• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका समाचार

    काेराेना संक्रमणबाट पाल्पाका ४५ वर्षीय पुरुषकाे मृत्यु

    3.3K
    SHARES

    नयाँदिल्ली । दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतमा हालसम्म २८ जना नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । संक्रमित नेपालीहरुमध्ये २३ जना रोजगारीका लागि भारतमा बस्दै आएका हुन् भने अन्य पाँच जना केही महिनाअघि मात्र भारत आएका थिए ।

    संक्रमित नेपालीहरुमध्ये एक जनाको मृत्यु भइसकेको छ भने १२ जना उपचारपछि निको भइसकेका छन् । बाँकी १५ जनाको उपचार चलिरहेको छ । दूतावासका अनुसार मृत्यु हुनेमा हरियाणा रोहतकका ४५ वर्षीय पुरुष छन् । पाल्पा घर भएका ती संक्रमित नेपाली कामकै सिलसिलामा रोहतकमा बस्दै आएका थिए । सुरेशराज न्यौपानेले कान्तिपुर दैनिकमा समाचार लेखेका छन्

    पछिल्लो संक्रमण बैतडी, दोगडा केदार गाउँपालिकाका २३ वर्षीय पुरुषमा देखिएको छ । ती संक्रमित नेपाली एसियाकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार मानिने आजादपुर तरकारी बजारको एउटा फलफूल पसलमा काम गर्दै आएका थिए । उक्त बजारमा सुदूरपश्चिमका थुप्रै युवाहरु काम गर्ने गर्छन् । स्वास फेर्न गाह्रो हुने र छाती पोल्नेलगायतका कोरोना भाइरसको लक्षण देखिएपछि बिहीबार उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

    स्वास्थ्य परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको सुदूरपश्चिम नेपाली समाजका कोषाध्यक्ष महादेव भट्टले कान्तिपुरलाई बताए । संक्रमण देखिएपछि उनलाई पहिले रामनोहर लोहिया कोरोना अस्पताल लगिएको थियो । तर, त्यहाँ बेड खाली नभएपछि सुल्तानपुरीको क्वारेन्टाइन सेन्टरमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको भट्टले जानकारी दिए ।

    संक्रमित नेपालीहरुमध्ये पनि सबैभन्दा बढी महाराष्ट्रका छन् । महाराष्ट्रको मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको सुदूरपश्चिम अछाम मूल घर भएको एक नेपाली परिवारका आठ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । संक्रमित सबैजना उपचार पछि निको भइसकेका छन् । मुम्बईकै थानेमा रहेका अन्य तीन जनामा नेपाली कामदारहरु पनि संक्रमण देखिएको छ । कैलाली घर भएका उनीहरुको उपचार चलिरहेको दूतावासले बताएको छ । साथै मुम्बईकै दानावरमा बस्ने अर्का एक ५७ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको पोजिटिभ देखिएको छ । उनको पनि स्थानीय उपचार भइरहेको बताइएको छ ।

    महाराष्ट्रकै अर्को सहर पुनेमा बस्दै आएको अछामको एकै परिवारको तीन जना संक्रमित भएका छन् । २८ वर्षीय घरमूली, उनकी २२ वर्षीय श्रीमती र ५ महिनाका छोरामा भाइरसको देखिएको हो । उनीहरु सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको दूतावासले जनाएको छ ।

    त्यसैगरी हरियाणाको गुडगावँस्थित एउटा औषधी पसलमा काम गर्दै आएकी ३१ वर्षीय महिला नर्समा पनि संक्रमण पुष्टि भएको छ । दिल्लीस्थित दूतावासका अनुसार नवलपरासी घर भएकी ती महिला नर्सको हाल उपचार चलिरहेको र अवस्था सामान्य रहेको छ ।

    साथै दक्षिण भारतको बैंग्लुरुमा बस्दै आएका बझाङ, चैनपुरका चार जना नेपालीहरुमा पनि कोभिड–१९ देखिएको थियो । सबैभन्दा पहिले परिवारका घर मूली र उनकी श्रीमतीमा संक्रमण देखिएको थियो । तर, उनीहरु निको भइसके पछि दश वर्षीय छोरामा पनि संक्रमण देखियो । त्यसबाहेक त्यही परिवारसँग सम्पर्कका रहेका अर्का एक जना नेपाली पुरुषमा पनि कोभिड–१९ देखिएको थियो । यिनीहरु सबै जना उपचारपछि निको भइसकेका छन् ।

    त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका पुरुषसँगै बस्ने अर्का एकजना १५ वर्षीय युवामा पनि संक्रमण देखिएको छ । उनको रोहतककै मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ ।

    यसबाहेक केही महिनाअघि भारत आएका पाँच जना नेपाली जसमा संक्रमण देखिएको थियो । जसमध्ये एक जना उपचारपछि निको भइसकेको छ भने चार जनाको भने अझै उपचार चलिरहेको छ । तिनीहरुमध्ये हरियाणाको अम्बालामा रहेका संक्रमित उपचार पछि की भइसकेका छन् भने उत्तरप्रदेश (यूपी) को बागपतमा रहेका बाँकी चार जना संक्रमितको हाल मेरठमा उपचार चलिरहेको छ । र उनीहरुको अवस्था सामान्य रहेको छ ।

    विश्वभर १३ लाख ८२ हजार संक्रमित निको भए, २३ लाख ५५ हजारको उपचार हुँदै
    विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ४० लाख ११ हजार ५८७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १३ लाख ८२ हजार ३९४ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ५३ हजार १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४८ हजार ६६० जनाको अवस्था गम्भीर छ ।

    विश्वका २१२ देशमा फैलिएको यो संक्रमणबाट ज्यान गुमाउनेको संख्या शनिबार बिहानसम्म २ लाख ७५ हजार ९३४ पुगेको छ । एकैदिन ५ हजार ५०८ जनाले ज्यान गुमाएका छन् भने ९६ हजार १८४ जनामा नयाँ संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमणबाट युरोपियन मुलुकमा १५ लाख ८१ हजार २५६ जना संक्रमित छन् ।

    एकै दिन २७ हजार ५५६ जनामा नयाँ संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै एक हजार कम हो । युरोपका देशहरुमा अहिलेसम्म १ लाख ५० हजार ५१३ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै २ हजार ५२ जनाको मृत्यु भएको छ ।

    अहिलेसम्म ६ लाख २८ हजार ११३ जना उपचारपछि निको भएका छन् भने ८ लाख २ हजार ६३० जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये १५ हजार १७६ जनाको अवस्था गम्भीर छ । एसियाली देशका कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार ५०१ पुगेको छ । एकैदिन २९६ जनाको मृत्यु भएको छ ।

    १६ हजार ३२५ नयाँ संक्रमित थपिएसँगै ६ लाख ३४ हजार ८२९ जनामा संक्रमण देखिएको छ । संक्रमित ३ लाख ४९ हजार १५६ जना निको भएका छन् । २ लाख ६४ हजार १७२ जनाको उपचार भइरहेको छ । जसमध्ये ५ हजार ११५ जनाको अवस्था गम्भीर छ ।

    उत्तर अमेरिकी मुलुकमा कोरोना संक्रमितको संख्या १४ लाख ४१ हजार ८९६ पुगेको छ । एकैदिन ३२ हजार ५७८ जनामा नयाँ संक्रमण फेला परेको छ । अहिलेसम्म कोरोनाकै कारण ८७ हजार ५० जनाले ज्यान गुमाएका छन् । दक्षिण अमेरिकी मुलुकमा पनि आज एकैदिन १६ हजार ६३ जनामा नयाँ संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ लाख ८३ हजार ६५५ पुगेको छ । मृतकको संख्या १४ हजार ५७७ पुगेको छ ।

    संक्रमितमध्ये ९५ हजार २७४ निको भएका छन् भने १ लाख ७३ हजार ८०४ जनाको उपचार भइरहेको छ । अफ्रिकी मुलुकमा ५८ हजार ९६३ मा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म २ हजार १६० जनाले ज्यान गुमाएका छन् । अस्ट्रेलियासहित ओसियान मुलुकमा ११८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार ५०८ जनामा संक्रमण देखिएको छ ।

    चीनको वुहानबाट सुरु भएको यो महामारीको विश्वमा सबैभन्दा धेरै संक्रमण अमेरिकामा फैलिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६२९ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७८ हजार ५५७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ९८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख २० हजार ६०९ पुगेको छ ।

    अमेरिकामा संक्रमितमध्ये २ लाख २२ हजार ९३५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख १९ हजार ११७ जनामध्ये १६ हजार ९३१ जनाको अवस्था गम्भीर छ । अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् ।

    स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले २२९ जनाको मृत्यु भएको छ भने ३ हजार २६२ जना नयाँ संक्रमित थपिएका छन् । स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार २९९ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ६० हजार ११७ पुगेको छ । १ लाख ६८ हजार ४०८ जना उपचारपछि निको भएका छन् ।

    ६५ हजार ४१० जना उपचाररत छन् । त्यसमध्ये २ हजार ७५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार २४१ जनाको मृत्यु भएको छ । २ लाख ११ हजार ३६४ जना संक्रमित भएका छन् ।

    पछिल्लो २४ घण्टामा त्यहाँ ६२६ जनाको मृत्यु भएको छ भने अरु ४ हजार ६४९ जनामा संक्रमण देखिएको छ । १ लाख ७९ हजार ७७९ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ । कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन २४३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३० हजार २०१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३२७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १७ हजार १८५ पुगेको छ । इटालीमा संक्रमितमध्ये ९९ हजार २३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८७ हजार ९६१ जनामध्ये १ हजार १६८ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ