• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    कोरोना भाइरसबारे पहिले नै गरिएको थियो यस्तो भविष्यवाणी, नयाँ खुलासाले विश्वभर हलचल

    3.7K
    SHARES

    काठमाडौँ । करिब आधा विश्वमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) का बारेमा के पहिले नै भविष्यवाणी गरिएको थियो ? साहित्यकारहरुले विभिन्न रोग तथा महामारीहरुको बारेमा आफ्ना कृतिमा समावेश गर्दै आएका छन् । चाहे त्यो आदिमकालमा लेखिएका साहित्य हुन् वा उत्तरआधुनिक कालमा । कतै न कतै भविष्यमा हुने खतरा र महामारीको प्रसंग कोट्याइएको भेटिन्छ ।

    त्यसो भए के साहित्यरकारहरुले केही वर्षअघि नै अहिले महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबारेमा भविष्यवाणी गरेका थिए त? पछिल्लो समय सामाजिक सञ्जालमा केही वर्षअघि नै लेखिएको उपन्यासमा लेखिएझैँ नै अहिले चीनको वुहानबाट भाइरसको संक्रमण फैलिएको दाबी गरिएको छ। यहाँ ती दुई उपन्यासमा प्रस्तुत गरिएका भाइरस र अहिले देखिएको भाइरसमा समानता छ/छैन भन्नेबारे अहिले सामाजिक सञ्जालमा बहस चलेको छ।

    धेरैजसो समाचार पोर्टल र सामाजिक सञ्जालमा दुई लेखकले आफ्नो कृतिमा दशकअघि नै कोभिड–१९ महामारीको भविष्यवाणी गरेको दाबी गरेका छन्। पहिलो पुस्तक हो, सन् १९८१ मा अमेरिकी उपन्यासकार डिन कुन्जद्वारा लिखित साइन्स फिक्सन ‘द आइज अफ् डार्कनेस’। उपन्यासमा काल्पनिक रुपमा एउटा बायोलोजिकल विपन(जैविक हतियार) को चर्चा गरिएको छ। उपन्यासमा उक्त मानवनिर्मित भाइरसलाई ‘वुहान–४००’ नाम दिइएको छ। उपन्यासमा मानिसलाई मार्ने उद्देश्यले बनाइएको भनिएको उक्त भाइरसले अन्जानमै बालबालिकाको भने मानसिक क्षमताको वृद्धि गराइदिन्छ।

    वुहानबाट सुरु भएको भाइरसलाई प्राविधिक रुपमा ‘सार्स–कोभ–२’ नाम दिइए पनि अहिले कोभिड–१९ (कोरोना भाइरस डिजिज २०१९) ले चिनिन्छ। अहिले फैलिएको भाइरस र उपन्यासमा चर्चा गरिएको भाइरसबीच समानता भनेको चिनियाँ सहर वुहान मात्रै हो। तर यसको सुरुवातका बारेमा भने समानता पाइँदैन। उपन्यासमा प्रस्तुत गरिएको काल्पनिक रोग वुहान सहरबाहिर रहेको प्रयोगशालामा तयार पारिन्छ। तर अहिले देखिएको भाइरस भने वुहान सहरबाटै सुरु भएको मानिएको छ। र अर्को कुरा, अहिलेसम्म यो भाइरस कृत्रिम रुपमा तयार पारिएको भन्ने कुनै प्रमाण फेला पारिएको छैन।

    उपन्यासको वुहान–४०० र कोभिड–१९ मा अर्को पनि भिन्नता रहेको छ। उपन्यासमा यो भाइरसको संक्रमणपछि कोही पनि २४ घण्टाभन्दा बढी नबाँच्ने भनिएको छ। यो हिसाबमा यो रोगको मृत्युदर शतप्रतिशत पक्का हो भन्ने देखिन्छ। अहिले देखिएको भाइरसमा भने त्यो कुरा लागू हुँदैन। विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ को मृत्युदर ३.४ प्रतिशत मात्रै हो।

    उपन्यासमा प्रस्तुत गरिएको भाइरस मान्छेमा मात्रै संक्रमण हुने र अन्य पशुपन्छीमा नहुने उल्लेख छ। तर कोभिड–१९ चमेरो हुँदै समुद्री जीवजन्तुबाट मान्छेमा सरेकोआँकलन गरिएको छ। कोभिड–१९ मुख्यतया श्वासप्रश्वाससम्बन्धी रोग हो। तर उपन्यासमा भने भाइरसले सिधै मस्तिष्कमा आक्रमण गर्ने उल्लेख छ। यसले मस्तिष्कको कोषलाई ब्याट्रीमा प्रयोग गरिने एसिडले एकदमै नरम कपडा (चीजक्लथ) लाई नष्ट गरेझैँ समाप्त पार्ने उपन्यासकारले कल्पना गरेका छन्।

    तर यसमा छुटाउनै नहुने कुराचाहिँ ‘आइज अफ् डार्कनेस’ को पहिलो संस्करणको सन्दर्भ हो। सन् १९८१ प्रकाशित कुन्जको उपन्यासमा ‘वुहान–४००’ भाइरस नै उल्लेख नभएको साउथ चाइना मोर्निङ पोस्टमा केट ह्वाइटहेडले दाबी गरेकी छिन्। पहिलो संस्करणमा उपन्यासकारले भाइरसको निर्माण तत्कालीन सोभियत संघको गोर्कीमा भएको उल्लेख गरेका छन्। गोर्की रुसको सानो गाउँ हो।

    पहिलो संस्करणमा गोर्की–४०० भाइरस को चर्चा गरिएको छ। जसमा रुसी वैज्ञानिक इल्या पोपारोपवले गोर्की–४०० नामक जैविक हतियार बोकेर अमेरिका प्रवेश गरेको कुरा उल्लेख छ। उपन्यासमा लेखिएको छ, ‘…रुसी नागरिकले उक्त जैविक हतियारलाई गोर्की–४०० भन्ने गर्छन्। किनभने त्यो गोर्कीभन्दा बाहिरको ‘आरडीएनए’ ल्याबमा तयार पारिएको हो। यो अनुसन्धान केन्द्रमा तयार पारिएको मानवनिर्मित ४००औं सूक्ष्म जीव हो।’

    अमेरिका र तत्कालीन सोभियत संघबीच शीतयुद्ध चलिरहेका बेला उपन्यास लेखिएकाले उपन्यासकारले रुसले जैविक हतियार बनाउन सक्ने भन्दै उपन्यास लेखेको हुन सक्ने समीक्षक बताउँछन्। तर सोभियत संघको पतनपछि उपन्यासकारले उपन्यासको पुनर्लेखन गरेका हुन्। प्रकाशकको आग्रहमा वा आफैंले उपन्यासमा केही पात्र र कथावस्तु परिवर्तन गरे भन्नेबारे केही स्पष्ट छैन। साउथ चाइना मोर्निङ पोस्टले यसबारे उपन्यासकार र प्रकाशकसँग बुझ्ने प्रयास गरे पनि जवाफ नआएको बताएको छ।

    तर सन् १९८९ मा हार्डकभरमा पुनः प्रकाशित उपन्यासमा गोर्की–४०० को ठाउँमा वुहान–४०० भाइरस उल्लेख गरिएको छ। त्यस्तै रुसी वैज्ञानिक इल्या पोपारोपोवलाई चिनियाँ वैज्ञानिक ली चेन बनाइएको छ। उपन्यासमा गोर्कीलाई वुहान र इल्यालाई ली बनाउने काम बाहेक खासै अरु परिवर्तन गरिएको छैन। हङकङमा रहेको ब्लिक हाउस बुक्सकी संस्थापक जेनी स्मिथ सन् १९८६ बाट रुस र अमेरिकाबीच सम्बन्ध सुधार हुँदै गएपछि उपन्यासका पात्र र कथावस्तु परिवर्तन गरिएको हुन सक्ने बताउँछिन्। पछिल्लो विश्व राजनीतिक वातावरणअनुसार रुसलाई खलनायक बनाइराख्न उपयुक्त नहुने देखेर उपन्यासमा चीनलाई प्रस्तुत गरिएको स्मिथको बुझाइ छ।

    त्यतिबेलाका शक्ति राष्ट्र फ्रान्स, बेलायत, जापानलगायतका मुलुकहरु अमेरिकाका ‘असल मित्र’ भएको र चीनसँगको सम्बन्ध राम्रो थिएन। त्यसैले पनि चीनलाई शंकाको दृष्टिकोणमा त्यसरी प्रस्तुत गरिएको हुन सक्ने स्मिथले साउथ चाइना मोर्निङ पोस्टसँगको कुराकानीमा बताएकी छिन्। साथै सन् १९८९ को तियानमेन स्क्वायरको घटनापछि विभिन्न मुलुकहरुले जैविक हतियारको उत्पादनलगायतका हल्लाहरु चलेकाले पनि उपन्यासमा ठाउँ र नाउँ परिवर्तन गरिएको धेरैजसोको बुझाइ छ।

    त्यस्तै कोरोना भाइरससँग जोडेर हेरिएको अर्को उपन्यास हो, सिल्भिया ब्राउनद्वारा सन् २००८ मा लिखित ‘इन्ड अफ् डेज : प्रेडिक्सन एन्ड प्रोफेसिज अबाउट द इन्ड अफ द् वर्ल्ड’। उपन्यासमा लेखिएको छ, ‘सन् २०२० तिर निमोनियाजस्तै गम्भीर रोग विश्वव्यापी रुपमा फैलिनेछ। जसले फोक्सो र श्वासनलीमा आक्रमण गर्नेछ। जसको उपचार सम्भव छैन।’ उपेन्द्रराज पाण्डेयले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

    प्रतिक्रिया