• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    चीनबाट आयो बिश्वलाई स्तब्ध बनाउने यस्तो खबर, लाखौ मानिसले गरे शोक व्यक्त

    23.9K
    SHARES

    काठमाडाैं । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित चीनको वुहान शहरमा रहेको अस्पतालका निर्देशक आफैं महामारीको शिकार भएकाे खबर धेरैलाई स्तब्ध बनेको छ । चीनको सरकारी टेलिभिजनका अनुसार वुहानको वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङको मृत्यु भएको हो । उनको स्थानीय समयअनुसार मंगलबार साढे १० बजे कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको हो ।

    उनको मृत्युको खबर सार्वजनिक हुनुअगावै चीनका सामाजिक सञ्जालमा उनको अवस्थालाई लिएर हल्लाखल्ला फैलिएको थियो । वुहान शहर रहेको हुबेई प्रान्तमा स्वास्थ्य विभाग अन्तर्गत सत्तारुढ कम्युनिस्ट पार्टीको प्रोपागाण्डा विभागले सोमबार अबेर नै लिउको मृत्यु भइसकेको जनाएको थियो ।

    त्यसलगत्तै सार्वजनिक अर्को सूचनामा लिउको परिवारका अनुसार उनी जीवितै रहेको र चिकित्सकहरुले उनको उपचार गर्न सक्दो प्रयास गरिरहेको उल्लेख गरिएको थियो । चिनियाँ सञ्चारमाध्यमले आधिकारिक रुपमा उनको मंगलबार बिहान मात्रै मृत्यु भएको खुलासा गरेका हुन् । उनकाे निधनले विश्वलाई स्तब्ध बनाएको छ भने लाखौ मानिसले उनीप्रति शोक व्यक्त गरेका छन् ।

    यसअघि कोरोना भाइरसबारे सर्वप्रथम जानकारी दिने नेत्ररोग विशेषज्ञ डा. ली वेनलियाङको यही महिनाको शुरुमा कोरोना भाइरसकै कारण मृत्यु भएपछि आक्रोशसहित लाखौं मानिसले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

    कोरोना भाइरसबारे अर्को नयाँ तथ्य सार्वजनिक
    चीनमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित धेरैजसो मानिसहरूमा हल्का प्रकारका सङ्क्रमणका लक्षण भेटिएको चिनियाँ अन्वेषकहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसको सङ्क्रमणको जोखिम प्राय वृद्ध विरामीहरू र कमजोर स्वास्थ्य अवस्था भएका मानिसहरूलाई रहने गरेको पाइएको उनीहरूले बताएका छन् ।

    गत वर्ष मध्य चीनको ऊहान शहरमा देखा परेकोले कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका एक हजार ९०० व्यक्तिको मृत्यु भएको र अहिलेसम्म चीनमा करिब ७२ हजार व्यक्तिमा यसको सङ्क्रमण पुष्टि भएको छ ।

    चिनियाँ सरूवा रोग विशेष एक जर्नलमा प्रकाशित एक आलेखमा सङ्क्रमण पुष्टि भएका, आशङ्का गरिएका, चिकित्सकीय परामर्श लिएका ७२ हजार ३१४ व्यक्तिको रोगको प्रकृतिबारे फेब्रुअरी ११ तारिखसम्म गरिएको अनुसन्धानबाट गरिएको थियो । अधिकांश विरामीले आफूलाई कतिवेला सङ्क्रमण भयो भन्ने जानकारी नै नभएको तर लक्षणहरू देखा परेर अस्पताल पुग्दा समस्या जटिल भैसकेको भेटिएको जनाएका थिए ।

    यो डिसेम्बरमा प्रकोप शुरू भएको नयाँ कोरोना भाइरसका बिरामीहरूमा गरिएको सबैभन्दा ठूलो अध्ययन भएको चिनियाँ अधिकारीले बताएका छन् । यहाँ रोग नियन्त्रण तथा रोकथामका लागि चिनियाँ केन्द्र (सीसीडीसी)द्वारा गरिएको अध्ययनको रिपोर्टका अनुसार वृद्ध र कमजोर स्वास्थ्य भएका बिरामीमा यसको सङ्क्रमण धेरै देखिएको छ ।

    अध्ययनले ८०.९ प्रतिशत सङ्क्रमणलाई हल्का, १३.८ प्रतिशत समस्यालाई गम्भीर र ४.७ प्रतिशतलाई उच्च खतरायुक्त जोखिमका रूपमा वर्गीकृत गरिएको छ । सङ्क्रमणबाट सबैभन्दा बढी ८० वर्ष र त्योभन्दा माथिको उमेर समूहका वृद्धवृद्धाको मृत्यु भएको बताइएको छ । यो उमेर समूहका नागरिकको मृत्यु कोरोना भाइरसबाट सङ्क्रमित कूल प्रतिशतको १४.४ प्रतिशत रहेको जनाइएको छ ।

    अध्ययन अनुसार मुटुसम्बन्धी बिरामीहरू नयाँ कोरोना भाइरसको जटिलताबाट मर्ने सम्भावना धेरै भेटिएको छ भने मधुमेह, दीर्घ श्वास रोग र उच्च रक्तचापका बिरामीहरूमा पनि जोखिम उच्च देखिएको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेमा नौ वर्षभन्दा तलका बालबालिका नरहेको भेटिएको छ । तर दुई शिशुमा उनीहरूको आमाबाट सङ्क्रमण भएको थियो ।

    त्यस्तै नौ देखि ३९ वर्ष उमेर समूहका नागरिकमा सङ्क्रमणको प्रतिशत ०.२ रहेको उल्लेख छ । सङ्क्रमणको जोखिम उमेरले जति पाको भयो त्यति बढी भेटिएको छ । नयाँ कोरोना भाइरसको सङ्क्रमण ४० देखि ५० वर्ष उमेर समूहमा ०.४ प्रतिशत, ५० देखि ६० वर्षमा १.३ र ६० देखि ७० वर्षमा ३.६ प्रतिशत र ७० देखि ८० वर्षका नागरिकमा ८.० प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

    सङ्क्रमणका कारण मृत्यु हुनेमा अध्ययनका लागि नमूना बनाइएका कूल विरामीको २.८ प्रतिशत पुरूष र १.७ प्रतिशत महिला रहेका छन् । भाइरसका कारण समग्रमा मृत्यु दर २.३ प्रतिशत रहेको छ । सङ्क्रमित व्यक्तिको ८६ प्रतिशत व्यक्ति कि त वुहानका वासिन्दा रहेको वा ऊहान भ्रमण गरेका भेटिएको छ ।

    ऊहानको जङ्गली जनावरको मासु बेच्ने ‘सीफुड’ बजार नै समस्याको मुख्य कारण भएको बताइएको छ । समस्या उत्पन्न भएको भनिएको चीनको मध्यक्षेत्रको हुबेई प्रान्तको राजधानी र वरपरका क्षेत्रलाई जनवरी २३ गतेदेखि अन्य क्षेत्रको प्रत्यक्ष सम्पर्कबाट अवरूद्ध बनाइएको छ ।

    रिपोर्टमा कूल तीन हजार १९ जना स्वास्थ्यकर्मीहरूको लक्षणका आधारमा सङ्क्रमण परीक्षण भएको र यसमध्ये एक हजार ७१६ जनामा सङ्क्रमण पुष्टि भएको छ । फेब्रुअरी ११ सम्ममा पाँच जना स्वास्थ्यकर्मीको मृत्यु भएको थियो भने मङ्गलबार ऊहानमा रहेको एक अस्पतालका निर्देशकको मृत्यु भएको छ ।

    तथ्यांकअनुसार स्वास्थ्यकर्मीमध्ये एक हजार ६८८ लाई गम्भीर खालको सङ्क्रमण देखिएको छ भने उनीहरूमध्ये अधिकांश अर्थात् ६४ प्रतिशत स्वास्थ्यकर्मी वुहानमा कार्यरत हुन् । तर सङ्क्रमित स्वास्थ्यकर्मीको सङ्ख्या जनवरी २८ मा ३८.९ प्रतिशत पुगेकोमा फेब्रुअरीको पहिलो सातामा नै १२.७ प्रतिशत झरेको थियो ।

    ऊहानका एक आँखा रोग विशेषज्ञ लि वेनलियाङलाई भाइरसबारे बाहिरी बजारमा हल्ला फैलाएको भन्दै ‘अधिकारीले सजाय दिएका कारण’ मृत्यु भएको भन्ने पश्चिमी मुलुकका कतिपय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । लि वेनलियाङलाई पनि कोरोनाको सङ्क्रमणका कारण उपचार हुँदै गर्दा मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन् ।

    रोको प्रकोप जनवरी २४ देखि २६ सम्ममा उच्च विन्दुमा पुगेको तर पछिल्ला दिनहरूमा क्रमशः घट्दै गएको चिनियाँ अध्ययन प्रतिवेदनमा उल्लेख छ । नयाँ रोगी आउने क्रम फेब्रुअरी ११ पछि घट्दो क्रममा रहेको छ ।

    नयाँ वर्ष मनाउन लाखौँ चिनियाँहरू घर फर्केका कारण भाइरस देशभर फैलिएको थियो । विज्ञहरूले धेरै मानिसहरू बिदाबाट फर्किदा देशले ‘महामारीको सम्भावित पलटाव’ को लागि तयारी गर्नुपर्ने चेतावनी दिएका छन् । कोरोनाभाइरसले ‘समय बित्दै जाँदा अझ बढी विषालु बन्न सक्छ’ भन्ने रिपोर्टले चेताउनी दिन्छ र डाक्टरहरुलाई ‘सतर्क रहन’ आग्रह गर्दछ ।

    यसैबीच कोरोना भाइरसको महामारी नियन्त्रण गर्न अनेक प्रयास गरिरहेको चीन सरकारले यसको उद्गमस्थल वुहानको नेतृत्व परिवर्तन गरेको छ। मध्य चीनको हुपेई प्रान्तको राजधानी वुहानका चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख मा गुओकियाङलाई पदमुक्त गरि वाङ झोङलिनलाई नयाँ प्रमुख बनाएर पठाइएको हो।

    चीनको राजनीतिक प्रणाली अनुसार कम्युनिष्ट पार्टीको प्रमुख स्थानीय सरकार प्रमुखभन्दा शक्तिशाली हुन्छन् र सम्पूर्ण नेतृत्व उनकै कमाण्डमा सञ्चालन हुन्छ। वुहानका यसअघिका पार्टी प्रमुख मा कोरोना भाइरस नियन्त्रण गर्न असफल भएकाले नेतृत्व परिवर्तन गर्नु पर्ने माग भइरहेको थियो।

    सी चिनफिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले वुहानको नेतृत्व परिवर्तन गरि वाङलाई नयाँ जिम्मेवारी दिएको पार्टी निकट ग्लोबल टाइम्स अनलाइनले जनाएको छ। केही दिनअघि राष्ट्रपति सी आफै संक्रमितहरूको उपचार भइरहेका अस्पताल भ्रमण गरेका थिए।

    चीन सरकार र पार्टीले यो महामारी नियन्त्रणका लागि प्रधानमन्त्री ली खछ्याङको नेतृत्वमा टोली परिचालन गरेको छ। ली पार्टीमा सीपछिका उच्च नेता हुन्। हुपेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरस फैलिने क्रम जारी रहँदा यसले विश्वव्यापी महामारी निम्त्याउने चिन्ता बढिरहेको छ।

    हिँडडुलमा प्रतिबन्ध, निजी कारको प्रयोग पनि अनिश्चितकालका लागि बन्द
    कोभिड-१९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबेई प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ । आपत् परेको बेलाबाहेक ६ करोड मानिसलाई घरबाहिर ननिस्कन भनिएको छ भने निजी कारको प्रयोगमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।

    हाउजिङहरूको एउटा प्रवेशद्वार खुला राखिनेछ। त्यहाँ बस्ने मानिसहरूले मात्रै आउजाउ गर्ने कुरा सुनिश्चित गर्नका लागि सुरक्षा निगरानी गरिनेछ । औषधि पसल, होटल, खानेकुरा विक्री हुने पसल र चिकित्सकीय सेवाबाहेक अरू सबै कारोबार बन्द रहनेछन् । अत्यावश्यकीय सामान ओसारपसारमा प्रयोग हुने कारलाई चाहिँ गुड्न छुट दिइनेछ ।

    यसैबीच अधिकारीहरूले राजधानी बेइजिङ फर्किने सबै मानिसलाई १४ दिनसम्म क्वारन्टीनमा बस्न अथवा दण्ड भोग्न चेतावनी दिएका छन्। नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिने प्रयासस्वरूप चीनको केन्द्रीय ब्याङ्कले बजारमा नोटहरू पठाउनुअघि भाइरसमुक्त बनाउन निर्मलीकरण गर्नेछ तथा प्रयोग भइसकेका नोट भण्डारण गर्नेछ ।

    हुबेई प्रान्त र त्यसको राजधानी वुहान नयाँ कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित भएका छन् । चीनमा फैलिएकाे कोरोना भाइरसको संक्रमण ४० जना अमेरिकी नागरिकमामा पनि देखिएको छ । डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकी मध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरोनाको संक्रमण देखिएपछि उनिहरुलाई जापानमै राखेर उपचार सुरु भएको छ । बाँकी ३ सय ६० जना अमेरिकी भने स्वदेश फर्किरहेका छन ।

    उनिहरुलाई दुई वटा चार्टर विमानमार्फत अमेरिका लगिएको बीबीसीले जनाएको छ । करिब ३ हजार ७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारन्टीनमा राखिएको थियो । उक्त पानीजहाजबाट हङ्‌कङमा ओर्लेका एक व्यक्ति नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएपछि पानीजहाजलाई क्वारन्टीनमा राखिएको थियो।

    प्रतिक्रिया