• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मौसम पूर्वानुमान महाशाखाले भर्खरै दियो फेरी आज रातिको यस्तो मौसम अपडेट

    19.8K
    SHARES

    काठमाडौं, माघ ३ । हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा भइरहेको हो । योक्रम शुक्रबार रातिसम्मै रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा शनिबार बिहानबाट मौसममा क्रमशः सुधार हुने मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

    ‘काठमाडौंमा भोलि (शनिबार) आजजस्तो निरन्तर वर्षा हुने सम्भावना देखिँदैन । मौसम पूर्णरुपमा पनि खुल्दैन । घाम पनि लाग्ने देखिन्छ । हल्का वर्षाको सम्भावना पनि छ’–उनले भनिन् । शुक्रबार काठमाडौं उपत्यका आसपासका फूलचोकी, चन्द्रागिरिलगायतका स्थानमासमेत हिमपातको सम्भावना रहेको उनले बताइन् । उनकाअनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ ।

    मौसम पूर्वानुमान बुलेटिन शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । यस्तै, पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको जनाइएको छ ।

    शुक्रबार राति महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    शनिबार शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । शनिबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइ पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

    आइतबार आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली भइ पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ । आइतबार राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    चिसोबाट जोगिनोस् -महाशाखाले देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, चिसोबाट बच्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

    आउँदो २४ घन्टाका लागि परामर्श दिँदै महाशाखाले यस्तो अनुरोध गरेको हो । वर्षा- महाशाखाको पछिल्लो तथ्यांकअनुसार भैरहवामा सबैभन्दा बढी ३९ मिलिमिटर वर्षा भएको छ ।

    त्यस्तै, दाङमा २७ मिलिमिटर, वीरेन्द्रनगरमा २४, पोखरामा २३, काठमाडौंमा २१, नेपालगन्जमा १० मिलिमिटर वर्षा भएको छ । यो बिहीबार बिहान पौने ९ बजेदेखि शुक्रबार बिहान पौने ९ बजेसम्मको तथ्यांक हो । तापक्रम – महाशाखाकाअनुसार शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको छ ।

    किन आउदैछ मौसममा यस्तो बदलाव ?
    शुक्रबार बिहानैदेखि देशको उच्च हिमाली भेगमा हिमपात र अन्य स्थानमा वर्षा भइरहेको छ । वर्षा र हिमपातपछि देशभरको जनजीवन प्रभावित बनेको छ । बुधबार साँझबाट नेपाल प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै देशको माथिल्लो भागमा हिमपात र अन्य स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।

    ‘बुधबार बिहानदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण अहिले उच्च हिमाली भेगमा हिमपात तथा देशका अन्य भागमा वर्षा भइरहेको छ,’ मौसमविद् पोखरेलले भनिन् । महाशखाले शुक्रबार बिहान ८ः४५ बजेसम्म गरेको मापनअनुसार, सबैभन्दा बढी दाङमा २९ मिलिलिटर पानी परेको छ ।

    त्यसपछि वीरेन्द्रनगर, पोखरा र काठमाडौंमा बढी वर्षा भएको छ । महाशाखाका अनुसार, वीरेन्द्रनगर, पोखरा र काठमाडौंमा अहिलेसम्म क्रमशः २४, २३ र २१ मिलिलिटर पानी परेको छ । सिमरामा १८, नेपालगञ्जमा १० र डडेल्धुरामा ८ मिलिलिटर वर्षा भएको महाशाखाको रेडर्कमा उल्लेख छ ।

    वर्षा र हिमपातले देशको जनजीवन प्रभावित भएको छ । काठमाडौंमा बिहानैदेखि वर्षा भएपछि आमनागरिकले कठिनाइ झेलेका छन् । देशको उच्च भागमा परेको हिमपातले जनजीवन थप कष्टकर बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिनभर बदली र वर्षाको श्रृंखला चलिरहनेछ । शनिबारबाट भने मौसम विस्तारै सुधारिँदै जाने मौसमविद्को प्रक्षेपण छ ।

    ‘आज दिनभर बदली र वर्षाको श्रृंखला चलिरहे पनि भोलिबाट भने मौसम सुधारिँदै जाने देखिन्छ,’ मौसमविद् विभूति पोखरेलले भनिन् । यस वर्षको हिउँदमा मौसम छिटो–छिटो परिवर्तन भइरहेको छ । केही दिन घाम लाग्ने र त्यसपछि फेरि वर्षा हुने क्रम चलिरहेको छ ।

    मौसमविद् वरुण पौडेलका अनुसार, मौसमी प्रणाली भित्रिने र बाहिरिने क्रम छिटो–छिटो भइरहेकाले घाम लाग्ने र पानी पर्ने शृंखला चलिरहेको छ । अघिल्ला वर्षहरूको हिउँदमा बढीमा ४÷५ वटा मौसमी प्रणाली भित्रिने गरे यस वर्ष छिटो–छिटो मौसमी प्रणाली फेरिएकाले वर्षा र हिमपात भइरहेको उनको भनाइ छ ।

    नेपालमा भित्रिने मौसमी प्रणालीको स्रोत भूमध्य सागर हो । यहाँबाट बहने हावा सोझै नेपालतर्फ बहँदा त्यसको असर बढी पर्ने र अन्यत्र मोडिँदा प्रभाव कम हुने मौसमविद् बताउँछन् ।

    यसैबीच उता जुम्लामा फेरि बिहीबार बिहानदेखि हिमपात भएको छ । यस पटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवनले जनजीवन प्रभावित हुँदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ ।

    चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ । लगातार पानी र हिउँमा बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक पटक सूचनासमेत जारी गर्दै आएको छ ।

    चिसोले अस्पतालमा बिरामीसमेत बढ्ने गरेका छन् । अस्पतालमा रुघाखोकीका बिरामी बढेका कर्णाली स्वास्थ्य विज्ञान प्रनितष्ठान शिक्षण अस्पतालका डा अर्जुन तिवारीले जानकारी दिए ।

    जुम्लाको तापक्रम भने घट्दै गएको यहाँस्थित जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ । बिहीबारको न्यूनतम तापक्रम ०.७ डिग्री रहेको छ । मौसम सफापछि भने तापक्रम बढ्ने अनुमान गरिएको छ । गत पुस १ गते जुम्लाको तापक्रम माइनस ७.२ डिग्री सेल्सेस भएको थियो ।

    यस्तै बुधबारदेखिको मौसममा आएको परिवर्तनका सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा पाँचौं पटक हिमपात शुरु भएको छ । पहिले परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो । सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा र बैतडी जिल्लाका उच्च लेकाली क्षेत्रमा बिहीबार रातिदेखि फेरि हिमपात शुरु भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ ।

    डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोबडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको शिखर नगरपालिकाका–१ का स्थानीयवासी हरी नेपालीले बताए ।

    उनले भने, ‘गाईवस्तु चर्ने ठाउँमा हिउँ परिरहेको छ, वस्तुभाउ गोठ बाहिर निकाल्नसमेत समस्या भएको छ ।’ हिउँदमा लगाएको अन्नबालीमा पर्याप्त मात्रामा पानी नपुग्ने यहाँका लेकाली क्षेत्रमा अहिले पाँचौं पटक हिउँ परेका कारण स्थानीय किसान भने हिउँदेबाली सप्रिने आशामा खुशी भएका छन् ।

    यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्यटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए ।

    हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइएको छ । यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने मध्यपहाडी क्षेत्रमा वर्षा भइरहेको छ ।

    पानी र हिमपातका कारण यहाँको तापक्रम निकै घटेको छ । चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न सर्तकता अपनाउनु पर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

    प्रतिक्रिया