• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    ११ दिन अघि नेपालबाट अस्ट्रेलिया फर्केका युवामा कोरोना संक्रमण भएको पुष्टि

    1.5K
    SHARES

    फेब्रुअरी २६ तारिखमा नेपालबाट बिदा मनाएर अष्ट्रेलिया फर्किएका २० वर्षे एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अष्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले उनको संक्रमणबारे पुष्टि गर्दै उनको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् ।

    अष्ट्रेलियाको स्थानीय समाचार एजेन्सी सेभेनन्यूज डट कम डट एयूका अनुसार ती विद्यार्थी फेब्रुअरी २६ तारिखमा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट पुगेका थिए । अधिकारीका अनुसार उनलाई फेब्रुअरी २७ तारिखमा रुघा खोकी लाग्दा देखिने लक्षण देखिएको तर उनले मार्च ६ मा मात्रै हेल्थ हटलाइनमा सम्पर्क गरेका थिए ।

    उनको शुक्रबार रोयल होबार्ट अस्पतालमा परीक्षण गरिएको र उनलाई अलग राख्न (सेल्फ आइसोलेसन) आग्रह गरिएको भए पनि त्यसलाई उनले पालना नगरेको बताइन्छ ।

    उनलाई कोरोनाको संक्रमण भएको शनिबार पुष्टि भएको र लगत्तै उनलाई आइसोलेसनमा राखिएको जानकारीमा उल्लेख छ । तास्मानियाका जनस्वास्थ्य सेवाका प्रमुख डा. मार्क भेइचले सेल्फ आइसोलेसनमा राख्न गरिएको सल्लाह बेवास्ता गर्नुलाई ‘अस्विकार्य’ बताएका छन् ।

    ‘मैले यस्तो स्थितीमा तास्मानियाका सबै जनतालाई जिम्मेवार रहन आग्रह गर्दै आएको छु,’ उनले भने । अष्ट्रेलियन आइडल कलेजका विद्यार्थी उनी नेपालबाट फर्किएपछि दुई पटक कलेज गएको बताइन्छ । उनले पछिल्ला केही हप्तामा ग्रान्ड चान्सलर होटलमा पनि विभिन्न सिफ्टमा काम गरेका थिए ।

    स्वास्थ्य अधिकारीले उनीसँगको नजिकको सम्पर्कमा आएका सह–कर्मीको पहिचान गर्ने प्रयासमा भएको बताएका छन् । यसका साथै उनीसँगै बस्ने चारजना र अन्य तीनजनालाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य अधिकारीहरुले उनी चढेर आएको जहाजको विस्तृत विवरण पनि लिने प्रयास भइरहेको बताएका छन् ।

    इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम चाल्न बाध्य भएको जनाएको छ ।

    यस्तै इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले ट्वीट गर्दै भेनिस र आर्थिक राजधानी मिलानलगायतको ठूलो क्षेत्रमा कम्तिमा एक महिनाका लागि आवागमनमा कडाई गर्ने एक योजनामा हस्ताक्षर गरेको बताए । प्रधानमन्त्री कोन्टेको आदेशमा मानिसको भिडभाड हुने सिनेमाघर, संग्रहालय, थिएटरहरु सबै बन्द गर्न भनिएको छ ।

    ‘कोरोनाभाइरसकै कारण नयाँ आदेशलाई अन्ततः अनुमोदन गरेको छु,’ कोन्टेले भन्नु भएको छ । इटालीका अखबारहरु कोरियर डेला सेरा र अन्य संचार माध्यमले उत्तर इटालीमा आवागमन निषेध भएको भन्दै खबरहरु प्रकाशन गरेका छन् ।

    इटालीमा कोविड–१९ कै कारण झण्डै २३० जनाको मृत्यु भइसकेको छ । चीन बाहिर यति ठूलो संख्यामा मानिसको मृत्यु भएको इटालीमै हो । चीनमा गत डिसेम्बरमा देखा परेको यस प्रकोपले विश्वका धेरै देशलाई प्रभाव पारिरहेको छ ।

    विश्व बैंकका अनुसार जापान पछि इटालीमा विश्वमै बुढ्यौली उमेरका मानिसको बसोबास सर्वाधिक बढी छ, र नयाँ कोरोनाभाइरसबाट वृद्धहरू गम्भीर बिरामी हुने सम्भावना बढी देखिन्छ ।

    स्थगित गर्नै नसकिने “गम्भीर” कारण भएमा, अन्य जरुरी काम वा पारिवारिक मामिलाहरू भएमा बाहेक मानिसहरूलाई क्वारेन्टाइन क्षेत्रमा प्रवेश गर्न वा छाड्न अनुमति दिइने छैन, कोरियर डेला सेराले लेखेको छ ।

    यसमा सम्पूर्ण लोम्बार्डी क्षेत्रका साथै भेनिस र वरपरका क्षेत्रहरू, र पर्मा र रिमिनी शहरहरू सामेल छन् । यसबाट इटालीको कूल ६ करोड जनसंख्याको एक तिहाईलाई असर पार्नेछ ।

    यी ठाउँहरूमा सङ्ग्रहालयहरु, रात्रिक्लब, जिमखाना र क्यासिनोहरू बन्द गरिनेछन् । सकेसम्म मानिसलाई घरभित्रै बस्ने सल्लाह दिइएको बताउँदै उक्त अखबारले यी प्रतिबन्धहरू आगामी अप्रिल ३ सम्म लागू हुने जनाएको छ ।

    यी क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई आआफ्ना घर फर्कन दिइनेछ । बारहरू र रेष्टुरेन्टहरूमा ग्राहकहरु एकअर्कासँग करिब एक मिटर टाढै रहने प्रबन्ध सुनिश्चित गरेमा खुला राख्न अनुमति दिइनेछ ।

    इटालीमा गरिएको यो प्रबन्ध चीनको हुबे प्रान्तको झैं छ । हुबेको राजधानी उहानमा भाइरसको प्रकोप देखिएपछि यहाँ जनवरीको अन्त्यदेखि पूरै शहरलाई अन्य क्षेत्रबाट अलग राखिएको छ ।

    विश्वव्यापी रूपमा, कोरोना सङ्क्रमित व्यक्तिको संख्या एक लाख नाघिसकेको छ । यस रोगबाट हालसम्म ३ हजार ५ सय जनाको मृत्यु हुनुका साथै विश्वका ९५ भन्दा बढी देशमा कोरोना फैलिइसकेको छ ।

    प्रतिक्रिया