• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना संक्रमित परिवारकी बुहारीको रिपोर्ट नेगेटिभ

    1.3K
    SHARES

    काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना भाइरस (कोभिड–१९) संक्रमित परिवारका तेस्रो सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । सोमबार गरिएको र्‍यापिड टेष्टमा तीनै जनामा एन्टीबडी पोजेटिभ पाएपछि पाटन अस्पताल भर्ना गरिएको थियो ।

    उनीहरुमध्ये ८१ बर्षीया आमा र ५८ वर्षका छोरामा कोरोना संक्रमण पाइएको छ । ५२ वर्षकी बुहारीको पहिलो रिपोर्ट पोजेटिभ नआएपछि पुनः परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

    सोही अपार्टमेन्टमा बस्ने एकै परीवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले आजदेखि अपार्टमेन्टमा रहेका व्यक्तिहरुको आरडीटीको विधिबाट कोरोना परीक्षण शुरु गरेको हो ।

    नगरपालिकाका प्रमुख कृष्णहरी थापाका अनुसार स्वास्थ्य मन्त्रालयको प्राविधिकको टोलीले विहान ९ बजेदेखि अपार्टमेन्टको ए ब्लकका व्यक्तिहरु र कामदारहरुको कोरोना परीक्षण गरेका थिए ।

    नगरपालिकाका प्रमूख थापाले भने, ‘स्वास्थ्य मन्त्रालयको टोलीले अपार्टमेन्टको ए ब्लकडको व्यक्तिहरु र कर्मचारीको गरी २ सय ९८ जनाको ¥यापिट टेष्ट गरीएको थियो, आज टेष्ट भएको सबैको जतिजा नेगेटिभ आएको छ ।’ अपार्टमेन्टमा रहेका सबै व्यक्तिको आरडीटीबाट परीक्षण गरिने नगरपालिकाका प्रमुख थापाले जानकारी दिए ।

    यसैबीच उपत्यकामा कोभिड–१९ सङ्क्रमण देखिनथालेपछि नमूना परीक्षण गराउने बढेका छन् । उपत्यकामा मङ्गलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमूना परीक्षण गराउन थालेका छन् । उपत्यकामा अहिलेसम्म पाँच जनामा सङ्क्रमण देखिएको छ ।

    टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले उपत्यकामा मङ्गलबार एकै पटक दुई जनामा सङ्क्रमण देखिएपछि अस्पतालमा आएर परीक्षण गराउनेको सङ्ख्या बढेको बताए । उनका अनुसार पहिले दैनिक १०–१५ जनाको परीक्षण गर्ने टेकु अस्पतालमा अहिले ३० जना आउने गरेका छन् ।

    घरबेटी र समुदायले नै विदेशबाट आएका मानिसलाई सङ्क्रमण भए/नभएको रिपोर्ट ल्याउन भनेपछि ती मानिसहरु अहिले टेकुस्थित अस्पतालमा आफैँ गएर परीक्षण गराइरहेका छन् ।

    “उपत्यकामा सङ्क्रमित बढेसँगै त्रास भएको छ । अहिले दैनिक ३० जना आफैँ अस्पतालमा आएर नमूना परीक्षण गराइरहेका छन्”, उनले भने , “विगत एक–डेढ महिनादेखि विदेशबाट आएका धेरै छन् । घरबेटी र समुदायले नै आफूलाई बस्न दिएन भन्दै धेरै मानिस आउन थालेका छन् ।”

    अस्पतालले २४ घण्टामा नमूना परीक्षणको रिपोर्ट दिने गरेको छ । टेकु अस्पतालले सङ्क्रमण देखिन थालेपछि आइसोलेशनको र सघन उपचार कक्षको वृद्धि गरेको छ । अहिले २५ आइसोलेशन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य भइरहेको अस्पतालका निर्देशक डा राजभण्डारीले बताए ।

    पहिलो पटक माघ ९ गते चीनको वुहानबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो भने त्यसयता चैत १० गते फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा दोस्रो सङ्क्रमण देखिएको थियो ।

    त्यस्तै चैत १२ गते पुनः एक जनामा कोभिड पोजेटिभ देखिएको थियो भने मंगलबार काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका ८१ वर्षीय महिला र अर्का ५८ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । मङ्गलबार सङ्क्रमण देखिएको ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य दुई जनाको टेकु अस्पतलाको आइसोलेशनमा उपचार भइरहेको छ ।

    अहिले नेपालमा १६ जनामा सङ्क्रमण देखिएको छ । कैलालीमा चार, कञ्चनपुरमा एक, वागलुङ्मा दुई, काठमाडौँमा पाँच, पर्सामा तीन र रौतहटमा एक जना सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उपत्यकामा नमूना परीक्षणको दायरा बढाइरहेको बताए ।

    उनले मङ्गलबार सङ्क्रमित देखिएका स्थानमा एक हजार ७०० को परीक्षण गरिने जानकारी दिए । मन्त्रालयका अनुसार मङ्गबारसम्म रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरी दुवै विधिबाट अहिलेसम्म १२ हजार ९०६ जनाको परीक्षण गरिएको छ ।

    परीक्षणको दायरा बढाउनका लागि अहिले उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु अस्पताल र वीर अस्पतालमा पनि पीसीआरबाट परीक्षण गरिएको छ । इपिडिमोलोजी तथा सरुवा नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा पनि स्थानीय तहसँगको समन्वयमा विदेशबाट आएका व्यक्तिको परीक्षण गरिरहेको बताए ।

    “हरेक स्थानीय तहले आफ्नो वडामा विदेशबाट आएका मानिसको नाम सङ्कलन गरिरहनु भएको छ”, उनले भने , “ती सङ्कलितहरुको हामीले नमूना परीक्षण गरिरहेका छौँ ।” उनले मङ्गलबार देखिएका दुई जनाको आफन्त र नातेदारमा पीसीआर र अपार्टमेन्टमा बस्ने अन्यलाई आरडीटी विधिबाट परीक्षण शुरु गरिसकेको जानकारी दिए । मङ्गलबारमात्र उपत्यकामा पीसीआरबाट ३८७ जनाको परीक्षण गरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ