• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    नेपालमा आज एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ?

    2.5K
    SHARES

    काठमाडौं । नेपालमा आज साेमबार एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएपछि एकैदिन संक्रितकाे संख्या २४ पुगेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार आजै विहानमात्रै कपिलवस्तुका १० र सप्तरीका १ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका- ८ र बुद्धभूमि नगरपालिका-७ का का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुष छन् । सोमबार बिहानमात्रै संक्रमण पुष्टि भएका १० जना पनि बुद्धभूमि र लुम्बिनी सांस्कृतिककै हुन् ।

    यस्तै रुपन्देहीको समरीमाई गाउँपालिका-७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका- ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरु छन् भने बर्दिया राजापुर- निवासी ११ वर्षीया महिला छन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए । शनिबार मात्रै सरकारले लकडाउन केहि खुकुलो पारेको थियो ।

    हालसम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा २१, रुपन्देहीमा ७, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

    संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । तर, नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन: भर्ना गरिएको छ । त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुन: अस्पताल भर्ना गरिएको छ ।

    कपिलवस्तुमा सोमबार फेला परेका १० जना कोरोना संक्रमित एक साताअघि भारतको मुम्बई र पन्जाबबाट नेपाल आएको खुलेको छ । लकडाउनकै बीचमा उनीहरु सुरक्षाकर्मीको आँखा छलेर लुकिछिपी दशगजा क्षेत्रबाट कपिलवस्तुको यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिकामा छिरेका हुन् ।

    भारतका विभिन्न शहरबाट आएर कपिलवस्तुका विभिन्न नाकामा अहिले पनि एक हजार बढीको संख्यामा नेपालीहरु बसिरहेका छन् । उनीहरुमध्ये कतिपय रातिको बेला सुरक्षाकर्मीलाई छलेर जिल्ला प्रवेश गर्ने गरेका छन् ।

    कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार नै साँझ ५ बजेदेखि लागू हुने गरी जेठ ५ गतेसम्मका लागि सिल गर्ने निर्णय गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दीर्घनारायण पौडेलले सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जेठ ५ गतेसम्मका लागि जिल्ला सिल गर्ने निर्णय भएको जानकारी दिए ।

    ‘भाइरस (कोरोना भाइरस)को संक्रमण फैलिन नपाओस् भनेर हामीले सम्पूर्ण जिल्ला सिल गर्ने निर्णय गरेका हौं,’ सीडीओ पौडेलले भने, ‘अत्यावश्यक सेवाका सवारी साधनबाहेक सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ । सर्वसाधारणलाई पनि घर बाहिन ननिस्किन भनिएको छ ।’

    सीडीओ पौडेलले औषधि, खाद्यान्न, तरकारी तथा फलफूल, पशुको दाना बोक्ने तथा एम्बुलेन्स र शव वाहानजस्ता सवारी साधनमात्रै चल्न दिइने जानकारी दिए । अन्य प्रकारका सवारी साधनहरु चलाएको पाइए नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइने उनको भनाइ छ ।

    यस्तै, सर्वसाधारणले अत्यावश्यक कामका लागि घर बाहिर निस्किनु परे नजिकको प्रहरी कार्यालय वा प्रहरीको हटलाइन नम्बर (१००)मा फोन गरेर बाहिर निस्किनका लागि अनुमति लिन सक्नेछन् । अनुमति नलिइ बाहिर निस्किएको पाइए सर्वसाधारणलाई पनि नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइने पौडेलले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया