• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कोरोनामुक्त भएर घर गएका युवक पुनः अस्वस्थ, उपचार गर्न वीरगञ्ज ल्याइयो

    6
    SHARES

    काठमाडाैं । एक साताअगाडि कोरोनामुक्त भएर भएर घर फर्किएका रौतहट, इशनाथ नगरपालिकाका १९ वर्षीय युवक पुनः अस्वस्थ भएपछि उपचार गर्न वीरगञ्ज ल्याइएको छ । रिपोर्ट शंकास्पद देखिएपछि उनलाई शनिबार राति साढे ७ बजेतिर घरबाट अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको हो ।

    तीन भारतीय मुस्लिम धर्म प्रचारक र ती युवक गत आइतबार निको भएर नारायणी अस्पतालबाट डिस्चार्ज भएका थिए । कोरोना संक्रमण पोजिटिभ देखिएपछि रौतहटका युवकले गत वैशाख १ देखि नारायणी अस्पतालको आइसोलसन वार्डमा उपचार गराएका थिए ।

    अस्पतालका अनुसार वैशाख १० र १३ मा कोभिड–१९ परीक्षण नेगेटिभ आएपछि वैशाख १४ मा डिस्चार्ज गरिएको थियो । डिस्चार्ज हुने खबर पाएपछि युवकलाई लिन उनका आफन्त एम्बुलेन्स लिएर नारायणी अस्पताल आएका थिए । डिस्चार्जपछि ती युवक एक सातादेखि घरमा आफन्तसँग बस्दै आएका थिए ।

    नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप परीक्षण गर्नुपरेकाले आइसोलेसन वार्डमा ल्याइएको बताए । बुधबार अस्पतालबाट गएको टोलीले ती युवकको स्वास्थ्य जाँच गर्नुको साथै रगत र थ्रोट स्वाबको नमुना संकलन गरेर ल्याएको थियो । त्यसको रिपोर्ट शंकास्पद देखिएको स्रोतले जनाएको छ ।

    रौतहटको इशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताले पनि कोरोनामुक्त भएर आएका युवकलाई पुनः वीरगञ्ज लगिएको पुष्टि गरे । ‘गाडीमा आएको एउटा टोलीले उनलाई पुनः वीरगञ्ज लगेको छ,’ गुप्ताले भने, ‘तर किन लगिएको हो भन्ने थाहा छैन ।’

    युवकले आफूलाई अचानक अस्पतालबाट टोली गएर वीरगञ्ज ल्याएको बताए । ‘पहिला घर पठाए अहिले अचानक घरमा आएर सम्झाएर ल्याए, किन अस्पताल ल्याइएको हो केही बुझिरहेको छैन,’ उनले भने । कोरोना संक्रमितमा देखिने कुनै पनि लक्षण आफूमा नदेखिएको तर पनि डेढ महिनादेखि दुःख पाइरहेको उनको भनाइ छ ।

    ‘कोरोना संक्रमितलाई ज्वरो आउँछ, स्वास प्रश्वासमा समस्या आउँछ भन्छन्,’ उनले भने, ‘तर मलाई डेढ महिनादेखि न खोकी छ, न सर्दी ज्वरो छ ।’ अस्पतालमा ल्याइसकेपछि शनिबार राति पुनः उनको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ