• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चीनबाट काेराेना नियन्त्रणका लागि ल्याइएकाे सामाग्रीमा यसरी भयाे कमिसनकाे ठूलो चलखेल, प्रमाणसहित

    6.2K
    SHARES

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले चीनबाट कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि मगाएको स्वास्थ्य सामाग्रीमा ठूलो कमिसनको खेल भएका तथ्यहरू सार्वजनिक हुने क्रम जारी छ । बजार मूल्यभन्दा दशौं गुणा बढी मूल्यमा खरिद सम्झौता गरेर सरकारले नीतिगत भ्रष्टाचार गरेको सार्वजनिक रहस्य खुलेकाे छ ।

    स्वास्थ्य मन्त्री भानुभक्त ढकालकै योजनामा यो कमिसनको खेल भएको दाबी मन्त्रमलय स्राेतले गरेकाे छ । कोरोना भाइरसले विश्वमै आतंक मच्चाउँदा पनि सरकारले कुनै सुरासार नै गरेन । माघ १० गते नै संक्रमित भेटिँएकै दिन कुनै तयारी नगरेको स्वास्थ्य मन्त्रालयले जब लकडाउन सुरु भयो तब रातारात स्वास्थ्य सामाग्री खरिद प्रक्रिया सुरु गर्यो ।

    यद्दपी स्वास्थ्य मन्त्रालयले माघ २५ गते कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सामाग्री खरिदको प्रक्रिया अघि बढाएको थियो । सामान खरिदको लागि सुरुमा ७ वटा कम्पनीलाई छानिएको तर पछि उनीहरुलाई जानकारी नै नदिएर ओबिसीआईलाई खरिदको जिम्मा दिइयो । कमिसनको चक्करमा सरकारले सुरुमा खरिद सम्झौता गरेको कम्पनीलाई जानकारी नै नदिएर ओबिसीआईलाई एक अर्ब २४ करोड ६८ लाख रुपैयाँ (एक करोड तीन लाख ९० हजार अमेरिकी डलर) को सामग्री खरिद गर्न जिम्मा दिएको व्यवसायीको आरोप छ ।

    सञ्चारकेन्द्रलाई प्राप्त नयाँ प्रमाण अनुसार चैत्र ९ गते व्यवस्थापन महाशाखाले १० दिनको ११ बजे सामान खरिद गरिरहेका कम्पनीहरुलाई मन्त्रालयमा बैठक बोलाइएको थियो । पत्रमा शाखाका निर्देशक भगेन्द्रराज डोटेलले हस्ताक्षर गरेका छन् । मन्त्रालयको पत्र पाएका सबै व्यवासायी कम्पनीहरुले जम्मा भएर आफूहरु सामान खरिद गर्न तयार रहेको बताएका थिए ।

    उनीहरुले चैत्र २ गते गोरखापत्रमा प्रकाशित सूचनाको आधारमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने सामाग्री खरिद गर्ने प्रस्ताव पेश गरेका थिए । दशवटा कम्पनीमध्ये महाशाखाले चैत्र १४ गते ७ वटा कम्पनीसँग खरिल सम्झौता गरेको थियो । उनीहरुलाई सामाग्रीसहित रकम समेत बाँडफाँड गरेको थियो । उक्त सम्झौतामा निर्देशक डोटेलले हस्ताक्षर गरेका छन् ।

    तर सम्झौता गरिएका ६ वटा कम्पनीलाई जानकारी नदिएर अन्तिम नम्बरमा भएको ओबीसीआईसँग पुनः सम्झौता गरियो । एक व्यवसायीका अनुसार यो प्रक्रिया हुँदै गर्दा ओबिसीआईले चीनमा सामान खरिदको प्रक्रिया सुरु गरिसकेको थियो । अरु कम्पनीलाई खरिद प्रक्रियाका सहभागी गराउनु भनेको अरुको आँखा छल्नुमात्रै भएको व्यवसायीको आरोप छ ।

    ”हामीलाई प्रक्रियामा बोलाएर ओबिसीआईलाई गोप्य रुपमा समान खरिद गर्न लगाइएको थियो । उसले उता सामान ठिक पारेपछि अनि अन्तिममा हामीलाई कुनै जानकारी नै नदिएर उसैलाई सामान खरिदको जिम्मा दिइयो । यो ठूलो कमिसनको खेलमा भएको हो” एक व्यवसायीले भने । उनले एउटा छलफलमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी भएको बताउँदै मन्त्री तल्लोस्तरमा झरेर आफूहरुसँग छलफल गरेको बताए । मन्त्रीको यस्तो व्यवहारबाटै आफूहरुलाई भित्रभित्रै कमिसनको खेल भएको आभास भएको ती व्यवासायीकाे दावी छ ।

    किन सुरुमा सातवटा कम्पनीसँग सम्झौता गरियो र किन जानकारी विना नै एउटै कम्पनीलाई सबै जिम्मा दिइयो ? भन्‍ने व्यवसायीहरुले प्रश्‍न गरिरहेका छन् । करोडौको कमिसनको चक्करमा दशौं गुणा बढी बढी मूल्यमा खरिद सम्झौता गर्दै सरकारले नेपाल वायु सेवा निगमको वाइडबडी जहाज उपलब्ध गराइएको भन्दै चौतर्फी विरोध भइहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ