• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा भर्ना भएका २ जना अस्पतालबाटै फरार

    1K
    SHARES

    काठमाडौँ । कोरोना भाइरस कोभिड -१९ संक्रमणको आशंकामा अस्पताल भर्ना भएका २ जना भागेका छन् । उनीहरु डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भागेका हुन् ।

    अस्पताल स्रोतका अनुसार कोरोना संक्रमणको आशंका भर्ना भएका ४० वर्षीया महिला र १९ वर्षीय किशोर गरी २ जना शनिबार अपराह्न भागेका हुन्। अस्पतालका अनुसार अस्पतालबाट भाग्नेमा उनीहरु चैत २६ गते कोरोना संक्रमणको आशंकामा अस्पतालको आइसोलसन वार्डमा भर्ना भएका थिए ।

    दुवै जनालाई ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो। अस्पतालले २६ गते नै दुवै जनाको स्वाव (नमूना) संकलन गरी परीक्षणका लागि पठाएको थियो । तर रिपोर्ट भने आइसकेको छैन । भागेश्वर गाउँपालिका–३ नानीगडा घर भएका उनीहरु आमा–छोरा भएका जनाइएको छ । छोरा केही दिन अगाडि मात्रै भारतबाट आएका थिए ।

    अस्पतालबाट भागेका दुवै जनाको खोजीमा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका नायव उपरीक्षक दधिराम न्यौपानेले दुवै जनाको खोजीका लागि टोली परिचालन गरिएको जानकारी दिए । यस्तै, गाउँपालिकाले पनि उनीहरुको खोजी गरिरहेको छ । गाउँपालिका अध्यक्ष कौशिला भट्टले उनीहरु घरमा आएको हुन सक्ने भनेर बिहानैदेखि घर तथा वरपरको गाउँमा खोजी गरिएको जानकारी दिइन् ।

    यस्तै देशलाई कोरोना मुक्त गरेको घोषणा गरेर लक डाउन समेत खुल्ला गरेको चिनमा पुनः कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । शनिबारसम्म आउदा कोरोना भाइरस संक्रमितको संख्या बढेको चीनको नेसनल हेल्थ कमिसनले आइतबार जानकारी दिएको छ ।

    चिनका सरकारी अधिकारीहरुले दिएको अनुसार शनिबार चीनमा ९९ नयाँ संक्रमित फेला परेका हुन् । शुक्रबार चीनमा केवल ४६ नयाँ संक्रमित फेला परेका थिए भने तीन जनाको मृत्यु भएको थियो । तर, शनिबार यो भाइरसबाट मृत्यु हुनेको संख्या भने शून्यमा झरेको छ ।

    यससँगै चीनमा समग्र संक्रमितको संख्या पनि ८२ हजार ५२ पुगेको छ । मृत्यु हुनेको संख्या भने तीन हजार तीन सय ३९ मा यथावत छ । अहिलेसम्म ७७ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

    शनिबार देखिएका ९९ नयाँ संक्रमितमध्ये ९७ संक्रमित बाहिरबाट आएका हुन् । पछिल्लो समय मुलुकमा कोरोना भाइरस नियन्त्रणमा आएसँगै चीनले बाहिरबाट आउने मानिसहरुमा कडाइ गर्न थालेको छ । भाइरस नियन्त्रणमा आएसँगै चीनमा बिस्तारै मानिसहरु काममा फर्किन थालेका छन् ।

    शनिबार थप ६३ जना लक्षण नदेखिएको संक्रमित पनि भेटिएका छन् । जसमध्ये १२ जना बाहिरबाट आएका संक्रमित हुन्। अहिले चीनमा मेडिकल निगरानीको क्रममा एक हजार ८६ जना लक्षण नदेखिएका बिरामी छन्।

    यस्तै कोरोनाले नेपालको छिमेकी देश भारतमा पनि निकै त्रास फैलाएको छ । आइतबारसम्म आउँदा मृत्यु हुनेको संख्या २८८ पुगेको छ भने आठ हजारभन्दा बढी संक्रमित भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा भारतमा ३४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

    भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा समग्र संक्रमितको संख्या आठ हजार तीन सय ५६ पुगेको छ । भारतको महाराष्ट्रमा सबैभन्दा बढी एक सय २७ जनाको मृत्यु भएको छ। महाराष्ट्रमा संक्रमितको संख्या पनि एक हजार सात सय ६१ पुगेको छ । त्यस्तै, मध्यप्रदेशमा ३६, गुजरातमा २२ र दिल्लीमा १९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

    दिल्लीमा संक्रमितको संख्या एक हजार नाघेको छ । दिल्लीमा एक हजार ६९ संक्रमित पुगेका छन् भने तामिलनाडुमा नौ सय ६९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।

    अहिलेसम्म भारतमा सात सय १६ जना संक्रमित निको भइसकेका छन् । कोरोना भाइरसको महामारी बढेसँगै भारतले २१ दिनको लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया