• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कोरियामा कोरोनाको संक्रमण ह्वात्तै बढेपछि दूतावासले नेपालीहरुलाई गर्यो यस्तो विशेष अपिल

    2.6K
    SHARES

    काठमाडौं । दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै सियोलस्थित नेपाली दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका बेला त्यहाँस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको हो ।

    विज्ञप्तिमा कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ । चीनको हुवे प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस दक्षिण कोरियामा पनि देखापरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबारसम्ममा यहाँका चार सय बढी मानिस संक्रमित बनेका छन् ।

    संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेको बताइएको छ । दूतावासले यो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

    ‘सम्बद्ध निकायबाट हुँदै आएका नियन्त्रण र रोकथामका सशक्त प्रयासका बाबजुद दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको प्रति हामी अझै बढी सजग र सचेत हुन जरुरी छ,’ दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।

    दूतावासले कोरोना संक्रमणको शंका लागेमा सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच गर्न पनि नेपालीहरूलाई सुझाएको छ । अवैध रूपमा रहेका कामदारलाई पनि कोरिया सरकारले केही नगर्ने सहमति गरेकाले उपचारका लागि अस्पताल जान दूतावासले आग्रह गरेको छ ।

    कोरोना भाइरस अर्थात कोभिड – १९ को प्रभाव चीनमा कम हुँदै गएको बताइरहँदा चीन बाहिर यसले महामारीको रुप लिएको छ । दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दोब्बर बढेको छ भने इटालीमा समेत ७९ जनामा कोरोनाको संक्रमण देखिएपछि आवातजावत नै बन्दको घोषणा गरिएको छ ।

    कोरोना भाइरसकै कारणा दुई जना इटालीयन नागरिकहरूको ज्यान गइसकेको छ । प्रकोप फैलने त्रासले इटालीका उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका १२ वटा शहरहरूमा आवातजावत नै प्रतिबन्ध लगाइएको छ ।

    कोभिड-१९ का बिरामीहरू बढ्दै गएपछि शनिवार रातीदेखि नै आपतकाल योजना अन्तरगत एक दर्जन शहरहरु क्वारन्टीनको अवस्थामा राखिने निर्णले इटालीका प्रधानमन्त्री जुजेपे कोन्टेले बताएका छन् । तत्काललाई आवातजावतमा नै प्रतिबन्ध लगाएपछि करिव ५० हजार मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन् । कोरोनाकै त्रास फैलिएपछि इटालियन सिरिएका तीन वटा खेलसमेत रद्द भएका छन ।

    दक्षिण कोरियामा संक्रमितको संख्या दोब्बरले बृद्धि
    दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दोब्बरले बढेको छ । शुक्रवार यता अरु २ सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएपछि संक्रमितको संख्या ४ सय ३३ पुगेको छ । चेओङ्डोको एक धार्मिक समूहका सदस्यहरुमा पनि कोरोनाको संक्रमण भएको आशंका गरिएको छ । उनिहरुमा कोरोनाकै संक्रमण भएको पुष्टि भएमा अरु ९ हजार जना कोरोना संक्रमित एकै पटक थपिनेछन् ।

    दक्षिण कोरियामा पनि कोरोनाका कारण अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या बढेसँगै जोखिम बढेको छ । चीनमा झण्डै दुई महिनादेखि महामारी नियन्त्रणमा नआइरहेका बेला अस्वभाविक रुपमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएपछि दक्षिण कोरियाका स्वास्थ्य उपमन्त्री किम गाङ-लिपले कोरोनाभाइरस प्रकोप एउटा गम्भीर चरणमा प्रवेश गरेको टिप्पणी गरेका छन्।

    अधिकांश कोरोना संक्रमितहरु डाएगु र नजिकै अवस्थित चेओङ्डो क्षेत्रमा रहेकाले उक्त क्षेत्रलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ । डाएगुमा क्षेत्रमा आवातजावत नै बन्द भएपछि सडक सुनसान देखिएको छ ।

    कतिपय सैनिकहरूमा पनि कोरोना भाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित क्षेत्रमा मात्र सीमित गरेको बीबीसीले जनाएको छ। कोरोना भाइरसको संक्रमण फैलिए यता चीनमा २३ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजार २८८ जना संक्रमित भएका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार चीनबाहिर २६ देशमा १२ सय जना भन्दा बढीमा सङ्क्रमण भएको छ भने आठ जनाको मृत्यु भइसकेको छ ।

    जापानको तटनजिकै क्वारन्टीनमा राखिएको एउटा पानीजहाजमा ६०० जनालाई पनि सङ्क्रमण भएको पुष्टि भएको छ । ४० जना अमेरिकी नागरिमा पनि कोरोनाको पुष्टि भएपछि जापानमा नै उपचारारत छन । कोरोनाको महामारी फैलिएपछि यसअघि स्वास्थ्य आपतकाल घोषणा गरेको डब्लूएचओले चीनसँग स्पष्ट सम्बन्ध नभएकामा पनि कोरोनाभाइरस सङ्क्रमणका घटनाको सङ्ख्या बढ्न थालेपछि चिन्ता जाहेर गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ