• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    ओली सरकारबाट समर्थन फिर्ता लिएलगत्तै उपेन्द्र यादवले दिए यस्तो कडा प्रतिक्रिया, नेकपामा खैलाबैला

    15.1K
    SHARES

    काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु सत्ताबाट बाहिरिएसँगै सरकारको दम्भ हटेको बताएका छन् । समाजवादी पार्टी नेपालको कार्यकारीणी बैठकबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आफूहरुले यसअघि गरेको दुई बुँदे सहमति अनुसार संविधान संशोधन गर्ने तर्फ सरकार अघि नबढेका कारण सरकारबाट बाहिरिएको बताए । आफूहरु सरकारबाट बाहिरिएसँगै दुई तिहाइको सरकारको दम्भमा गिरावट आएको उनको भनाइ छ ।

    दुई तिहाको दम्भ अब समाप्त भयो’ यादवले भने,‘सरकारको एकपछि अर्को स्टेप असफलता तर्फ अघि बढिरहेको छ । गणितीय हिसावले ठूलो अन्तर नआएपनि राजनीतिक मूल्य र मान्यतामा फरक पर्छ ।’ उनले सरकारलाई दिँदै आएको समर्थन पार्टीले फिर्ता लिएको जानकारी दिँदै अब पार्टीले प्रतिपक्षमा रहेर प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए । उनले संविधान सबैका लागि सर्वस्वीकार्य बनाउन आफूहरुले भूमिका खेल्ने बताए । त्यसका लागि संविधान संशोधन गर्न दवाव दिनेका उनको भनाइ छ । व्ल्याक आउट गर्नेको पनि र दियो बाल्नेको पनि संविधान हुनुप¥र्यो’उनले भने,‘सबैको सर्वस्वीकार्य बनाउनका लागी लाग्नुपर्छ ।’

    यसरी सहभागी भए ओली सरकारमा
    यादव नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारमा एक वर्ष ६ महिना २२ दिन बसे । २०७५ जेठ १८ गते तत्कालीन संघीय समाजवादीको तर्फबाट (बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग एकीकरण भएपछि मात्रै पार्टी समाजवादी पार्टी नेपाल बनेको हो) यादवले उपप्रधान एमव् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र राईले शहरी विकास मन्त्रीको रुपमा सपथ लिएका थिए । २०७५ जेठ १४ गते नेकपा र तत्कालीन संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सम्झौता भएको थियो । संविधान संशोधन गर्ने र सरकारमा सहभागी हुने गरी दुई बुँदा सम्झौतापत्रमा उल्लेख भएको थियो ।

    रोचक त के रह्यो भने त्यतिबेला सरकारमा सहभागी हुनका लागि वातावरण बनाउन तत्कालीन फोरमले सरकारको नीति तथा कार्यक्रममाथि दिएको संशोधन प्रस्ताव नै फिर्ता लिएको थियो । समर्थन फिर्ता लिनुभन्दा पहिले यादवले नेकपाका अध्यक्षद्वय प्रचण्ड र केपी ओलीसँग वार्ता गरेका थिए । र, त्यही दिन सरकारमा सहभागी हुने निश्चित भएको थियो । सँगसँगै सरकारमा सहभागी हुनका लागि वातावरण बनाउन २०७५ जेठ ११ गते जनकपुर पुगेका यादवले पार्टीका उपाध्यक्ष समेत रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भेटेर केन्द्र सरकारको बारेमा जथाभावी नबोल्न निर्देशन दिएका थिए । र, जनकपुरबाट फर्केपछि ओली र प्रचण्डसँग वार्ता गरेर सरकारमा जाने निश्चित गरेका थिए ।

    त्यतिबेला केन्द्रीय सरकारमा सहभागी हुनका लागि नेकपासँग यादवले वार्ता गरी चाँजो पाँजो मिलाउँदा उता प्रदेशमा नेकपाले तत्कालीन फोरम नेपाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जुन दिन अर्थात जेठ १४ गते यादवले बालुवाटारमा ओली र प्रचण्डसँग वार्ता गरि सरकारमा सहभागी हुनका लागि वार्ता गरिरहेका थिए, त्यसको एकदिन अगाडि प्रदेशमा फोरम नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपाले फिर्ता लिएको थियो तर यादवले त्यतिबेला त्यसको कुनै वास्ता गरेका थिएनन् । जेठ १४ गते दुई बुँदे सम्झौता गरेको तत्कालीन फोरम नेपालले जेठ १६ गते संसदीय दलको बैठक बोलायो र मन्त्री चयन गर्ने जिम्मेवारी उपेन्द्र यादवलाई नै दिएको थियो । सरकारमा मन्त्री पठाउने बारेमा पार्टीमा विवाद चलिरहेको थियो । राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रदीप यादव, हरिनारायण रौनियार लगायतका नेताहरु मन्त्रीका दौडमा थिए । तर अन्तिममा उनले आफ्नो र राईको नाम सुटुक्क प्रधानमन्त्री ओलीलाई बुझाएका थिए ।

    सो लगत्तै २०७५ जेठ १८ गते सपथ भएपनि सुरु भयो उपेन्द्र यादवको सत्तायात्रा । केही दिन प्रधानमन्त्री अ‍ोलीसँग राम्रो सम्बन्ध भएपनि तीन चार महिनापछि नै दुवैबीच खटपट शुरु भएको थियो । जुन कुरा उपेन्द्र यादवले मंगलबार बसेको संसदीय दलको बैठकमा पनि सुनाएका थिए । प्रधानमन्त्री ओलीसँग खटपट हुँदा मन्त्रिपरिषद्मा जान पनि छाडेका यादव विस्तारै विस्तारै टाढिदै गए । मन्त्रिपरिषद्को बैठकमा आक्कलझुक्कल जाने यादव ओलीको सामु पर्न चाहेका थिएनन् । सकभर ओलीसँग कुराकानी नहोस् चाहना राख्थे यादव । यतिसम्मकी एकपटक विदेश भ्रमणमा जान लागेका ओलीलाई विदाइ गर्न एयरपोर्टमा आमुने सामुने पर्दा ओलीले उपेन्द्र यादवलाई भनेको भनाइ उदृत गर्दै एक नेता भन्छन्, ‘सरकारमा बसेर सरकारको विरोध गर्ने, यदि त्यस्तो हो भने तपाइँ सरकार छाडेर जाँदा हुन्छ ।’ त्यतिबेला यादवले कुनै जवाफ दिएका थिएनन् हाँसेर त्यो कुरालाई टारेका थिए ।

    संविधान संशोधनका विषयमा यादवले पटक पटक प्रधानमन्त्री ओलीसँग भेट्न चाहन्थे तर उनले टाइम दिइरहेका थिएनन् । अन्ततः यस्तो दिन आयो कि उपेन्द्र यादव देश (भारत) बाहिर भएको बेला प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्दा उनलाई स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा पठाइदिए । राज्यमन्त्री रहेका डा.सुरेन्द्र यादवलाई बर्खास्त गरिदिए । शहरी विकास मन्त्रालयमा नेकपाबाट रामवीर मानन्धरलाई राज्यमन्त्री बनाए । तैपनि यादवले हाँसीहाँसी त्यसलाई स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई माया गरेर कानुन मन्त्रालय दिएको प्रतिकृया दिएका थिए । तर उनलाई एकीककरण प्रक्रियाबाट आएको बाबुराम भट्टराई समूहले सरकार छाड्न दवाव दिइरह्यो । तर, यादवले विभिन्न बहाना बनाएर सरकारबाट बाहिरिन ढिलाइ गरिरहे ।

    सरकारबाट बाहिरिन बाध्य
    पदभार ग्रहण गरेको ठीक एक महिनापछि यादवले संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने भनि कानुन मन्त्रीको हैसियतमा मंसिर ७ गते मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगे । तर, त्यो प्रस्ताव अस्वीकार गर्दै प्रधानमन्त्री ओलीले यादवमाथि अपमानजनक शब्द प्रयोग गर्दै ‘गेट लस्ट’ भनेका थिए भने सो क्रममा चर्काचर्की समेत भएको थियो । लगत्तै भोलिपल्ट बिहानै यादवले पदाधिकारीको बैठक बोलाएर क्याबिनेटमा भएको घटनाबारे ब्रिफिङ गरे । लगत्तै पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार यादव र राईले पदबाट राजीनामा दिएका थिए । सरकारबाट बाहिरिएपछि मंगलबार समाजवादीको संसदीय दलको बैठक बसेर यसबारे छलफल भएको थियो भने बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने विषयमा पनि निर्णय लिइने उपाध्यक्ष रेणु यादवले बताइन् ।

    सत्ता यात्रा
    ओली सरकारमा सहभागी हुनुअघि यादव ७ वर्षपहिले सरकारमा सहभागी भएका थिए । पहिलो संविधानसभा चुनावमा देशको चौथो ठूलो दलको रुपमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल आएपछि उनी तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा २०६५ भदौमा परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए । तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाल काण्ड भएपछि प्रचण्ड नेतृत्वको सरकार ढल्यो । त्यतिबेला उनले नौ महिनासम्म परराष्ट्रमन्त्रीको रुपमा काम गरेका थिए । परराष्ट्र मन्त्रीको रुपमा अधिकांश समय विदेशमै बिताउने उपेन्द्र यादवको त्यो बेला पनि निकै आलोचना भएको थियो ।

    प्रचण्ड नेतृत्वको सरकार ढलेको २० दिनपछि अर्थात २०६६ जेष्ठ ९ गते तत्कालीन एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन भएको थियो । त्यो सरकारमा जान उपेन्द्र यादवले पनि चाहना राखेका थिए । तर, तत्कालीन फोरमका नेता विजयकुमार गच्छदारले सरकारमा जान जिद्दी गरे । यादव र गच्छदारवीच विवाद भएको थियो । यादवले पार्टीमा आफ्नै नेतृत्वमा सरकारमा जाने नभए नजाने निर्णय गराउन खोजे । तर, गच्छदारले आफ्नो नेतृत्वमा सरकारमा जानुपर्ने अडान लिए । यही विवादका क्रममा गच्छदारले पार्टी फुटाएका थिए । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) गठन गरेर गच्छदार माधवकुमार नेतृत्वको सरकारमा सहभागी भए । गच्छदारले पार्टी फुटाएर सरकार सहभागी भएपछि उपेन्द्र यादव बाहिरै बसे ।

    माधवकुमार नेपालले २०६७ असार १६ गते प्रधानमन्त्री पदबाट राजीनामा दिए । तर, नयाँ प्रधानमन्त्री नबनेसम्म लामो समयसम्म माधवकुमार नेपाल नै प्रधानमन्त्री रहे । महिनौसम्म कामचलाउ प्रधानमन्त्रीको रुपमा काम गरे उनी । माधवकुमार नेपालपछि को प्रधानमन्त्री हुने भन्नेमा संसदमा लामो समयसम्म बहस चल्यो र पटक–पटक त्यसका लागि चुनाव पनि भयो । रामचन्द्र पौडेल, प्रचण्ड र विजयकुमार गच्छदार प्रधानमन्त्रीका उम्मेदवार थिए । प्रधानमन्त्रीका लागि रामचन्द्र पौडेलले १७ पटकसम्म प्रतिस्पर्धा गरे । तर, उनी प्रधानमन्त्री हुन सकेनन् । रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन छिमेकी भारतको पनि चाहना थियो । उपेन्द्र यादव प्रचण्डको पक्षमा भएपनि उनले भारतलाई देखाउनका लागि आफ्ना सांसदबाट फ्लोरक्रस गर्न लगाएका थिए । तैपनि रामचन्द्र पौडेल प्रधानमन्त्री बन्न सकेका थिएनन् ।

    अन्त्यमा केही नचलेपछि तत्कालीन माओवादीले तत्कालीन एमालेका अध्यक्ष झलनाथ खनाललाई समर्थन गरेर प्रधानमन्त्री बनायो । खनाल नेतृत्वको सरकारमा चार बुँदे सम्झौता गरेर यादव पनि सहभागी भए । त्यो सरकारमा उनी उपप्रधान तथा पराराष्ट्रमन्त्री भएका थिए । तर, खनालको सरकार धेरै लामो समयसम्म टिक्न सकेन । बाह्य चलखेल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको रणनीतिका कारण ६ महिना नपुग्दै ढल्यो । र तत्कालीन माओवादीका नेता डा.बाबुराम भट्टराई प्रधानमन्त्री बने । त्यतिबेलासम्म यादव नेतृत्वको फोरम नेपाल फुटिसकेको थियो । जेपी गुप्ताले पार्टी फुटाएर मधेशी जनअधिकार फोरम नेपाल बनाएका थिए । र, उनले त्यतिबेलाको खनाल नेतृत्वको सरकार ढाल्नमा मुख्य भूमिका खेलेका थिए । उपेन्द्र यादवलाई मधेशी मोर्चाबाट पनि हटाइएको थियो । व्यापक चलखेलपछि बाबुराम भट्टराई नेतृत्वमा सरकार गठन भएको थियो । त्यो सरकारमा अन्य सबै मधेशवादी दल सहभागी भए, तर उपेन्द्र यादवको पार्टी सहभागी भएका थिएन ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ