• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रचण्डमाथि जुत्ता हान्ने युवाबारे प्रहरीले नै गरिदियो यस्तो पुष्टि, नेकपभित्र खैलाबैला

    5K
    SHARES

    काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि सार्वजनिक कार्यक्रममा जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवा सहिद परिवारका सदस्य रहेको पुष्टि भएको छ ।

    महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाको संयोजकत्वमा गठित छानबिन समितिले जुत्ता प्रहार गर्ने तिरुवाका बुवा मोहन तिरुवा २०५६ सालमा सुरक्षाकर्मीबाट मारिएको पुष्टि भएको छ । फागुन १८ गते राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा भाषण गरिरहेका पूर्वप्रधानमन्त्री दाहाललाई तिरुवाले ताकेर जुत्ता प्रहार गरेका थिए । तर, सुरक्षाकर्मीको सावधानीका कारण प्रहार गरिएको जुत्ताले दाहाललाई लाग्‍न पाएको थिएन ।

    ‘जुत्ता प्रहार कुनै योजनाबद्ध रुपमा हानिएको पाइएन, आबेगमा आएर घटना घटाएको पाइयो,’ एसएसपी थापाले भने, ‘उनका बुवा मोहन तिरुवाको २०५६ सालमा सुरक्षाकर्मीको कारबाहीमा मारिएको पनि पाइयो ।’ तिरुवा प्रतिबन्धित चन्द समूहसँग आबद्ध नभएको पनि प्रतिवेदनमा उल्लेख छ ।

    जुत्ता प्रहारको घटनापछि महानगरीय प्रहरी आयुक्त डीआईजी विश्वराज पोखरेलले थापाको संयोजकत्वमा काठमाडौं परिसरका डीएसपी होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त सिंहदरबारका इन्स्पेक्टर युवराज तिमल्सिना सम्मिलित आन्तरिक छानबिन समिति गठन गरेका थिए । समितिले बुधबार पोखरेललाई प्रतिवेदन बुझाएको छ । ५ पेजको प्रतिवेदनमा घटना पूर्व निर्धारित नभएको उल्लेख छ ।

    तर घटना भएकै दिन सत्तारुढ नेकपा जुम्लाले रतन तिरुवा प्रहरीको खोजीसूचीमा रहेका व्यक्ति भएको र उनी नेत्रविक्रम चन्द समूहमा रहेको दाबी गरेको थियो । तर एसएसपी थापाले तिरुवा चन्द समूहसँग आबद्ध रहेको नभेटिएको बताए । तिरुवा आफ्ना २ दाजुका साथ डल्लुमा भाडामा बस्दै आएका छन् । उनी अमिनतर्फ लोकसेवाको तयारीमा रहेको पनि खुलेको छ ।

    जुत्ता प्रहार लगत्तै तिरुवालाई पक्राउ गरी प्रहरीले मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार अभद्र व्यवहारको कसुरमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनीमाथि कसुर पुष्टि भए १ वर्षसम्म कैद वा १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान छ । छिट्टै तिरुवा विरद्धको कसुरमा प्रशासनमा मुद्दा दायर गरिने काठमाडौं परिसरले जनाएको छ ।

    प्रशरीकाे खुलासाले सत्तारूढ नेकपाभित्र हलचल
    प्रचण्डमाथि जुत्ता प्रहार गर्ने जुम्ला सिँजा घोड्यांगा गाउँका रतन तिरुवा सहिद परिवार र नेकपाको समर्थक नभएको भन्दै सत्तारूढ नेकपा जुम्लाले उनीमाथि जुत्ता हानिएकाे साँझ नै विज्ञप्ति निकाल्याे।

    नेकपा जुम्लाका अध्यक्ष बीरबहादुर कुँवरले प्रेस विज्ञप्ति निकालेर प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा जुम्लामा पनि पटक पटक अराजनीतिक कार्यमा संग्लन रहेको र नेपाल प्रहरीले पनि खोजी रहेको व्यक्ति भएको बताएका थिए तर नेकपाकाे उक्त दावीलाई प्रहरीकाे पुष्टिले खण्डन गरिदियाे। विज्ञप्तिमा भनिएको थियाे,‘जति निन्दा गरेपनि नपुन्ने यो अराजनैतिक उदण्ड, आंतककारी कार्यमा संलग्न जुम्ला सिँजा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै सहिद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म होइन। यो विप्लव समूहको गतिविधिमा रहेको ब्यक्ति हो।’

    पूर्वलडाकू र सहिद परिवार भनेर हल्ला भइरहेकोमा कुनै सत्यता नरहेको अध्यक्ष कुँवरले दावी गरेका थिए। ‘आज जे जति राजनीतिक उपलब्धी र परिर्वतन भएका छन्। त्यो प्रचण्डको नेतृत्वमा भएका हुन्। विज्ञप्तिमा भनिएको छ,‘ राजनीतिक परिर्वतनका सुत्रधार कमरेड प्रचण्डमाथि गरिएको निन्दनीय कार्यको नेकपा जुम्ला घोर भत्सना गर्दछ।’ तर उनी सहिद परिवार नै भएकाे पुष्टी भएपछि नेकपाभित्र खैलाबैला मच्चिएकाे छ ।

    प्रधानमन्त्री रहेकाे अर्का नेकपा अध्यक्ष केपी ओलीलाई डिस्चार्ज हुन ‘हतार’, तर यसाे भन्छन् चिकित्सक
    बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । प्रधानमन्त्री ओलीले नियमितजस्तै खाना खान र सामान्य डिँडडुल गर्न सक्ने अवस्थामा रहेका उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

    चिकित्सकका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले प्रधानमन्त्री ओली डिस्चार्ज गर्न मिल्ने अवस्थामा पुगिसकेका छन् । तर, मिर्गौला प्रत्यारोपण पछि ‘हाइ डोज’को औषधि सेवन गरीरहेको अवस्थामा संक्रमणको जोखिम रहेको भन्दै प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमै राख्ने योजना चिकित्सकको छ ।

    ‘उहाँको अहिलेको स्वास्थ्य अवस्थालाई हेर्दा त भोली वा पर्सीमा नै डिस्चार्ज गर्न सकिन्छ, तपाईं हामी जस्तै गरी प्रधानमन्त्री पनि हिँड्न सक्ने भइसक्नु भएको छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘तर अस्पतालबाट डिस्चार्ज भएपछि संक्रमण हुनसक्छ, त्यसैले थप २–३ दिन अस्पतालमै राख्ने निर्णय लिएका छौं ।’

    चिकित्सकहरुले संक्रमणको जोखिम हुने भन्दै केही दिन अस्पतालमै रहन आग्रह गरे पनि प्रधानमन्त्री ओली भने छिट्टै डिस्चार्ज हुन चाहेको स्रोतले बतायो । ‘प्रधानमन्त्रीज्युले त डिस्चार्ज हुन हतारो गर्दै हुनुहुन्छ, तर उहाँले चाहेर मात्र हामीले डिस्चार्ज गर्नेकुरा हुँदैन,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘संक्रमणको रिक्स लिनु हुँदैन भनेर केही समय अस्पतालमै राख्ने डिसिजन हामीले गरेका छौं ।’

    प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य भए पनि संक्रमणको जोखिम कायमै रहेकाले चिकित्सक बाहेक अन्य व्यक्तिलाई भेट्न भने दिइएको छैन । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने भान्जी नाता पर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । संग्रौलाले समेत प्रधानमन्त्री ओलीलाई भेट्न भने पाएकी छैनन् ।

    प्रधानमन्त्रीका ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले संग्रौलालाई आफूले भेटेको र भेटमा संग्रौलाले प्रधानमन्त्री ओलीलाई भेट्ने चाहना राखेको बताएका छन् । संगौलाले प्रधानमन्त्रीलाई भेट्ने चाहना गरेको कुरा उल्लेख गर्दै रिमालले सामाजिक सञ्चाल ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्रिज्युलाई मिर्गौला दान दिने भान्जी समीक्षा संग्रौलालाई सोधेंः कस्तो छ ? मलाई त ठीक छ, मामालाई चाहिँ कस्तो छ ? एकपटक मामालाई भेट्न मन लागेको छ । मैले भनेः तपाईं पहिलो भिजिटर हुनुहुने छ ।’

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्री ओलीलाई संक्रमणको जोखिम हुने भएकाले चिकित्सक बाहेक अरुले नभेटेको बताए । थापाका अनुसार चिकित्सकबाहेक प्रधानमन्त्री ओलीलाई भेट्ने पहिलो व्यक्ति संग्रौला नै हुनेछिन् ।

    ‘समीक्षाजीले पनि अहिलेसम्म भेट्न पाउनुभएको छैन, प्रधानमन्त्रीज्युका प्रमुख सल्लाहकार (विष्णु रिमाल) ले समीक्षाजीलाई भेट्नुभएको थियो, उहाँले मामालाई भेट्न पाउँ भन्नुभएको रहेछ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले भने, ‘चिकित्सकवाहेक प्रधानमन्त्रीलाई भेट्ने पहिलो भिजिटर उहाँ नै हुनुहुनेछ ।’

    चिकित्सकका अनुसार संग्रौलाले चाहेको अवस्थामा प्रधानमन्त्री ओलीलाई भेटाउन सकिने अवस्था छ । तर, प्रधानमन्त्री ओली र संग्रौला फरक–फरक वार्डमा रहेकाले भेटाउन नसकिएको चिकित्सकले बताए ।

    ‘समिक्षाजीले चाहनुभएको अवस्थामा उहाँलाई प्रधानमन्त्रीसँग भेटाउन सकिने अवस्था छ, तर प्रधानमन्त्री र समीक्षालाई राखेको ठाउँ फरक–फरक वार्ड भएकाले प्रधानमन्त्री भएको ठाउँमा ल्याउँदा बाटोमा भिड लाग्नसक्ने भएकाले हामीले भेटाएका छैनौं,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘वार्ड बाहिर धेरै जना भएकाले मात्र नभेटाएका हौं, समय मिलाएर उहाँहरुलाई भेटाउँछौं ।’

    प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओलीको यसै सातामा डिस्चार्ज भइसक्ने बताए । ‘उहाँ (प्रधानमन्त्रीलाई) धेरै दिन राख्ने काम हुँदैन, तर केही दिन चाहिँ इन्फेक्सन नहोस् भनेर राख्ने कुरा भएको छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले भने, ‘तर यो सातामै डिस्चार्ज हुनुहुनेछ ।’

    प्रतिक्रिया