• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विजयी भएलगत्तै नारायणकाजी श्रेष्ठले दिए यस्तो प्रतिक्रिया, ओली-प्रचण्ड नै दंग

    11.1K
    SHARES

    काठमाडौँ । राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भएपछि नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले अबको कार्यभार आर्थिक क्रान्ति सफल पार्नु रहेको बताएका छन् । बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याउदै विजयी बनेका हुन् ।

    उनका प्रतिद्वन्द्वी काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् । श्रेष्ठले १२१८ मतान्तरको फरकमा जितेका हुन् । त्यस्तै गण्डकी प्रदेशको महिला तर्फपनि नेकपाकै भगवती न्यौपाने विजयी बनेकी छन् । उनले ३३६६ मत प्राप्त गरेकी छन् । काँग्रेसकी विमला गौचनले २३४० मत पाएकी छन् ।

    विजयी बनेपछि छोटो प्रतिकृया दिदै श्रेष्ठले आर्थिक क्रान्तिको कार्यभार पूरा गर्न आफ्नोतर्फ र निर्वाचितहरुको तर्फबाट सवै प्रयत्न गर्ने बताएका छन् । उनले पार्टीको विचार, नीति र निर्देशनलाई केन्द्रविन्दुमा राखेर र देशको ऐतिहासिक पूरागर्ने गरी अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

    त्यस्तै प्रदेश १ बाट राष्ट्रियसभा सदस्यमा नेकपाकी इन्दिरा गौतम विजयी भएकी छन् । प्रदेश १ को महिलातर्फको सदस्यमा नेपाली कांग्रेसकी मीना पुलामी मगरलाई पराजित गर्दै गौतम विजयी भएकी हुन् । उनले ६ हजार ४ सय २२ मतभार पाएर विजयी भएकी हुन् । अन्य नतिजा केहीबेरमै आउने निर्वाचन आयोगले जनाएको छ ।

    यस्तै, गण्डकी प्रदेशमा पोखरास्थित जिल्ला निर्वाचन कार्यालय परिसर, प्रदेश ५ मा दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशमा दिपायलस्थित सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदान स्थल तोकिएको थियो ।

    निर्वाचन आयुक्त नरेन्द्र दाहालले बिहान १० बजेदेखि ४ बजेसम्म मतदान भएको जानकारी दिए । मतदानलगत्तै राजनीतिक दलहरूको सहमतिमा मत गणना सुरु भएको बताए ।

    ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभामा त्यसरी निर्वाचित ५६ र सरकारको सिफारिसमा एक जना महिलासहित राष्ट्रपतिबाट मनोनीत भएका तीन सदस्य छन् । तीमध्ये एक तिहाइ (१९ जना) को दुईवर्षे पदावधि आगामी फागुन २० मा सकिँदै छ । पदावधि सकिनेमा एक जना राष्ट्रपतिबाट मनोनीत रहेकाले सो ठाउँमा सोही प्रक्रियाबाट पदपूर्ति हुनेछ ।

    संवैधानिक व्यवस्थाअनुसार पहिलोपटक चुनिएका ५९ जनाको पदावधि गोला प्रथाबाट तय भएको हो । एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम छ । त्यसअनुसार राष्ट्रिय सभामा हाल रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसका १३ मध्ये ७, राजपाका २ मध्ये २ र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि सकिन लागेको हो ।

    अब निर्वाचित हुनेको पदावधि ६ वर्ष हुनेछ । उनीहरूले आगामी फागुन २१ गतेबाट जिम्मेवारी सम्हाल्नेछन् । राष्ट्रिय सभाका लागि प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ जनासमेत कुल मतदाताको संख्या २ हजार ५६ छ । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका मतदाताको मतभार १८ निर्धारित छ ।

    यसपटक प्रदेशगत रूपमा प्रत्येक क्लस्टरबाट एक/एक जना मात्रै चुनिने भएकाले बढी मत ल्याउने व्यक्तिले चुनाव जित्ने आयुक्त दाहालले बताए । एउटै क्लस्टरबाट एकभन्दा बढी व्यक्ति चुनिनुपर्ने अवस्थामा एकल संक्रमणीय विधिद्वारा मतगणना हुन्थ्यो । प्रदेश १ मा महिला, दलित र अन्य समूह गरी तीन सदस्यका लागि निर्वाचन हुँदै छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ