• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कोरोनाले थला परेको चीनबाट बल्ल आयो यस्तो खुसीको खबर, विश्व नै दंग

    4.8K
    SHARES

    बेइजिङ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि चीनको हुबेई प्रान्तस्थित वुहानमा बनाइएका १४ अस्थायी अस्पताल सोमबार बन्द गरिएका छन् । सहरमा भाइरस संक्रमितको संख्या घट्दै गएपछि ती अस्पताल बन्द गरिएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् । धेरैले यो खबरलाई सुखद भनेका छन् ।

    डिसेम्बर अन्तिमबाट कोभिड–१९ संक्रमण फैलन थालेपछि मध्यम खालका संक्रमितलाई उपचार गर्न र संक्रमणको स्रोतलाई आइसोलेसनमा राख्नका लागि वुहानमा प्रदर्शनी केन्द्र र जिमनासियम हलजस्ता १६ सार्वजनिक स्थललाई अस्थायी अस्पतालमा रूपान्तरण गरिएको थियो ।

    सोमबार दिउँसो ३ बजे जियाघानस्थित अस्थायी अस्पताल बन्द गरिएसँगै अब वुहानमा दुइटा मात्रै त्यस्ता स्वास्थ्य संस्था सञ्चालनमा छन् । बाँकी रहेका दुई अस्पताल पनि मंगलबारसम्ममा बन्द गरिने कोभिड–१९ नियन्त्रण मुख्यालयले जनाएको छ । अस्थायी अस्पतालमा १२ हजार बिरामीलाई उपचार गरिएको थियो ।

    कोभिड–१९ को उद्गमस्थल चीनमा संक्रमित र मृतक संख्या कम हुँदै गएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार बिहान जनाएअनुसार पछिल्लो २४ घण्टामा देशैभर मात्र १९ जनामा कोरोना संक्रमण देखिएको छ भने मात्र १७ जनाको मृत्यु भएको छ । जनवरी २० बाट दैनिक रूपमा बिरामीको जानकारी दिन थालेयता यो सबैभन्दा कम संख्या भएको चिनियाँ अधिकारीले बताएका छन् । डिसेम्बर अन्तिममा पहिलो संक्रमण देखिएयता चीनमा एकै दिन १५ हजारसम्म संक्रमित पुष्टि थियो ।

    चीनमा आइतबारै १ हजार ५ सय ३५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । एकै दिन ५ हजार १ सय ११ जनासम्म कोभिड–१९ का सिकिस्त बिरामी पाइएको चीनमा आइतबार मात्र १ सय ५३ जना त्यस्ता बिरामी पुष्टि भएको स्वास्थ्य आयोगले जनाएको छ । चीनमा हालसम्म ८० हजार ७ सय ५४ जनामा कोभिड–१९ पुष्टि भएकोमा ५९ हजार ९ सय ५ जना निको भएर घर गएका छन् भने १९ हजार १६ जना अस्पतालमा उपचाररत छन् । चीनमा कोभिड–१९ का कारण ३ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।

    संक्रमितको समीपमा आएका २० हजार १ सय ४६ जना अझै पनि मेडिकल अब्जरभेसनमा रहेको र आइतबारै तीमध्ये ३ हजार ८ सय २ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको आयोगले जनाएको छ । हालसम्म चीनबाहिरबाट आएका ६७ जनामा संक्रमण पुष्टि भएको उसले उल्लेख गरेको छ ।

    यसैबीच विश्‍व स्वास्थ्य संगठन(डब्लूएचओ)का महानिर्देशक टेड्रोस एडानोम गेब्रेयससले चीनमा संक्रमितमध्ये ७० प्रतिशत निको भएको जानकारी दिएका छन् । सोमबार नियमित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक गेब्रेयससले चीनमा ७० प्रतिशतभन्दा बढी व्यक्ति निको भएको र अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका हुन् । विश्‍वभर फैलिएको संक्रमध्ये ९३ प्रतिशत चार देशमा मात्रै भएको बताउँदै रोकथामका लागि भाइरसप्रति दया नदेखाइ सबै एकजुट भएर लड्नुपर्ने उनले बताए ।

    इरानमा ७० हजार कैदी रिहा
    इरानले ७० हजार कैदी जेलमुक्त गरेको छ । इरानी न्यायालय प्रमुख इब्राहिम राइसीले कोभिड–१९ संक्रमण थप नफैलियोस् भनेर कैदीबन्दी रिहा गरेको जानकारी दिए पनि विस्तृत विवरण भने दिएका छैनन् । उनले ती कैदी जेलमा कहिले फर्कन्छन् वा सधैंका लागि रिहा भएका हुन् भन्नेबारे पनि बोलेका छैनन् । ‘समाजमा सुरक्षा चुनौती नहुने अवस्थासम्म कैदी रिहा गरिने छ,’ इब्राहिमलाई उद्धृत गर्दै न्यायालको वेबसाइटमा उल्लेख छ ।

    इरानमा कोभिड–१९ बाट सोमबारसम्ममा २ सय ३७ जनाको मृत्यु भएको छ । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १ सय ६१ जना संक्रमित पुष्टि भएका छन् । चीनबाहिर कोभिड–१९ बाट मृत्यु हुने दर इरानमा धेरै छ । त्यसपछि दक्षिण कोरियामा संक्रमित धेरै छन् ।

    विदेशीले उत्तर कोरिया छोडे
    उत्तर कोरियामा कोरोना भाइरस संक्रमणका आशंकामा केही सातादेखि क्वारेन्टाइनमा बस्न बाध्य पारिएका ८० विदेशीले प्योङयाङ छोडेका छन् । उत्तर कोरियाको राष्ट्रिय ध्वजावहाक एयर कोर्यो विमानले उनीहरूलाई रूस लिएर गएको एनके न्युजले उल्लेख गरेको छ । विमानमा अधिकांश प्योङयाङस्थित विभिन्न देशका दूतावासका कर्मचारी र कूटनीतिज्ञ
    रहेका छन् ।

    रुसको भ्लादिभोस्तोकमा सोमबार बिहानै अवतरण गरिएको विमानमा रहेका विदेशी नागरिक कसरी आ–आफ्ना देश जान्छन् भन्नेबारे भने केही बताइएको छैन । उत्तर कोरियामा झन्डै एक महिनापछि कुनै पनि व्यावसायिक विमान कम्पनीले उडान भरेको हो । चीनको छिमेकी देश भएका कारणले पनि कोभिड–१९ संक्रमण फैलने डरले उत्तर कोरियाले राजधानी प्योङयाङमा रहेका कैयौं देशका सयौं विदेशीलाई क्वारेन्टाइनमा बस्न भनेको थियो । सबै विदेशी विमानमार्फत गएपछि उत्तर कोरियास्थित विभिन्न देशका कूटनीतिक निकायका कार्यालय खाली भएका छन् ।

    जेलमा दंगा, कम्तीमा ६ को मृत्यु
    कोभिड–१९ संक्रमण थप फैलन नदिन इटाली सरकारले चालेका कदमविरुद्ध भएका दंगामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । जेलमा आगन्तुकलाई आउन नदिने गरी सरकारले प्रतिबन्ध लगाएको विरोधमा उत्तरी क्षेत्रमा रहेका मोदेना जेलका बन्दीले एउटा भवनमा आगो लगाइदिएपछि दंगा भड्किएको थियो । भाइरस संक्रमण नियन्त्रणभन्दा बाहिर जान थोलपछि सरकारले आइतबारदेखि अप्रिल ३ सम्मका लागि करिब एक करोड ६० लाख जनतालाई क्वारेन्टाइनमा बस्न भनेको थियो । मंगलबार बिहानसम्म इटालीमा ४६३ जनाको मृत्यु भएको छ भने ९ हजार एक सय ७२ जनामा संक्रमणको पुष्टि भएको छ ।

    विभिन्न कार्यक्रम स्थगित
    कोरोना प्रकोपका कारण विश्वभर विविध कार्यक्रम स्थगित गरिएका छन् । विभिन्न देशमा खेलकुद र सांस्कृतिक कार्यक्रम पनि रोकिएका छन् । इन्डियन वेल्स टेनिस टुर्नामेन्ट, साउदी खेलकुदलगायतका खेल गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएका हुन् । चर्चित कोरियाली सांस्कृति समूह के–पपको जापान यात्रा पनि हाललाई रोकिएको छ । युरोपेली संसद्ले यसै साताका लागि तय गरिएको विस्तारित बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको छ । कैयौं देशले कोरोना प्रभावित राष्ट्रका नागरिकलाई प्रवेशमा रोक लगाएका छन् ।

    विश्वभर कोभिड–१९ संक्रमितको संख्या सोमबारसम्ममा १ लाख १४ हजार नाघेको छ भने मृतकको संख्या ४ हजार २६ पुगेको छ । विश्वका लगभग आधाभन्दा बढी देशमा भाइरस संक्रमित पाइएका छन् । विश्वभर ६४ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

    कोरोना भाइरससँग हामी सचेत पक्कै हुनुपर्छ तर अतालिनु जरूरी छैन। कोरोना भाइरसबारे हामीले थाहा पाउनु पर्ने र सचेत हुनु पर्ने ९ तथ्य समेटेर हाम्रा पाठकहरूका लागि यो ब्रिफिङ पेपर तयार गरेका छौं।

    १.कोरोना भाइरस पक्कै पनि खतरनाक छ। तर यसको संक्रमण भएपछि मान्छेको मृत्यु नै हुन्छ भन्ने होइन। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोना भाइरसको संक्रमण भएकामध्ये ३.४ प्रतिशत बिरामीको मात्र मृत्यु भएको छ। त्यो भनेको संक्रमण भएकामध्ये ९६ प्रतिशतभन्दा बढी निको भएका छन्।
    २. फरक उमेर समूहमा कोरोना भाइरसको प्रभाव फरक देखिएको छ। कम उमेरका बालबच्चा वा वयस्कलाई यो भाइरसले कम प्रभाव पारेको छ।

    डब्लूएचओका अनुसार ४० वर्षभन्दा कम उमेर समुहका मानिसको मृत्युदर ०.२ प्रतिशतमात्र छ। अर्थात् कोरोना भाइरस लागेका ४० वर्षभन्दा कम उमेरका एक हजार जनामध्ये दुई जनाको मात्र मृत्यु भएको छ। ८० वर्षभन्दा माथिका मानिसहरूको मृत्युदर बढी छ।

    ३. कोरोना भाइरसलाई यात्रा गर्न कुनै माध्यम चाहिन्छ। जस्तो हाँछ्यु गर्दा, खोक्दा वा बोल्दा हाम्रो शरीरबाट निस्कने थुक, र्‍याल आदिमा चढेर यो बाहिर निस्कन्छ। त्यसरी बाहिर निस्केर सिधै अर्को मानिसको नाक, मुख र आँखामा नपरेसम्म यो शरिरभित्र पस्न सक्दैन। अर्थात हाम्रो छालाबाट कोरोना भाइरस सोझै हाम्रो शरीरमा छिर्दैन।

    मानिसले हाछ्युँ गर्दा वा खोक्दा थुक, खकार, र्‍यालका छिटाहरू एक मिटर परसम्म जान सक्ने भएकाले डाक्टरहरूले संक्रमित मानिससँग कम्तीमा एक मिटरको दूरीमा बस्नु सुरक्षित हुने सल्लाह दिएका छन्।

    ४. कोरोना भाइरसले मानिसको श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हो। जसको श्वासप्रश्वास प्रणाली कमजोर छ, उनीहरूलाई यसले बढी सताउँछ। त्यसैले धेरै उमेर भएका, रोग प्रतिरक्षा प्रणाली कमजोर भएका, डायबेटिजलगायत अन्य रोगसँग लडिरहेका मानिसले कोरोनासँग अझै बढी सचेत हुनुपर्छ।

    ५. कोरोना भाइरसबाट जोगिने सबैभन्दा महत्वपुर्ण उपाय हातले अनुहार नछुनु हो। किनकी जबसम्म यो भाइरस हाम्रो आँखा, नाक र मुखमा पर्दैन। तबसम्म यो शरिरभित्र छिर्न सक्दैन। भाइरसलाई आँखा, मुख र नाकसम्म लैजान महत्वपूर्ण माध्यम हात हो।

    हामी प्राय: बेलाबेलामा हातले अनुहार छोइरहेका हुन्छौं। घरी आँखा मिच्छौं। घरी नाक कोट्याउँछौं घरि चिउडोमा हात पुर्‍याउँछौं। यसो गर्दा हातमा भएको कोरोना भाइरसले हाम्रो फोक्सोसम्म पुग्ने गेट भेटाउँछ। संसारभरिकै मानिसलाई हातले अनुहार नछुने बानी हटाउन गाह्रो छ तर यसरी हातलाई अनुहारमा नपुर्‍याउने हो भने कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिन्छ।

    ६.जतिसक्यो धेरै हात धुनु पर्छ। किनकी तपाईं संक्रमित व्यक्तिको नजिक हुनुहुन्न भने पनि तपाईंको हातमा कोरोना भाइरस आउन सक्छ। जस्तो बसमा यात्रा गर्दा कुनै संक्रमित मानिसले हाँछ्यु गरेर, खोकेर वा अरू कुनै माध्यमले भाइरस छोडेको हुनसक्छ। त्यही ठाउँमा तपाईंहको हात पर्यो भने भाइरस हातमा आउँछ।

    कोरोना भाइरस यस्तो जब्बर छ कि उपयुक्त वातावरण पाए यो मानिसको शरिरबाहिर पनि ९ दिनसम्म बाँच्न सक्छ। त्यसैले संक्रमितले बसको डन्डी, कुनै सामानको कभर, बेसिनको धारा टुटी जता पनि यसलाई छोडेको हुनसक्छ। यस्ता ठाउँमा छोएपछि हात धुँदा हात सफा हुन्छ र कोरोना भाइरस अनुहारसम्म पुग्ने सम्भावना कम हुन्छ। भेट हुँदा र छुट्टिँदा हात मिलाउनुको साटो नमस्कार गर्नुभयो भने अर्को व्यक्तिको हातमा रहेको कोरोना भाइरस तपाईंको हातमा आउन पाउँदैन।

    ७. अहिले नेपालमा पनि स्यानिटाइजरको अभाव देखिन्छ। तर हात धुँदा स्यानिटाइजर नै चाहिन्छ भन्ने छैन। कुनै ठाउँमा तपाईंसँगै हात धुन साबुन र पानी छैन भने स्यानिटाइजर प्रयोग गर्न सकिन्छ तर सबैभन्दा राम्रो तरिका साबुन पानीले हात धुनु नै हो।

    ८. जसरी कोरोना भाइरस संसारभर फैलिरहेको छ त्यसरी नै नेपालमा मास्कको माग बढेको छ र अभाव सिर्जना भएको छ। कोरोना भाइरस हावाका माध्यमबाट मात्र सर्न नसक्ने भएकाले मास्क लगाउनु आफैंमा महत्वपूर्ण छैन।

    यद्यपी मास्क लगाउँदा तीन किसिमले हामीलाई फाइदा पुग्छ। पहिलो, यसले संक्रमित व्यक्तिबाट भाइरस बोकेका थुक, खकार र र्‍यालका छिटा तपाईंको नाक-मुखमा पर्न दिँदैन। दोस्रो, कति मानिसलाई कोरोना भाइरसको संक्रमण भए पनि लक्षणहरू देखिँदैनन्। त्यस्तो अवस्थामा थाहै नपाई अरूमा भाइरस सर्नसक्छ। मास्क लगायो र हाँछ्यु गर्दा नाकमुख छोप्यो भने अरू मानिसमा भाइरस जाने सम्भावना कम हुन्छ। तेस्रो, मास्क लगाउँदा अनुहारमा अनावश्यक छुने क्रम घटन सक्छ। मास्क निकाल्दा र लगाउँदा कानतिरबाट गर्न सकिन्छ। तर मास्क लगाएर नाकमुखबाट घरिघरि तलमाथि सार्ने गरे झन् जोखिम बढ्न सक्छ।

    ९. सबै रूघाखोकी वा ज्वरो कोरोना भाइरस लागेर हुँदैनन्। त्यसै पनि नेपालमा अहिले मौसम परिवर्तन भइरहेको छ। चिसोबाट गर्मी मौसम लाग्दा कतिलाई मौसमी रूघाखोकी देखिन सक्छ। त्यस्तोबेला आत्तिनु हुँदैन। अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ।

    कोरोना भाइरसको संक्रमण भइहालेछ भने पनि अस्पताल जाँदा केही दिनको उपचारपछि निको हुन्छ। किनकी अहिलेसम्म कोरोना भाइरस लागेका ५५ हजार १ सय ८५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ