• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एमसीसीविरुद्ध नेपाल बन्द गर्ने विद्रोही नेकपाको घोषणा, ओली सरकारलाई दियो यस्तो कडा चेतावनी

    22.3K
    SHARES

    काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा प्रेस भए व्यापक संघर्षमा जाने चेतावनी दिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली र काँग्रेस र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले एमसीसी पारित गर्ने अड्डी लिएका बेला विद्रोही नेपाल कम्युनिष्ट पार्टीले त्यसो नगर्न चेतावनी दिएको हो ।

    एमसीसी प्रस्ताव सदनमा दर्ता गरिएको खण्डमा त्यसका विरुद्ध नेपाल बन्दसहित सङ्घर्षका थप कार्यक्रमहरू घोषणा गर्ने नेकपाले जनाएको छ । अमेरिकी सरकारको एमसीसी प्रस्तावले नेपाल सरकार र नेपालको कानुनका कतिपय पक्षलाई सुरुमै निषेध गरेको छ । त्यसप्रकारको राष्ट्रघाती प्रस्तावका विरुद्ध नेपाली जनता सडकमा उत्रिएका छन् । नेपाल कम्युनिस्ट पार्टीले ओली सरकारले एमसीसीका नाममा नेपाललाई अम्र्रिकी सैन्य अखडा बनाउन खोजेको भन्दै उक्त प्रस्ताव सदनमा प्रस्तुत गरिए तत्काल नेपाल बन्दसहित सङ्घर्ष घोषणा गर्ने जनाएको छ ।

    नेपाल बन्दलाई वैधानिक आन्दोलनको उच्च रूप मानिन्छ । नेपालका सबै पार्टी र संस्थाहरूले समयसमयमा त्यो रूपलाई प्रयोग गर्दै आएका छन् । नेपाल कम्युनिस्ट पार्टीले तेस्रो चरणको जनसङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । कालापानी क्षेत्रमा भारतको अतिक्रमण, एमसीसी प्रस्तावसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षामा नेकपा निरन्तर लड्दै आएको छ ।

    नेकपाले माघ १ गतेदेखि १५ गतेसम्म एमसीसी प्रस्तावका विरुद्ध सरकारी षड्यन्त्र र विकासे नाराभित्रको दलाल चरित्रको भन्डाफोर गर्ने बताएको छ भने माघ ५ गते सरकारलाई ज्ञापनपत्र बुझाएको छ । त्यसैगरी माघ १० गते काठमाडौँस्थित अमेरिकी दूतावास र माघ १२ गते संयुक्त राष्ट्रसङ्घको ललितपुर, हरिहर भवनस्थित सभाकै कार्यालयमा एमसीसी प्रस्तावका विरुद्ध ज्ञापनपत्र दिने भएको छ ।

    अमेरिकी दूतावासमार्फत अमेरिकी सरकारलाई आन्तरिक मामिलामा हस्तक्षेप नगर्न दबाब दिइनेछ भने संयुक्त राष्ट्रसङ्घलाई अमेरिकाले नेपालमा सैन्य हस्तक्षेपमार्फत अशान्ति र द्वन्द्व मच्चाउन गर्न खोजेकाले नेपालको स्वतन्त्रताका पक्षमा भूमिका निर्वाह गर्न ध्यानाकर्षण गरिने बताइएको छ ।

    नेपाल कम्युनिस्ट पार्टीले दुई साताव्यापी जनसङ्घर्षका कार्यक्रम पनि घोषणा गरेको छ । देशव्यापी रूपमा गिरफ्तार गरेर जेल र प्रहरी हिरासतमा राखिएका नेकपाका नेता–कार्यकर्ताको फोटोसहित माघ १० गते जुलुस प्रदर्शन गरिने भएको छ । विचार, नेतृत्व, भावना र कार्यदिशा स्थापित गर्ने नयाँ शैलीका रूपमा यसलाई हेरिएको छ ।

    माघ १६ गते जहानिया राणा सरकारले विसं १९९७ मा हत्या गरेका गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री (जोशी) को सम्मान तथा स्मरणमा देशव्यापी प्रभातफेरी गरिने भएको छ । यसप्रकारको कार्यक्रमले संयुक्त मोर्चाको विकासमा नयाँ शैली, मनोविज्ञान र विचारको विकास गर्न अनुकूलता पैदा गर्नसक्छ ।

    माघ १८ गते महँगी–आतङ्कविरुद्ध जुलुस प्रदर्शन गर्ने, माघ २० गते खुला सांस्कृतिक कार्यक्रम र माघ २५ गते कालापानी क्षेत्र अतिक्रमण, एमसीसी प्रस्ताव, ललिता निवासलगायत भ्रष्टाचार र श्वेतआतङ्कका विरुद्ध देशका सहरी क्षेत्रहरूमा गोष्ठी, अन्तरक्रिया, संवादमार्फत जनमत निर्माण गर्ने नेकपाले जनाएको छ ।

    हालै इराकी सरकारले अमेरिकी सेना फिर्ता पठाउने बताए पनि अमेरिकी सरकारले भने इराकमा ठुलो लगानी गरेका कारण फिर्ता नजाने बताएको छ । एमसीसीबिरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरु पनि बोलिरहेका छन् । नेकपा नेताहरु भीम रावल, माधव नेपाल, देव गुरुङ लगायतका नेताले एमसीसी पास गर्न नहुने पक्ष लिएका छन् ।

    तर ओलीले भने जुनसुकै हालतमा एमसीसी पास हुने बताएका छन् । उनले देउवासंग पनि यस विषयमा सल्लाह गरिसकेकोका छन् । ह्विप जारी गरेरै भए पनि एमसीसी पास गराउने योजना उनीहरुको छ ।

    यता नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले चीनलाई घेरा हाल्ने उद्देश्यमा अमेरिकाले मेलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ सम्झौत अगाडि सारेको बताएका छन् । वैद्यले शनिबार एक विज्ञप्ति जारी गरेर पूर्वी तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्वलाई जमाउन र चीनलाई घेरा हाल्न हिन्द प्रशान्त रणनीति अगाडि सारेको बताए ।

    “पूर्वी तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्वलाई अझै बलियो बनाउने र चीनलाई घेराहाल्ने हिन्द-प्रशान्त रणनीतिको हिस्साका रुपमा नेपालमा आफ्नो सैन्य अखडा निर्माणको आधार तयार पार्नका लागि अमेरिकी साम्राज्यवादले एमसीसीलाई अगाडि सारेको कुरा स्पष्ट छ” वैद्यको विज्ञप्तिमा भनिएको छ ।

    महासचिव वैद्यले विज्ञप्तिमा आर्थिक अनुदान भन्ने भ्रम दिएर एमसीसीलाई संसदबाट पारित गरेर अमेरिकी सैन्य योजनालाई सफल पार्न सत्तापक्ष र प्रतिपक्ष लागिरहेको भन्दै विरोध जनाएका छन् । वैद्यले विज्ञप्तिमा भनेका छन्, “नेपाली जनतालाई ठूलो आर्थिक अनुदानको भ्रममा पारी सत्तापक्ष र प्रतिपक्ष दुबैले एमसीसीलाई संसदबाट अनुमोदन गराएर अमेरिकी सैन्य योजनालाई सफल पार्न जोड दिइराखेका छन् । यस प्रकारको स्थितिको गंभीरतालाई आत्मसात गरी हाम्रो पार्टीले एउटा सार्वभौम मुलुकमाथि सैन्य अखडा निर्माणगर्ने अमेरिकी साम्राज्यवादी योजनाको कडा विरोध गर्दछ ।”

    उनले एमसीसीलाई संसदबाट अनुमोदन गराउन खोज्नेहरु दलाल भन्दै राष्ट्रघाती कार्य भनेका छन् । एमसीसी पक्षमा बोल्नेहरुलाई वैद्यले राष्ट्रिय आत्मसपर्णवादी भन्दै त्यस्तो योजना सफल हुन नदिन अपील समेत गरे । उनले अ‍ेरिकाकी योजना सफल हुन नदिन सम्पूर्ण देशभक्तहरुलाई एकतावद्धा हुन आह्वान गरे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ