• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अस्पतालका भित्ता र स्वास्थ्यकर्मीको जुत्तामा पनि भेटियो कोरोना, अब के होला ?

    1.3K
    SHARES

    कोरोना भाइरस (कोभिड–१९) को जीवाणु अस्पतालको भित्ता र बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको जुत्तामा समेत भेटिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले चीनको उहानस्थित हुवोसेनसान अस्पतालमा गरिएको अध्ययनको निष्कर्षलाई आधार मानेर नयाँ तथ्य सार्वजनिक गरेको हो ।

    यस तथ्यअनुसार महामारी उच्च अवस्थामा रहेका बेला संक्रमित राखिएको अस्पतालको आईसियुमा लिइएका स्याम्पलमध्ये ९४ प्रतिशत र संक्रमित राखिएका जनरल वार्डमा लिइएका स्याम्पलमध्ये १ सय प्रतिशत पोजेटिभ देखिएको थियो । अनुसन्धानकर्ताहरुका अनुसार आईसियुमा खटिएका स्वास्थ्यकर्मीका जुत्ताको सोल परीक्षण गर्दा झन्डै ५० प्रतिशत स्याम्पल पोजेटिभ देखिएको थियो ।

    त्यसैले, स्वास्थ्यकर्मीको जुत्ताको सोलबाट कोरोना फैलनसक्ने यस अध्ययनले जनाएको छ । अध्ययनअनुसार अस्पतालका फार्मेसीको भुइँमा पनि कोभीड–१९ को जीवाणु भेटिएको थियो, बिरामी नआउने यस्तो ठाउँमा रोग भेटिनुको मुख्य कारण स्वास्थ्यकर्मीको आवत–जावत नै हुनसक्ने पनि अध्ययनले देखाएको छ ।

    यसअघि गत महिना द लान्सेटले इटलीमा गरेको अध्ययनअनुसार बिरामीको उपचार गर्ने औसत ५ स्वास्थ्यकर्मीमध्ये १ जनामा कोभीड–१९ संक्रमण देखिनसक्ने जनाएको थियो । –युनाइटेड प्रेस इन्टरनेशनल

    त्यस्तै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको आर्थिक सहयता रोकेको घोषणा गरेका छन् । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले उसलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो ।

    नियमित प्रेस बिफ्रिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘डब्लुएचओको भूमिकाको समीक्षा गरियो, तर प्रभावकारी काम गर्न असफल रह्यो । त्यसैले मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको छु ।’

    ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप लगाए । डब्लुएचओको गल्तीकै कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेको ट्रम्पको ठहर छ । उनले यसको जिम्मेवारी डब्लुएचओले लिनुपर्ने बताए ।

    डब्लुएचओ संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था हो । अमेरिका यसको एकमात्र ठूलो दाता राष्ट्र हो । गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४ सय मिलियन डलर उपलब्ध गराएको थियो । यो डब्लुएचओको कूल बजेटको करिब १५ प्रतिशत हो ।

    अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा ५ लाख ९२ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ भने २५ हजार २ सय ३९ जनाको मृत्यु भइसकेको छ ।यसअघि पनि अमेरिकाले डब्लुएचओको भूमिका सन्तोषजनक नभएको भनेर आलोचना गरेको थियो । त्यसलगत्तै डब्लुएचओले कोरोना भाइरसको महामारीलाई कसैले पनि राजनीतिकरण गर्न नहुने प्रतिक्रिया दिएको थियो ।

    ट्रम्पले चीनको वुहान शहरबाट कोरोना भाइरसको संक्रमणको सुरुवात हुँदा डब्लुएचओले प्रकोपको पर्याप्त आँकलन गर्न नसकेको आरोप लगाए । उनले भने, ‘डब्लुएचओले चिकित्सा विशेषज्ञहरुलाई चीनमा पठाएर धरातलीय यथार्थ मूल्यांकन गरी वास्तविक अवस्था सार्वजनिक गरेको भए धेरै जनाको ज्यान जोगिन सक्थ्यो र आर्थिक क्षतिबाट पनि विश्वलाई जोगाउन सकिन्थ्यो । यसको सट्टा डब्लुएचओले चीन सरकारले गरेको कामको बचाउ गर्यो ।’

    यसअघि ट्रम्पले नै कोरोना भाइरस नियन्त्रणका लागि राम्रो काम गरेको भन्दै चीनको प्रशंसा गरेका थिए । उनले राष्ट्रपति सी चिनफिङलाई फोन गरेर धन्यवादसमेत दिएका थिए । यो टेलिफोन वार्तालाई धेरैले अमेरिका र चीनबीच सम्बन्ध सुधारको संकेतको रुपमा ब्याख्या गरेका थिए।

    यस्तै विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट बुधबार मध्यान्हसम्म मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने यस्तै व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।

    अमेरिकामा ६ लाख १४ हजार मानिस कोरोना संक्रमित भएका छन् भने २६ हजारभन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार ४०० जनाको मृत्यु भएको थियो । दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २१ हजारको ज्यान गएको छ भने एक लाख ६२ हजार संक्रमित छन् । स्पेनमा भने १८ हजार २२५ जनाको मृत्यु भएको छ भने एक लाख ७४ हजार संक्रमित भएका छन् ।

    कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १५ हजार ७२९ जना र बेलायतमा १२ हजार १०७ जनाको मृत्यु भएको छ । बेल्जियममा ४ हजार १५७ जना, जर्मनीमा ३ हजार ४९५ जना, नेदरल्यान्ड्समा २ हजार ९४५ जना, स्वीट्जरल्यान्डमा एक हजार १७४ जना, स्वीडेनमा एक हजार ३३ जना र आयरल्यान्डमा ४०६ जनाको मृत्यु भएको छ ।

    संयुक्तराज्य अमेरिकामा संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि देशका धेरै राज्यमा अहिले संकटकालको घोषणा गरिएको छ । लकडाउन नलगाउने घोषणा गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई अप्रिल ३० सम्म तोकेका छन् ।

    परिस्थिति जटिल बनेको भए पनि मानिसको आवागमन र व्यवसाय खोल्नेतर्फ राष्ट्रपति ट्रम्पले प्रस्तावहरु अघि बढाउनु भएको छ, तर राज्यका गभर्नरसँग यही विषयमा मतभेद उत्पन्न भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया