• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कोरोना संक्रमण आशंका गरिएका २ जनाको वीर अस्पतालमा मृत्यु, नाम र ठेगानासहित

    5.7K
    SHARES

    काठमाडौं ।  कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला छन् ।

    वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । तर रिपोर्ट आएको छैन ।

    निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको थियो । उनको सोमबार विहान मृत्यु भएको हो । ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

    यस्तै बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा मृत्यु भएका युवामा कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

    परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । उनको अर्काे रिपोर्ट आउन भने बाँकी रहेको जनाइएको छ ।

    पाल्पा घर भइ रुपेन्देहीको सैनामैना नगरपालिका बस्दै आएका ३४ वर्षीय बाबुराम थापाको कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचारका क्रममा आइतबार मृत्यु भएको थियो । कोरोना संक्रमण भए नभएकोबारे परीक्षण गर्न केही दिन अगाडि नै उनको नमूना संकलन गरिएको भए पनि नतिना भने आएको थिएन ।

    थापा चैत ६ गते संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईबाट नेपाल आएका थिए । ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि उनी चैत १३ गते अस्पताल भर्ना भएका थिए ।

    यसैबीच विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४ हजार नाघेको छ । सोमबार दिउँसो ३ बजेसम्म थप ५६ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ हजार नाघेको हो ।

    यस्तै, यो भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख २५ हजार पुगेको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा संक्रमित हुनेको संख्या १ लाख ४२ हजार ७ सय पुगेको छ । त्यहाँ करिब २५ सय जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

    इटालीमा साढे ९७ हजार संक्रमित छन् । त्यहाँ सर्बाधिक धेरै १० हजार ७ सय व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन् । चीनमा ८१ हजार ४ सय संक्रमित हुँदा ३ हजार ३ सय व्यक्तिको मृत्यु भएको छ ।

    स्पेनमा संक्रमितको संख्या ८० हजार नाघेको छ । त्यहाँ मृतककको संख्या ६ हजार ८ सय पुगिसकेको छ । जर्मनीमा ६२ हजार संक्रमित हुँदा कोरोनाबाट ५४१ जनाले ज्यान गुमाएका छन् ।

    फ्रान्समा ४० हजार यो भाइरसका कारण विरामी छन् । त्यहाँ २६ सयले ज्यान गुमाएका छन् । इरानमा संक्रमितको संख्या २८ हजार ३ सय पुगेको छ । इरानमा पनि २६ सय बढीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

    बेलायतमा साढे १९ हजार संक्रमित हुँदा कोरोनाका कारण १२ सय बढीको मृत्यु भइसकेको छ । छिमेकी मुलुक भारतमा १ हजार ७१ जना संक्रमित भएका छन् । त्यहाँ आज साेमबार दिउँसाे ३ बजेसम्म थप ४७ जना नयाँ संक्रमित थपिएका छन् ।

    भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । यस्तै, पाकिस्तानमा १६ सय व्यक्ति संक्रमित हुँदा १८ जनाले ज्यान गुमाएका छन् ।

    प्रतिक्रिया