• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एकाबिहानै मौसम सम्बन्धि फेरी आयो यस्तो अपडेट, काठमाडौंमा आज पानी पर्छ कि पर्दैन ?

    15.2K
    SHARES

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम हुँदै छ । यसैको प्रभावले मौसममा क्रमिक रुपमा सुधार हुँदै गईहेको जानकारी दिएको छ । अहिले (शनिबार बिहान)देशभर आंशिक देखि सामान्य बदली भई केही स्थानमा वर्षा र हिमपात भईरहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।

    काठमडौं उपत्यकालगायत देशका अधिकंश स्थानमा बिहीबार साँझदेखि वर्षा भएको थियो । गएरातिदेखि वर्षा रोकिएको छ । वर्षा रोकिएसँगै काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेको हो ।  मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमको पुर्वानुमान यस्तो छ :

    माघ ४ गते शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी तथा तराई भूभागका केही स्थानमा हल्का वर्षा हुने देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुनेछ । त्यस्तै राति भने देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली भई पहाडी भूभागका केही स्थानमा हल्का बर्षा हुनेछ ।

    माघ ५ गते आइतबार भने बिहानदेखि रातिसम्म देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ । त्यस्तै माघ ६ गते सोमबार पनि बिहानदेखि रातिसम्म देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षा हुनेछ ।

    अहिले काठमाण्डौसहित धेरैजसो ठाउँमा बाक्लो कुहिरो लागेका कारण सडकमा गाडी चलाउन र पैदल हिँड्न पनि समस्या भएको छ । भिजिविलिटी कम भएकाले विस्तारै गाडी चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

    यसैबीच त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण रोकिएको छ । बाक्लो कुहिरो लागेर भिजिविलिटी कम भएपछि आन्तरिक र अन्तराष्ट्रिय दुवै तर्फका उडान र अवतरण हुन नसकेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको भिजिविलिटी अहिले ५० मिटर मात्रै छ । उडान तथा अवतरण खुलेपछि पनि त्यसको प्रभाव दिनैभर पर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

    यसैबीच लगातारको वर्षा र हिमपातपछि अन्नपूर्ण पदमार्गमा हिमपहिरो गएको छ । पदमार्ग अन्तर्गत देउराली नजिकै हिउँ पहिरोमा केही पर्यटक परेको आशंका गरिएको छ । हिमपहिरोमा केही चिनियाँ र कोरियन पर्यटक परेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    हिमपहिरो गएको क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेका कारण समस्या भएको प्रहरीको भनाइ छ । पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समूह हिमपहिरोमा परेको प्रहरीले बताएको छ। पर्यटकलाई लिएर पदयात्रामा गएका गाइड पनि हिमपहिरोमा परेका छन्।

    नेपाली गाइड, पोर्टल, कोरियन र चिनियाँ पर्यटक गरी ९ जना सम्पर्कबाहिर रहेको बताइको छ ।जिल्ला प्रहरी कार्यालय र टान पोखराबाट उद्दार टोली घटनास्थलतर्फ लागिसकेको प्रहरीले जनाएको छ ।

    दिउँसो १२ बजेतिर देउरालीनजिकै हिमपहिरोको खबर आएको टान पोखरा अध्यक्ष हरि भुजेलले जानकारी दिए । हिमपहिरो गएको क्षेत्रमा हिमपात परिरहेको र जसका कारण सञ्चार सम्पर्क नहुँदा एकिन तथ्यांक नआएको प्रहरी बताउँछ ।

    उता जुम्लामा फेरि बिहीबार बिहानदेखि हिमपात भएको छ । यस पटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवनले जनजीवन प्रभावित हुँदै गएको छ । बिहिबारदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ ।

    चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ । लगातार पानी र हिउँमा बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक पटक सूचनासमेत जारी गर्दै आएको छ ।

    चिसोले अस्पतालमा बिरामीसमेत बढ्ने गरेका छन् । अस्पतालमा रुघाखोकीका बिरामी बढेका कर्णाली स्वास्थ्य विज्ञान प्रनितष्ठान शिक्षण अस्पतालका डा अर्जुन तिवारीले जानकारी दिए ।

    जुम्लाको तापक्रम भने घट्दै गएको यहाँस्थित जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ । बिहीबारको न्यूनतम तापक्रम ०.७ डिग्री रहेको छ । मौसम सफापछि भने तापक्रम बढ्ने अनुमान गरिएको छ । गत पुस १ गते जुम्लाको तापक्रम माइनस ७.२ डिग्री सेल्सेस भएको थियो ।

    यस्तै बुधबारदेखिको मौसममा आएको परिवर्तनका सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा पाँचौं पटक हिमपात शुरु भएको छ । पहिले परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो । सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा र बैतडी जिल्लाका उच्च लेकाली क्षेत्रमा बिहीबार रातिदेखि फेरि हिमपात शुरु भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ ।

    डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोबडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको शिखर नगरपालिकाका–१ का स्थानीयवासी हरी नेपालीले बताए ।

    उनले भने, ‘गाईवस्तु चर्ने ठाउँमा हिउँ परिरहेको छ, वस्तुभाउ गोठ बाहिर निकाल्नसमेत समस्या भएको छ ।’ हिउँदमा लगाएको अन्नबालीमा पर्याप्त मात्रामा पानी नपुग्ने यहाँका लेकाली क्षेत्रमा अहिले पाँचौं पटक हिउँ परेका कारण स्थानीय किसान भने हिउँदेबाली सप्रिने आशामा खुशी भएका छन् ।

    यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्यटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए ।

    हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइएको छ । यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने मध्यपहाडी क्षेत्रमा वर्षा भइरहेको छ ।

    पानी र हिमपातका कारण यहाँको तापक्रम निकै घटेको छ । चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न सर्तकता अपनाउनु पर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ