• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    जाजरकोट प्रहरीको खुलासा- ‘विप्लवसँग झडप भएको छैन, स्थानीयले अनावश्यक हल्ला चलाए’

    2.9K
    SHARES

    समिर चन्द, काठमाडौं । जिल्ला प्रहरी कार्यालय जाजरकोटले विप्लव नेतृत्वको नेकपासँग कुनै भीडन्त  या झडप भएको जनाएको छ । बुधबार बिहान  साढे ११ बजे  सकला प्रहरी चौकीबाट गस्तीमा गएको प्रहरीसँग जिल्लाको नलगाड गाउँपालिका वडानम्बर ५ मा नेकपा कार्यकर्ताहरुसँग जम्काभेट भएको र त्यसक्रममा ५-१० मिनेट कुराकानी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले संचारकेन्द्रलाई बतायो ।

    ‘हिजो बिहान ११ बजेतिर सकला प्रहरी चौकी जाजरकोटबाट गस्तीमा गएको प्रहरी टोलिमाथि ढुंगामुढा गर्न खोजेको, अनि प्रहरी भागेको हो । पछि हामी विप्लवका कार्यकर्ता हौ केहि गर्दैनौ भनेपछि एकछिन ५/१० मिनेटजति कुराकानी भएछ ।’ ति प्रहरी अधिकारीले संचारकेन्द्रसँग भने ।

    प्रहरी र नेकपा कार्यकर्तालाई सँगै देखेपछि स्थानीयले भीडन्त भएको र प्रहरीलाई नेकपा नेता कार्यकर्ताले कब्जामा लिएको भनेर अनावश्यक हल्ला चलाएको ति प्रहरी अधिकारीको भनाइ छ । उनले भने -‘नेकपा नेता कार्यकर्ता र प्रहरीलाई कुराकानी गरेको देखेर स्थानीयले चाहिँ प्रहरीलाई समातेर लगे भनेर स्थानीयले वाइयात हल्ला चलाएछन । कुनै झडप सडप केहि पनि भएको होइन ।’

    गस्तीमा गएको प्रहरी र आफुहरुबीच केहि समय कुराकानी र छलफल भएको नेकपा जाजरकोटले समेत प्रष्ट पारेको छ । बिहिबार दिउँसो संचारकेन्द्रको सम्पर्क आएका नेकपा जाजरकोट सेक्रेटरी राजकुमारले दोहोरो भीडन्तको हल्ला कपोलकल्पित र भ्रामक भएको बताएका छन् । ‘हिजो त्यहाँको प्रहरी र हाम्रा साथीहरुबीच केहि छलफल भएको चाहिँ हो तर त्यही छलफलको विषयलाई दोहोरो भीडन्त भनेर केहि अनलाइनहरुले लेखेको सुनियो ! यो खेदजनक छ।’ संचारकेन्द्रको समपर्कमा आएका सेक्रेटरी राजकुमारले भने।

    उनका अनुसार बुधबार नेकपा जाजरकोट र प्रहरी अधिकारीहरुबीच जिल्लाको नलगाडमा २ घण्टा लामो छलफल भएको हो । प्रहरीले गाउँ-गाउँमा पुगेर जनतालाई दुख दिने, अनावश्यक खानतलासी गर्ने, नेता कार्यकर्ताहरुलाई बिना कारण गिरफ्तार गरेर हिरासतमा राख्ने तथा झुटा मुद्दा लगाउने जस्ता कार्यहरु व्यापक गर्न थालेपछि आफूहरुले उनीहरुलाई बोलाएर त्यसो नगर्न आग्रहसहित छलफल गरेको सेक्रेटरी राजकुमारले बताएका छन् ।

    ‘गाउँमा जनतालाई बढी दुख दिन थालेपछि हामीले उहाँहरुलाई बोलाएर आफ्नो ड्युटी मात्रै गर्न आग्रह गरेका छौं र त्यसपछि स-सम्मान पठाईदिएका छौं ।’ सेक्रेटरी राजकुमारले भने- ‘छलफल २ घण्टा लामो भएको थियो । उहाँहरु पछि फर्किनुभयो । तर केहि मिडियाले भने दोहोरो भीडन्त भनेर अलि भ्रामक समाचार सम्प्रेषण गरेको पनि देखियो । हामी त्यस्ता नियोजित र कपोलकल्पित समाचारको खण्डन गर्दछौं ।’

    सुरक्षाकर्मीमाथि हमला गर्ने पार्टीको कुनै योजना र नीति नरहेको पनि उनले प्रष्ट पारेका छन् । पार्टीलाई बदनाम गराउन केहि भाडाका मान्छेहरुले बेलाबखत नियोजित हल्ला चलाउने गरेको भन्दै उनले आक्रोश पनि पोखे । उनले सत्यतथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न पनि आम मिडिया जगतलाई आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीले अहिले देशभर दलाल, भ्रष्ट, भूमाफिया र घुसखोरहरुमाथि कारवाही गर्दै आएको छ ।

    प्रतिक्रिया