• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    विजयकुमार गच्छदारलाई आइलाग्यो अर्को तनाव, पक्राउ गर्ने प्रहरीको तयारी

    22.7K
    SHARES

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा ललिता निवास प्रकरणका आरोपितविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । आइतबार सीआईबीले गृहमन्त्रालयको जाहेरी अनुसार औपचारिक रुपमा मुद्दा दर्ता गरेको हो । यससँगै सीआईबीलाई आरोपित बनाइएलाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाउने बाटो खुलेको छ । त्यसकारण पनि उपप्रधामन्त्री विजयकुमार गच्छदारहितका आरोपितलाई पक्राउ गर्ने तयारी प्रहरीले थालेको छ ।

    केहीदिन अघि उक्त प्रकरणका आरोपित विरुद्ध गृह मन्त्रालय अन्तरगतको समरजंग कम्पनीले जग्गा हडप्ने र व्यक्तिका नाममा लालपूर्जा बनाउन भूमिका खेल्ने पूर्व उपप्रधामन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री, ३ पूर्वसिचवसहित १७२ जना माथि मुलुकी ऐन, २०२० र मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार ठगी र किर्तेको अभियोगमा किटानी जाहेरी दिएको थियो । ललिता निवासको जग्गा सूवर्ण शम्सेर तथा उनका आफन्ताबाट २०२१ सालमा सरकारले मुआब्जा दिएर गृह मन्त्रालयको सरकारी कार्यालय समरजंग कम्पनीको रेखदेख र स्वामित्वमा रहने गरी कायम गरेको थियो ।

    जग्गा हत्याउन २०४९ सालमा ४८ जना, २०६१ मा २१ जना, २०६६ मा ६६ जना र २०६९ मा ३७ गरी १७२ जनाले किर्ते र ठगी गरेको भन्दै सीआईबीले आरोपितमाथि मुद्दा चलाउनुपर्ने राय गृहलाई दिएको थियो । जाहेरीअनुसार आरोपितहरू अदालतबाट दोषी ठहरिए १० वर्षसम्म कैद, हिनामिना भएको सम्पत्ति जफत, त्यहीबमोजिम बिगो खुले बिगो बराबर जरिवाना हुन सक्छ ।

    ललिता निवासको १३६ रोपनी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते गच्छदारसहित ११० जनालाई बिगो र कैद तथा ६५ जनाविरुद्ध जग्गा फिर्ताको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिसकेको छ ।

    त्यही प्रकरणमा सीआईबीले गच्छदारसहित पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, छविराज पन्त, पूर्वराज्यमन्त्री सञ्जयकुमार साह, अख्तियार प्रमुखबाट अवकाशप्राप्त पूर्वसचिव दीपबहादुर बस्न्यात, तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारीसहित १७२ जनालाई कसुरदार देखाउँदै मुद्दा चलाउन सिफारिस गरेको थियो । गच्छदारलगायतका पक्राउ गर्न प्रहरीले माथिको आदेश कुरिरहेको स्रोतले बतायो ।

    के भन्छन गच्छदार ?

    उपसभापति विजयकुमार गच्छदारले आफूमाथि राजनीतिक प्रतिशोधले झूटा मुद्दा लगाइएको बताएका छन्। गच्छदारले मुद्दा दर्ता हुने सुइँको पाएपछि राष्ट्रपति, प्रधानमन्त्री, पार्टी सभापति शेरबहादुर देउवा, सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरे पनि आखिरमा मुद्दा दर्ता गरिएको गुनासो गरे।

    आफूमाथि अख्तियारले राजनीतिक प्रतिशोध साँधेर मुद्दा लगाएको र यो कांग्रेसमाथिको आक्रमण भएको पनि गच्छदारले बताएका थिए। मुद्दा दर्तापछि आफ्नो पक्षमा पार्टीले सदन अवरूद्ध र सडकमा आन्दोलन गरेकोमा धन्यवाद पनि दिए। बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा सरकारी जग्गा नक्कली मोही खडा गरी व्यक्तिका नाममा सारिएको प्रकरणमा दोषी रहेको भन्दै गच्छदारमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

    गत सोमबार काँग्रेस केन्द्रीय समितिको बैठक गच्छदारकै कुरा सुनेर सकिएको थियो। गच्छदारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पटकपटक आग्रह गरेअनुसार आफूले बालुवाटार बाटो फराकिलो र व्यवस्थित गर्न प्रस्ताव लगेको केन्द्रीय समिति बैठकमा बताएका हुन्।

    ‘सरकारी जग्गा व्यक्तिका नाममा सार्न मोही खडा गर्ने, लालपूर्जासमेत बनाउन चलखेल गर्ने काम मैले गरेको होइन। ममाथि कांग्रेस भएकै आधारमा राजनीतिक प्रतिशोधले झूटा मुद्दा लगाइएको हो, मलाई फसाइएको छ, म दोषी होइन,’ गच्छदारले बैठकमा राखेका कुरा उद्धृत गर्दै एक केन्द्रीय समिति सदस्यले भने।

    यसपछि गच्छदारले आफूमाथि मुद्दा लागेपछि उच्च राजनीतिक भेटघाट गरे पनि काम नलागेको बताए। ‘प्रधानमन्त्रीजीसँग ४५ मिनेट कुराकानी गरें। उहाँले केही बोल्नुभएन मेरा कुरा सुनिरहनुभयो। पछि मुद्दा दर्ता गरेपछि लाग्यो- कतै योजनावद्ध भएर उहाँ केही नबोल्नु पो भएको हो कि,’ गच्छदारले भनेका थिए।

    प्रधानमन्त्रीले कुनै जवाफ नदिएपछि उनी सभापति देउवा भेट्न पुगेको बताएका थिए। ‘सभापतिजीले फोन गरे पनि प्रधानमन्त्रीले केही भन्नुभएन। राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाउन पाइन्न अहिले रोक्नुस् भनेर सभापतिजीले त भन्नुभएकै हो,’ गच्छदारले केन्द्रीय समितिमा छ दिन अघिका कुरा सुनाए। गच्छदारले आफूमाथि भेदभावपूर्ण ढंगले मुद्दा लागे पनि आफ्नो राजनीति नसकिने बताएका थिए।

    कांग्रेसका ती केन्द्रीय सदस्यका अनुसार गच्छदारले, ‘म खुमबहादुरजीजस्तो मुद्दा लागेर सिद्धिन्न’ भनेका थिए। खड्कालाई २०५९ सालमा भ्रष्टाचार मुद्दा लागेको थियो। त्यसपछि उनी दोषी ठहर भएर जेल परे। दुई वर्षअघि उनको निधन भएको थियो। जेल बसेर निस्के पनि १३ औं महाधिवेशनमा खड्का केन्द्रीय सदस्य भएका थिए।

    उनले देशमा कम्युनिष्टले कांग्रेसमाथि छानीछानी आक्रमण गरेकोले कांग्रेस एक हुनुपर्ने पनि बताएका थिए। गच्छदारले करिब दुई घण्टा बोलेपछि केन्द्रीय सदस्य गगन थापाले बीचैमा प्रश्न उठाए। उनले आफ्नो क्षेत्राधिकार नै नभएको प्रस्ताव किन मन्त्रिपरिषदमा लगेको भन्ने प्रश्न गच्छदारमाथि राखे।

    ‘तपाईं निर्दोष हो/होइन अदालतले ठहर गर्ला,’ थापाले भनेका थिए, ‘आफ्नो मन्त्रालयबाहिरका प्रस्ताव किन कानुन मन्त्रालयको राय/सुझावविना मन्त्रिपरिषदमा लगेको हो तपाईंले नै फेस गर्नुपर्छ।’  त्यसपछि कांग्रेस केन्द्रीय समितिले गच्छदारमाथि अख्तियारले राजनीतिक प्रतिशोधपूर्ण तवरले मुद्दा लगाएको र कानुनी रूपमा सामना गर्ने बतायो। सरकारको प्रभाव र दबावमा गच्छदारमाथि मुद्दा लगाइएको कांग्रेसको भनाइ छ।

    ‘ललिता निवासको जग्गासम्बन्धी विषयमा अख्तियारले प्रस्तुत गरेको अभियोग पत्र आफैंमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त छ। यसले के प्रष्ट गर्दछ भने आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दबावमा मुद्दा दायर गरेको छ,’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘यो कार्य राजनीतिक पूर्वाग्रह र बदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ। यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रूपले प्रतिवाद गर्ने निर्णय गर्दछ। नेता विजयकुमार गच्छदार कानुनी रूपमा सामना गर्दै निर्दोष सावित हुनुहुनेछ भन्ने नेपाली कांग्रेसको विश्वास छ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ