• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    ओली-प्रचण्डले टुंग्याए राष्ट्रियसभा सदस्यको भागवण्डा, कसको भागमा कति ? हेर्नुहोस नामासहित

    26.3K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १६ जना उम्मेदवार तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेकाे सचिवालय बैठकले सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य बेदुराम भुसालसहितका नेतालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    ५९ सदस्यीय राष्ट्रियसभाको १ तिहाइ (१९ जना) सदस्यका लागि माघ ९ गते निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा निर्वाचनका क्रममा अपनाइने एकल संक्रमणीय मतप्रणालीअनुसार सत्तारुढ नेकपाले १४ जना सदस्य जित्ने संभावना थियो । तर, प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी (राजपा)सँग तालमेल गरेर नेकपाले १६ जना पाउने पक्का भएको छ । नेकपाले राष्ट्रिय सभाका लागि उम्मेदवार तय गर्दा तत्कालीन एमालेबाट ९ जना र माओवादी केन्द्रबाट ७ जना पर्ने गरी भागवण्डा गरिएको छ ।

    तत्कालीन एमालेअन्तर्गत प्रदेश नम्बर १ बाट महिला उम्मेदवार इन्दु गौतम र अन्यबाट देवेन्द्र दाहाल, प्रदेश नम्बर २ बाट महिला उम्मेदावर तुलसा दाहाल, प्रदेश नम्बर ३ बाट अन्यमा बेदुराम भुसाल, गण्डकी प्रदेशबाट महिलामा भगवती न्यौपाने, प्रदेश नम्बर ५ बाट महिलामा विमला घिमिरे तथा अन्यमा गोपाल भट्टराई, कर्णाली प्रदेशबाट महिलामा सुनिता केसी र सुदूरपश्चिम प्रदेशबाट महिलामा शारदा भट्टराईलाई उम्मेदवार बनाइएको छ ।

    यस्तै, तत्कालीन माओवादी केन्द्रअन्तर्गत प्रदेश १ बाट दलितमा गोपी अछामी, प्रदेश नम्बर २ बाट दलितमा राधेश्याम पासवान, प्रदेश नम्बर ३ बाट महिलामा गंगा बेलवासे, गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ, प्रदेश नम्बर ५ बाट अपाङ्गतामा जगप्रसाद शर्मा, कर्णाली प्रदेशबाट अन्यमा मायाप्रसाद आचार्य र सुदूरपश्चि प्रदेशबाट अन्यमा तारामान स्वाँरलाई उम्मेदवार बनाइएको ।

    राष्ट्रिय सभाका सदस्य चयनका लागि प्रदेश सभाका सदस्य ,गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । प्रदेश सभाका सदस्य, गाँउपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार भने फरक–फरक हुन्छ ।

    ५९ सदस्य रहने राष्ट्रिय सभा एक स्थायी सदन हो । तर, यसका सदस्यहरुको पदावधि भने ६ वर्षको हुन्छ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने छ । संविधानको धारा (८६) को उपधारा ३ अनुसार संविधान प्रारम्भ हुँदाका बखत भने गोला प्रथाको माध्यमबाट एक तिहाइ (१९) जना सदस्यको २ वर्ष, अर्को एक तिहाइ (२० जना) सदस्यको ४ वर्ष र बाँकी १ तिहाइ (२० जना) सदस्यको ६ वर्ष पदावधि कायम गरिएको छ ।

    राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका १६ जना उम्मेद्वार छनोट गर्नका लागि बिहीबार नेकपाको सचिवालय बैठक चार घण्टाभन्दा लामो समय बस्यो । तर, निर्णय केही आएन । बिहीबारको सचिवालय बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गर्दा पनि वामदेव गौतमले भने राष्ट्रियसभामा जान अस्वीकार गरेका हुन्। बिहीबारको बैठकमा गौतमले राष्ट्रियसभामा जान अस्वीकार गरेपछि शुक्रबारको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यको नाम टुंगो लगाएको हो।

    गौतमले आफूलाई राष्ट्रियसभामा लाने भए संविधान संशोधन गर्न शीर्ष नेतृत्वलाई चुनौती दिए। उनले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यसमेत प्रधानमन्त्री बन्ने व्यवस्था गरेपछि मात्र त्यहाँ जाने अडान दोहोर्याएपछि अध्यक्षद्वयले गौतमबिनाका अन्य नेताको नाममा सहमति गरेका हुन्।

    ‘राष्ट्रियसभामा म त्यसबेला जान्छु। जब नेपालको संविधान संशोधन गरेर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउँछन्’, गौतमले भने, ‘म प्रधानमन्त्री हुनुपर्छ। नत्र म त्यस्तो संस्थामा सदस्य हुन्न। म जहाँ रहेपछि कार्यकारीसहितको शक्तिशाली संस्थामा रहन चाहन्छु।’

    गौतमको अडान प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यबीच समानता हुनुपर्ने हो। ‘यो असमानता हटाउनुपर्छ। म शक्तिशाली संस्थामा रहन चाहन्छु। मेरो स्वभाव पनि त्यस्तै खालको छ’, गौतमले थप भने, ‘म प्रधानमन्त्री बन्नुपर्छ भन्ने कुरा त गएकै निर्वाचमना भनिएको हो। २०७० को निर्वाचनमा प्यूठान र बर्दियामा भावी प्रधानमन्त्री भनेर लगिएको हो।’

    गौतमले सांसद र मन्त्री हुन राष्ट्रियसभामा जानु भन्दा बाहिर बसेरै पार्टी संगठनको काम गर्ने बताएका छन्। आफ्नै अडानका कारण राष्ट्रियसभामा नगएका गौतमले पार्टीमा भने महत्वपूर्ण जिम्मेवारी पाउँदैछन्। आगामी पुस २३ गते बस्ने नेकपा केन्द्रीय समिति बैठकले गौतमलाई विधान संशोधन गरेर उपाध्यक्ष बनाउँदै छ। यसअघि नै सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेको थियो। केन्द्रीय समितिले प्रस्ताव पारित गरेपछि गौतम उपाध्यक्ष हुनेछन्।

    नेकपा सचिवालयका ९ सदस्यमध्ये प्रवक्ता श्रेष्ठसमेत राष्ट्रियसभामा जाने निश्चित भएसँगै संघीय संसदमा सहभागी नहुने वामदेव एक्लो सदस्य बन्ने छन्। गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल राष्ट्रियसभा सदस्य हुन् भने अन्य सबै सचिवालय सदस्य प्रतिनिधिसभा सदस्य छन्।

    बामदेव र नारायणकाजीको यस्तो थियो राष्ट्रियसभामा जाने–नजाने कसरत
    फेरि शुक्रबार बिहान पनि तीन घण्टाभन्दा बढी समय बैठक बस्यो। र, उम्मेद्वारको नाम टुंगियो। यी दुवै बैठकमा दुईजना व्यक्तिको विषयमा खास चर्चा र छलफल भयो। बिहीबारको बैठकको सुरुमै सचिवालय सदस्यहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभाका लागि उम्मेद्वार बनाउने प्रस्ताव अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राखे। यसमा सचिवालयका सबै नेताले सहमति जनाए।

    स्रोतका अनुसार गौतमले भने बैठकमै शर्त राखे। ‘त्यसो हो भने संविधान संसोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खुला गर्नुहुन्छ म जान्छु, नत्र जादिनँ।’ लगत्तै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले गौतमलाई जवाफ दिए, ‘शर्त राखेर जाने भन्ने हुँदैन। नजाने भए नजानुस्। संविधान संशोधन तत्काल संम्भव छैन।’

    त्यसपछि अर्का अध्यक्ष दाहाल बोले, ‘अहिले नै यसलाई शर्त नबनाउँ। त्यहाँ गएपछि प्रयत्न गरौला।’ त्यसपछि ओली र दाहालले श्रेष्ठको धारणा जान्न चाहे। स्रोतका अनुसार बैठकमा श्रेष्ठले भनेका थिए, ‘मेरो केही सर्त पनि छैन, माग पनि छैन। तपाई जानुस्, जानुपर्छ भन्नु भयो भने जान्छु।’

    त्यसपछि श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय बैठकले गर्‍यो, जसमा गौतम परेनन्। तत्कालीन बामगठबन्धनको तर्फबाट २०७४ मंसिरमा भएको संघीय चुनाव लडेका शीर्ष नेतामध्ये तत्कालीन एमालेका उपाध्यक्ष बामदेव गौतम बर्दिया–१ बाट र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोरखा–२ बाट चुनाव हारे। २०७४ फागुन ३ को पार्टी एकतापछि बनेको नेकपाको नौ सदस्यीय सचिवालयमा रहेका मध्ये सांसद नरहेका गौतम र श्रेष्ठमात्रै हुन्।

    यहींबाट शुरु भएको थियो– गौतम र श्रेष्ठको सांसद बन्ने र बनाउने कथा। आफूलाई बाम गठबन्धन र एकताको सूत्रधार बताउने यी दुई नेता आफैं पनि सांसद बन्न चाहन्थे। पार्टी अध्यक्षद्वय ओली र दाहाल पनि यी दुई नेतालाई संसदमा ल्याउन चाहन्थे। तर, परिस्थिति अनकूल बनेको थिएन।

    यति हुँदाहुदै पनि गौतमको चाहना र चुनाव लड्ने क्षेत्रबारे धेरैपटक चर्चा भयो। डोल्पाका सांसद धनबहादुर बुढालाई मन्त्री बनाउनेदेखि काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा गरेर ठाँउ खाली गरिदिने घोषणासम्म गौतमलाई सांसद बनाउने योजनाका कदम थिए। तर, पार्टीभित्रको शक्ति संघर्षले गौतमले ती दुवै क्षेत्रमा चुनाव लड्ने अवस्था बनेन।

    पछिल्लोपटक गौतमलाई ओली र दाहालले रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्की–२ मा चुनाव लड्न प्रस्ताव नै गरे। तर, गौतमले अन्तरघातको खतरा रहेको र चुनाव हारिने भन्दै उनी कास्की–२ मा चुनाव लडन मानेनन्। उनलाई राष्ट्रियसभाको सदस्य बन्न पनि पार्टी नेतृत्वले प्रस्ताव गर्‍यो। तर, गौतमले सार्वजनिक रुपमा राष्ट्रियसभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संसोधन भएमात्र राष्ट्रियसभामा जाने अडान लिए। यहीबाट गौतमको राष्ट्रियसभा प्रवेशको ढोका बन्द भयो।

    नेता गौतम बर्दिया–१ मा का‌ंग्रेसका सञ्जय गौतमसँग ७ सय ५३ मतले पराजित भएका थिए। कांग्रेस बर्दियाका सभापति रहेका सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याएका थिए। गौतमले भने ४४ हजार ७६ मत पाएका थिए।

    श्रेष्ठ गोरखा–२ मा पूर्वप्रधानमन्त्री एवं तत्कालीन नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराइसँग ६ हजार ८ सय ८४ मतले पराजित भएका थिए। ६० हजार१ सय १७ मत खसेकोमा भट्टराईले ३१ हजार८ सय सात र श्रेष्ठले २४ हजार ९ सय ३३ मत प्राप्त गरेका थिए।२ हजार छ सय ३८ मत बदर भएको थियो। नेता श्रेष्ठ २०७० को चुनावमा मकवानपुर २ बाट पनि पराजित भएका थिए।

    सचिवालयका एक नेताका अनुसार श्रेष्ठले पनि गौतमले जस्तै सांसद बन्ने चाहना केही महिनाअघिकै सचिवालय बैठकमा राखेका थिए। तर, उनले उपयुक्त विकल्प र जीत सुनिश्चित भएमात्रै प्रतिनिधिसभामा जाने नत्र केही बर्ष पर्खिने बताएका थिए। पार्टीले उपयुक्त ठाने राष्ट्रियसभा मार्फत पनि सांसद बन्ने चाहना उनले व्यक्त गरेका थिए।

    श्रेष्ठको यही चाहना शुक्रबारको सचिवालय बैठकले पूरा गरिदिएको छ। उनी माघ ९ गते हुने राष्ट्रियसभा चुनावका लागि प्रदेश–४ मा नेकपाको उम्मेद्वार हुनेछन्। र, चुनावी अंकगणितले नेकपाका उम्मेदवारको जित सुनिश्चत गरेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ