• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कोरोनाको चपेटोमा परेको चीनमा घट्यो अर्को दुखद घटना, विश्व नै स्तब्ध

    9.2K
    SHARES

    काठमाडौं । चीनमा कोरोना भाइरसका संक्रमित राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्किँदा ४ जनाको ज्यान गएकाे छ । क्वारेन्टाइन भवन भत्किएर फसेका २२ मध्ये ४ जनाको ज्यान गएको हो । चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल शनिबार भत्किएको हो । अझै भग्नावशेष भवनमा मानिसहरू फसिरहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

    चीनको सरकारी माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, भत्किएको होटलमा ७० जना फसेका थिए । तीमध्ये ४७ को उद्धार गरिएको छ । फसेका अन्य व्यक्तिको उद्धार प्रयास भइरहेको जनाइएको छ । फुजियानको दक्षिणी प्रान्तमा अवस्थित क्वारेन्टाइन स्थल भत्किएसँगै उद्धारकर्ताहरूले फसेकाहरूको उद्धार कार्य भइरहेको सार्वजनिक भिडियोहरूमा देख्न सकिन्छ ।

    सुविधासम्पन्न पाँचतले होटल भत्कनुको कारण अहिलेसम्म खुलेको छैन । हेबेई प्रान्तको वुहान उद्गम भएर फैलिएको कोरोना भाइरसबाट चीन सबैभन्दा प्रभावित छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आइतबार बिहानसम्ममा ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय पुगेको छ ।

    संक्रमित हुनेको संख्या एक लाख ६ हजार १ सय ९५ पुगेको छ । संक्रमित हुनेको संख्या बढेपनि संक्रमण दर भने घटेको पाइएको छ । कोरोना संक्रमित मध्ये ६० हजार १ सय ९० जना स्वस्थ भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६ हजार ३५ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    कोरोना संक्रमितमध्ये सबैभन्दा बढी चीनमा ८० हजार ६ सय ९६ जना संक्रमित छन् । चीनमा नयाँ ४५ जना मानिसमा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाकै कारण चीनमा ज्यान गुमाउनेको संख्या ३ हजार ९७ पुगेको छ ।

    त्यस्तै दोस्रो धेरै संक्रमण फैलिएको दक्षिण कोरियामा ५० ज्यान गुमाएका छन् भने ७ हजार १ सय ३४ जनामा संक्रमण देखिएको छ । त्यस्तै इटालीमा ५ हजार ८ सय ८३ संक्रमित रहेको र ३ सय ३३ जनाले ज्यान गुमाएको समाचार प्रकाशन भएका छन् ।

    त्यस्तै इरानमा १ सय ४५ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । त्यस्तै अमेरिकामा १९ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ सय ३ राष्ट्रमा कोरोनाको संक्रमण फैलिएको छ ।

    यस्तै फेब्रुअरी २६ तारिखमा नेपालबाट बिदा मनाएर अष्ट्रेलिया फर्किएका २० वर्षे एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अष्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले उनको संक्रमणबारे पुष्टि गर्दै उनको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् ।

    अष्ट्रेलियाको स्थानीय समाचार एजेन्सी सेभेनन्यूज डट कम डट एयूका अनुसार ती विद्यार्थी फेब्रुअरी २६ तारिखमा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट पुगेका थिए । अधिकारीका अनुसार उनलाई फेब्रुअरी २७ तारिखमा रुघा खोकी लाग्दा देखिने लक्षण देखिएको तर उनले मार्च ६ मा मात्रै हेल्थ हटलाइनमा सम्पर्क गरेका थिए ।

    उनको शुक्रबार रोयल होबार्ट अस्पतालमा परीक्षण गरिएको र उनलाई अलग राख्न (सेल्फ आइसोलेसन) आग्रह गरिएको भए पनि त्यसलाई उनले पालना नगरेको बताइन्छ । उनलाई कोरोनाको संक्रमण भएको शनिबार पुष्टि भएको र लगत्तै उनलाई आइसोलेसनमा राखिएको जानकारीमा उल्लेख छ । तास्मानियाका जनस्वास्थ्य सेवाका प्रमुख डा. मार्क भेइचले सेल्फ आइसोलेसनमा राख्न गरिएको सल्लाह बेवास्ता गर्नुलाई ‘अस्विकार्य’ बताएका छन् ।

    ‘मैले यस्तो स्थितीमा तास्मानियाका सबै जनतालाई जिम्मेवार रहन आग्रह गर्दै आएको छु,’ उनले भने । अष्ट्रेलियन आइडल कलेजका विद्यार्थी उनी नेपालबाट फर्किएपछि दुई पटक कलेज गएको बताइन्छ । उनले पछिल्ला केही हप्तामा ग्रान्ड चान्सलर होटलमा पनि विभिन्न सिफ्टमा काम गरेका थिए ।

    स्वास्थ्य अधिकारीले उनीसँगको नजिकको सम्पर्कमा आएका सह–कर्मीको पहिचान गर्ने प्रयासमा भएको बताएका छन् । यसका साथै उनीसँगै बस्ने चारजना र अन्य तीनजनालाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य अधिकारीहरुले उनी चढेर आएको जहाजको विस्तृत विवरण पनि लिने प्रयास भइरहेको बताएका छन् ।

    इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम चाल्न बाध्य भएको जनाएको छ ।

    यस्तै इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले ट्वीट गर्दै भेनिस र आर्थिक राजधानी मिलानलगायतको ठूलो क्षेत्रमा कम्तिमा एक महिनाका लागि आवागमनमा कडाई गर्ने एक योजनामा हस्ताक्षर गरेको बताए । प्रधानमन्त्री कोन्टेको आदेशमा मानिसको भिडभाड हुने सिनेमाघर, संग्रहालय, थिएटरहरु सबै बन्द गर्न भनिएको छ ।

    ‘कोरोनाभाइरसकै कारण नयाँ आदेशलाई अन्ततः अनुमोदन गरेको छु,’ कोन्टेले भन्नु भएको छ । इटालीका अखबारहरु कोरियर डेला सेरा र अन्य संचार माध्यमले उत्तर इटालीमा आवागमन निषेध भएको भन्दै खबरहरु प्रकाशन गरेका छन् ।

    इटालीमा कोविड–१९ कै कारण झण्डै २३० जनाको मृत्यु भइसकेको छ । चीन बाहिर यति ठूलो संख्यामा मानिसको मृत्यु भएको इटालीमै हो । चीनमा गत डिसेम्बरमा देखा परेको यस प्रकोपले विश्वका धेरै देशलाई प्रभाव पारिरहेको छ । विश्व बैंकका अनुसार जापान पछि इटालीमा विश्वमै बुढ्यौली उमेरका मानिसको बसोबास सर्वाधिक बढी छ, र नयाँ कोरोनाभाइरसबाट वृद्धहरू गम्भीर बिरामी हुने सम्भावना बढी देखिन्छ ।

    स्थगित गर्नै नसकिने “गम्भीर” कारण भएमा, अन्य जरुरी काम वा पारिवारिक मामिलाहरू भएमा बाहेक मानिसहरूलाई क्वारेन्टाइन क्षेत्रमा प्रवेश गर्न वा छाड्न अनुमति दिइने छैन, कोरियर डेला सेराले लेखेको छ । यसमा सम्पूर्ण लोम्बार्डी क्षेत्रका साथै भेनिस र वरपरका क्षेत्रहरू, र पर्मा र रिमिनी शहरहरू सामेल छन् । यसबाट इटालीको कूल ६ करोड जनसंख्याको एक तिहाईलाई असर पार्नेछ ।

    यी ठाउँहरूमा सङ्ग्रहालयहरु, रात्रिक्लब, जिमखाना र क्यासिनोहरू बन्द गरिनेछन् । सकेसम्म मानिसलाई घरभित्रै बस्ने सल्लाह दिइएको बताउँदै उक्त अखबारले यी प्रतिबन्धहरू आगामी अप्रिल ३ सम्म लागू हुने जनाएको छ । यी क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई आआफ्ना घर फर्कन दिइनेछ । बारहरू र रेष्टुरेन्टहरूमा ग्राहकहरु एकअर्कासँग करिब एक मिटर टाढै रहने प्रबन्ध सुनिश्चित गरेमा खुला राख्न अनुमति दिइनेछ ।

    इटालीमा गरिएको यो प्रबन्ध चीनको हुबे प्रान्तको झैं छ । हुबेको राजधानी उहानमा भाइरसको प्रकोप देखिएपछि यहाँ जनवरीको अन्त्यदेखि पूरै शहरलाई अन्य क्षेत्रबाट अलग राखिएको छ । विश्वव्यापी रूपमा, कोरोना सङ्क्रमित व्यक्तिको संख्या एक लाख नाघिसकेको छ । यस रोगबाट हालसम्म ३ हजार ५ सय जनाको मृत्यु हुनुका साथै विश्वका ९५ भन्दा बढी देशमा कोरोना फैलिइसकेको छ ।

    इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकको लोम्बार्डी क्षेत्र र अन्य १४ प्रान्तमा कम्तीमा १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिएको बताएका छन् । कोरोना भाइरस कोभिड–१९को महामारी फैलिएसँगै इटालीले उनीहरुलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । उनीहरुलाई अप्रिलसम्म क्वारेन्टाइनमा राखिने छ ।

    कोरोना भाइरसको महामारी रोक्न इटालीले जिमखाना, स्वीङ पुल, म्युजियम र स्काई रिसोर्टहरु बन्द गर्ने निर्णय गरेको छ । इटालीमा युरोपमा कोरोना भाइरस सबैभन्दा बढी फैलिएको मुलुक हो । उल्लेख्य संख्यामा यो भाइरसबाट संक्रमितको संख्या बढ्दो क्रममा छ । अहिले घोषणा गरिएअनुसा क्वारेन्टाइन अप्रिल ३ सम्म जारी रहने छ ।

    पछिल्लो २४ घण्टामा मात्र इटालीमा ५० जनाभन्दा बढीको ज्यान गएको थियो । यो भाइरसबाट संक्रमितको संख्या पनि ५८०० नाघिसकेको छ । इटालीको लोम्बार्डीको पुरै उत्तरी क्षेत्र र इटालीको वित्तीय केन्द्र मानिएको मिलानमा आपतकालीन सेवा बाहेक सबै पहुँच बन्द गरिएको छ ।  त्यहाँ मात्र एक करोड मानिसको बसोवास छ । त्यसका साथै भेनिस, पर्मा र मोडेनामा पनि यसमा समावेश गरिएको छ ।

    जसको कारण यसबाट समग्रमा १ करोड ६० लाख मानिस प्रभावित हुनेछन् । अहिलेसम्म उत्तरी इटालीमा ५० हजार मानिस क्वारेन्टाइनबाट प्रभावित बनेका छन् । यो व्यवस्था लागु भएसँगै इटालीमा रेस्टुरेन्ट र क्याफे पनि खुला त रहनेछन् तर ग्राहकहरु कम्तीमा एक मिटरको दूरीमा बस्नुपर्नेछ । सरकारले मानिसहरुलाई आफ्नै घरमा मात्र बस्न सुझाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ