• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    विश्वव्यापी कोरोना महामारी र नेपालमा रोकथामका प्रयास

    6.2K
    SHARES

    आज सारा संसार कोरोनामय भएको छ । सन २०१९ को डिसेम्वरको दोश्रो साता चीनको हुवेई प्रान्तको वुहानमा पहिलो पटक पत्ता लागेको यो रोग छोटो समयमा नै संसारको २०० भन्दा बढी देशमा लिसकेको छ। यतिखेर यो महामारीे अमेरिका र युरोपमा भयावह रुपमा देखा परेको छ। आजसम्म झण्डै ८ लाख संक्रमित भएका छन भने ४० हजार भन्दा धेरैको ज्यान गइसको छ। जसले गर्दा हजारौं परिवार आफन्त वियोगको पीडामा छन भने केही देशका राष्ट्रिय प्रतिभाहरुको पनि निधन भएको छ। हाम्रो देश नेपालमा पनि ५ जना कोरोना संक्रमित बिरामी भेटिएका छन् ।

    कोरोना भाइरस एक शुक्ष्म अर्धजीव हो । यो आरएनए समुहको भाइरस हो । यी भाइरसलाई अल्फा, विटा, गामा र डेल्टा समुहहरुमा विभाजन गरिएको हुन्छ। यीमध्ये वीटा कोरोना भाइरसले बिरामीलाई श्वास प्रश्वासमा समस्या गराउने र कडा न्यमोनिया गराउँछ । यतिखेर विश्यव्यापी महामारी गराइरहेको भाइरसलाई नोवल कोरोना भाइरस भनेर नाम दिइएको छ र यसले गराउने रोगलाई कोभिड -१९ भनिएकाे छ ।  सन १९१८ मा फैलिएको स्पेनिश फ्लू महामारी संसारमा अहिलेसम्मकै भयावह महामारीकाे रुपमा लिइन्छ, जसमा ५ करोड भन्दा बढी मानिसकाे मृत्यु भएको अनुमान गरिएको थियो ।

    नोभल कोरोना भाइरसको संक्रमण हुँदा बिरामीलाई ज्वरो आउने( १०२ डिग्रि फरेनहाइट वा बढी), सुख्खा खोकी लाग्ने र श्वास प्रश्वासमा गाह्रो हुने मुख्य लक्षण देखिन्छ । यो भाइरस विरामीले खोक्दा र हाछ्यु गर्दा शरीर बाहिर निस्कने र नजिक सम्पर्कमा हुने स्वस्थ व्यक्तिलाई सर्ने बताइएको छ। भाइरस हावामा केही घण्टासम्म जीवित रहने, अझ धातु र काठको सतहमा केही दिनसम्म बाँच्नसक्ने अनुसन्धानले देखाएको छ।
    यो एकदमै नयाँ रोग भएकोले रोगको सराइ अवधि, सर्ने तरिका, रोकथामको लागि चाहिने भ्याक्सिन आदि बारे धेरै अनुसन्धान हुन बाँकी नै छ ।

    बिरामी भएका मध्ये ५ देखि १० प्रतिशत बिरामीहरुमा मात्रै कडा संक्रमण हुने गर्दछ । कुल बिरामीको २ देखि ३ प्रतिशत मात्र मृत्युदर रहेको पाइन्छ। भाइरसबाट हुने रोगहरुको कुनै विशिष्ट उपचार हुदैन र यो रोगको पनि खास उपचार छैन। बिरामीलाई लाक्षणिक र सहयोगात्मक उपचार मात्रै गरिने हो । मुख्य कुरा यसको संक्रमण रोकथाम गर्नु नै उत्तम उपाय हो । यो पुरै नयाँ प्रकारको रोग भएकोले कुनै पनि व्यक्तिको शरीरमा यो रोग विरुद्धको प्रतिरोधात्कम क्षमता बनेको हुदैन। तसर्थ यसको रोकथामको लागि बारम्वार सावुनपानीले हात धुने, भीडभाडमा नजाने, घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्ने र मुख्यतः व्यक्ति-व्यक्तिवीचको दुरी कायम गर्नु नै हो भन्ने विश्व स्वस्थ्य संगठनले जनाएको छ ।

    कोरोना संक्रमण रोकथामको लागि नेपालमा भएका प्रयास
    विश्वव्यापी कोरोना भाइरस महामारी रोकथामको लागि नेपाल सरकारले विभिन्न कदमहरु चालिरहेको छ। गत पौषको अन्तिम हप्ता चीनबाट फर्केका एक नेपालीलाई कोरोना पोजिटिभ देखिएपछि सरकारले यसमा सतर्कता अपनाउन थालेको पाइन्छ । सरकारले उपप्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय कोरोना महामारी रोकथाम तथा नियन्त्रण समन्वय समिति गठन गरेको छ । यस समितिले नीतिगत निर्णय गर्दै अहिले देश कोरोना महामारी रोकथाममा अगाडि बढेको छ ।

    पछिल्लो पटक सरकारले चैत्र १० गतेदेखि लामो दरीको यातायात बन्द गर्नुको साथै चैत्र ११ देखि १८ गतेसम्म संक्रामक रोग महामारी नियन्त्रण ऐन २०२० अनुसार देशमा लकडाउन घोषणा गरेको छ, जुन यही २५ गते सम्म थपिएको छ। यद्यपि यसो गर्न केही ढीलो भइसकेको थियो । यस अघि नै सरकारले २०७६ को एसईइ परीक्षा लगायतका पुर्व निर्धारीत सबै सार्वजनिक कार्यक्रमहरु अर्को सचना नआएसममको लागि स्थिगित गरिसकेको थियो । पछिल्लो पटक झण्डै ६ लाखभन्दा बढी मानिस काठमाण्डौ उपत्यकाबाट बाहिरिसकेका छन भने छिमेकी देश भारतमा रोजगारी र अध्ययनमा गएका लाखौं नेपाली स्वदेश फर्केका छन । जतिबेला भारतमा सयौं कोरोना संक्रमित फेला परिसकेका थिए ।

    अर्कोतफ खाडी मुलुक, मलेसिया, कोरिया, जापान, अमेरिका, अष्ट्रेलिया र युरोपियन मुलुकहरुबाट पनि हजारौं नेपाली देश फर्केका छन। ती सबै आउने व्यक्तिहरुमा संक्रमणको जोखिम छ। पछिल्लो पटक नेपालमा निदान भएका ४ वटै केसले पनि यसको पुष्टि गर्दछ। हाल देशका तीनै तहका सरकारहरुले यसरी विदेशबाट आएका मानिसहरलाई क्वारेन्टाइनमा बस्न भनेको छ। तैपनि सर्वसाधारणमा स्वास्थ्य चेतनाको कमी र क्वारेन्टाइनमा बस्ने सहज सुविधा नहुँदा मानिसहरु आफुखुशी बसिरहेका छन । उनीहरुलाई छिटोभन्दा छिटो होम क्वारेन्टाइन वा स्थानीय तहले तोकेको स्थानमा राख्नु आजको जरुरी काम हो, जुन प्रयाप्त रुपमा हुन सकेको छैन । जसले गर्दा देशमा कोरोना महामारी रोकथाममा चुनौती थपिएको छ ।

    सरकारले शंकास्पद बिरामीकाे नमुना परिक्षण लागि हाल काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै सीमित रहेकोमा सो सुविधा अहिले सातै प्रदेशको मुख्य शहरहरुमा विस्तार गर्दैछ । पुर्वको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा त नमुना परिक्षण सुविधा सुरु नै भइसकेको छ। जुन सुखद खबर हो । अहिले यतिखेर बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई नभई नहुने मास्क, पिपिइ लगायतको सामाग्री देशमा अभाव छ।

    आज अधिकांश स्वास्थ्यकर्मी केवल एउटा सामान्य मास्कको भरमा सेवा दिइरहेका छन । न उनीहरुसंग इन्फारेड थर्मोमिटर छ, न एन ९५ मास्क। न त ग्लोभ्स नै छ । यी व्यक्तिगत सुरक्षाका सामग्री छिटोभन्दा छिटो आपुर्ति हुन जरुरी छ । नत्र कथमकदाचित स्वास्थ्यकर्मी आफै संक्रमित भए भने उनीहरु त पीडित नै हुनेछन, अझ उनीहरुबाट स्वास्थ्य सेवा लिन आउन धेरैे बिरामीहरु संक्रमित हुने जोखिम बढिरहन्छ । सरकारले विविध प्रयत्न गर्दा गर्दै पनि कोरोना संक्रमण रोकथाम गर्न अझै थप धेरै काम गर्न जरुरी भइसकेको छ। जसलाई सरकार र नागरिक दुवै मिलेर गर्नु पर्दछ । न कि यो राज्यको मात्रै जिम्मेवारी हो ।

    सरकारको तर्फबाट गर्नपर्ने कार्यहरु
    १. पछिल्लो २ हप्ताभित्र विदेशबाट नेपालमा आएका सबै मानिसहरुलाई अनिवार्य क्वारेनटाइनमा राख्नको लागि प्रदेश र स्थानीय सरकारको समन्वयमा यथाशिघ्र काम गर्ने।
    २. केन्द्रिय अस्पतालदेखि गाउँमा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई व्यक्तिगत सरक्षाका कवच (पिपिइ), मास्क, पञ्जा छिटो उपलव्ध गराउने ।

    ३. हालै नेपालमा निदान भएका बिरामीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको खोज जांचपड्ताल (-Contact tracing) गर्ने ।
    ४. नमुना परिक्षणको दायरा फराकिलो पार्ने। ( सकिन्छ भने दक्षिण कोरियाको तरिका अपनाउने)

    ५. लक डाउनको अवधिमा आम नागरिकलाई आवश्यक दैनिक उपभोग्य सामग्री र इन्धनको आपर्तिको सहज व्यवस्था मिलाउने र सो को कडा अनगमन गर्ने ।
    ६. शंकास्पद बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा मात्रै परिक्षण र उपचारको व्यवस्था मिलाउने ।
    ७. आवश्यक परेमा लकडाउनको अवधि लम्वयाउने ।

    ८.उच्च स्तरीय महामारी रोकथाम तथा नियन्त्रण समन्वय समितिले सबै राजनीतिक दल, सरोकारवाला संघ संस्था, विषय विज्ञहरुसंगको निरन्तर छलफल र समन्वयमा आवश्यक निर्णय लिने ।

    नागरिकले पुरा गर्नुपर्ने दायीत्वः
    १. आफनो टोल, छिमेकमा हालसालै विदेशबाट आएका मानिसहरुबारे सम्वन्धित वडा कार्यालय वा प्रहरी कार्यालयमा जानाकारी दिने र आफै स्वयमले पनि उनीहरुलाई होम क्वारेन्टाइन वा स्थानीय सरकारले तोकेको क्वारेन्टाइनमा बस्न अभिप्रेरित गर्ने ।

    २. कोरोना संक्रमणबाट वच्नको लागि सरक्षाका उपायहरु (जस्तैः बारम्वार साबुनपानीले हात धुने, व्यक्तिगत दुरी कायम गर्ने, बाहिर निस्कनै पर्दा सर्जिकल मास्क लगाउने) अवलम्वन गर्ने ।

    ३. सामान्य बिरामी हुंदा यो बेला अस्पताल नजाने, बरु नजिकको स्वास्थ्यकर्मीसंग फोनमा स्वास्थ्य समस्या परेमा जानकारी लिने ।
    ४. दैनिक उपभोग्य सामग्रीहरुको अधिक संग्रह नगर्ने ।
    ५. सरकारले जारी गरेको लक डाउनको पुर्ण पालना गर्ने।

    ६. आफनो टोल, वस्तीका रहेका विपन्न परिवार, ज्याला मजदुरी गरेर गुजारा गर्ने घरपरिवारलाई संकटमा सकेको सहयोग गर्ने ।
    ७. आसन्न यो विपदको घडीमा सरकारले जारी गरेका सूचना र निर्देशनहरु पलना गर्ने ।
    ८. घरको एकान्तबासमा सोसियल मिडियाहरुको प्रयोग सीमित गरी सिर्जनात्मक काममा अभ्यस्त रहने ।

    यसरी सरकार र नागरिक एकजुट भएर अघि बढ्ने हो भने नेपाललाई निश्चित रुपमा कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणमा सफलता मिल्नेछ । अहिले झैं यो रोग आयतीत केशमा नै सीमित गर्न सम्भव रहन्छ । अन्यथा देशमा स्थानीय संक्रमण देखा परेमा त्यो हाम्रो काबुभन्दा बाहिर हुनेछ ।

    आज विश्वका शक्तिशाली र सम्पन्न भनिएका देशमा त यो रोग भयावह भएको सुनिरहेका छोैं नि । भोलि हामीलाई त्यो अवस्था नआओस् भनेर सबैले संयमित भएर सोचौं र नागरिक, सरकार एक भइ कोरोना भाइरस महामारी विरुद्धकाे तयारीमा कटिबद्ध भएर लागौं । यसैमा हामी नेपालीको भलो हुनेछ। लेखक तनहुँका युवा जनस्वास्थ्यकर्मी हुन

    प्रतिक्रिया