविकता अर्कै रहेछ भन्ने देखियो नि !’

    कोरोना संक्रमणबारे जानकार एक चिकित्सकका अनुसार सरकारी संयन्त्रले सानोसानो कुरामा गल्ती गर्दा वा चुकेकै कारणले नेपालमा लकडाउनको ५२ दिन हुँदा स्थिति झन् गम्भीर बनेको हो । ‘कतिजनाको परीक्षण भयो भनेर त तथ्यांक दिन नसक्नेले अरु के गर्न सक्छन् होला खै ?’ उनले भने, ‘यो तथ्यांक भोलीको दिनमा यहाँ कुन गतिमा भाइरस फैलिएको छ भन्ने विश्लेषण गर्न पनि आवश्यक हुन्छ । अब गतिलो तथ्यांक नै छैन भने त के भन्नु ?’

    काठमाडौंमा सबैभन्दा धेरै स्वाब संकलन हुने शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीका अनुसार बुधबार सबैभन्दा धेरै ३ सयवटा नमुना संकलन गरिएको थियो । यस्तै बिहीबार २ सय ९४ जनाको स्वाब संकलन गरिएको थियो । ‘बिहीबार परीक्षण गरिदिनुपर्‍यो भनेर ६ सय १० जना आएका थिए । त्यसमध्ये २ सय ९४ जनाको स्वाब लियौं,’ उनले भने, ‘विगत एक सातादेखि परीक्षण गराउन आउनेको संख्या पनि बढेको छ र संकलन गर्ने दर पनि बढेको छ ।’ उनका अनुसार दिनमा १०, २० हुँदै अहिले स्वाब संकलनको संख्या ३ सय सम्म पुगेको छ । उनले हालसम्म कतिजनाको स्वाब संकलन गरियो भनेर हेर्न हिसाब नै गर्नुपर्ने बताए ।

    ‘अहिले तपाईंले भन्ने बित्तिकै त याद आएन । तर हिसाब गर्‍यो भने यहाँबाट कतिजनाको नमुना लिइयो त थाह हुन्छ,’ उनले भने, ‘तर, यहाँ आउने सबै काठमाडौंवासी नै हुन् भन्ने त यकिन हुन्न । प्रयोगशालाले नै राख्नुपर्ने हो त ।’

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार माघ १४ गतेदेखि सुरु भएको पीसीआर परीक्षण हालसम्म देशभरमा गरेर कुल २२ हजार ६ सय ६४ वटा भएको छ । बिहीबार मात्रै १ हजार ३ सय ६३ वटा परीक्षण भएका थिए । बिहीबार नै काठमाडौंको कालीमाटी तरकारी बजारमा व्यवसाय गर्ने ३ सय ३४ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

    यस्तै संसद सचिवालयका सूचना अधिकारीका अनुसार बजेट अधिवेशनका लागि भनेरै सबै सांसद, कर्मचारी, सुरक्षाकर्मी तथा केही पत्रकार गरेर लगभग ८ सय जना जतिको पीसीआर परीक्षण गरिएको छ । यस्तै देशभर गरेर आरडीटी किटबाट गरिने परीक्षणको संख्या जेठ १ गतेको विवरण अनुसार ६२ हजार ३ सय २७ पुगेको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ