• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालमै यस्तो – वन्यजन्तुको तस्करी गर्न यी युवतीले गरिन हेलिकप्टर प्रयोग, प्रहरी नै तिनछक

    14K
    SHARES

    काठमाडौं । मंगलबार (१७ गते) दिउँसो त्रिभुवन विमानस्थलमा एक जना युवतीलाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ पर्ने ‍हुम्लाकी २९ वर्षीया सम्झना बुढा नियमित जहाजमा विमानस्थल आएकी यात्रु थिइनन्। न त उनी हुम्लाबाट नै आएकी थिइन्। उनी हेलिकप्टरबाट काठमाडौं आएकी थिइन्। सिम्रिक एयरको हेलिकप्टरमा गोरखाबाट काठमाडौं आएकी उनीसँग वन्यजन्तुका छाला र सिङ थिए। उनीसँग भएको सिङ र छाला कुन जनावरका हुन् भन्ने एकिन भइसकेको छैन।

    तर उनी पक्राउ परेसँगै वन्यजस्तु तस्करीमा नयाँ रूट बनेको रैछ भन्ने पुष्टि भएको छ। हेलिकप्टरबाट वन्यजन्तुको अंग र छालामात्र होइन हिमाली क्षेत्रमा पाइने बहुमूल्य धातु तथा जडीबुटीको पनि तस्करी भइरहेको सूचना पाएपछि यसपटक काठमाडौं विमानस्थलबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो। हेलिकप्टरबाटै यस्ता गैरकानूनी ओसारपसारमा गिरोह नै संलग्न भएको हुनसक्ने प्रहरीको आशंका छ।

    नेपालको हेलिकप्टर सेवाले हिमाली क्षेत्रमा विभिन्न सेवा दिए पनि सुरक्षा चुनौती पनि बढ्दै गएको नियामकदेखि प्रहरीसम्मको निष्कर्ष छ। सामन्यत: उच्च हिमाली क्षेत्रमा हेलिकप्टर पर्यटकको उद्धार, माउन्टेन फ्लाइट तथा बिरामी बोक्न हुने गरेको भए पनि पछिल्ला दिनमा स्वेच्छाचारिता बढ्दै गएको छ। काठमाडौंबाट उडेपछि कतै पनि जाँच नहुने भएकाले कतिपय हेलिकप्टर अवैधानिक गतिविधिमा संलग्न हुन थालेका आशंका गरिएको छ। हेलिकप्टरबाट कानूनले बर्जित गरेका काम हुने जोखिम बढ्दै गएको विमानस्थलका अधिकारीले बताए।

    ‘हेलिकप्टर उडानमा केही समस्या देखिएका छन्। व्यवहारिक समस्या धेरै छन्। हामीले कडाइ भने गर्दै लगेका छौं,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने। उनले पछिल्लो समय अपरेटर धेरै हुँदा काठमाडौंबाट अनुमति दिन छाडिएको बताए। पहिले थोरै हेलिकप्टर थिए। जसको जाँच प्रहरीले पनि सहजै गर्थ्यो। तर पछिल्लो समय त्यस्तो छैन। काठमाडौं विमानस्थल बाहिर जानेबित्तिकै हेलिकप्टर नियमनभन्दा बाहिर जान्छन्।

    बारीका पाटामा पनि अवतरण गर्न सकिने भएकाले प्रहरी तथा प्रशासनले यसको निगरानी गर्न नसक्ने अवस्था छ। काठमाडौं आउँदा पनि कहिले काभ्रे वा धादिङ जहाँ पनि अवतरण गरेर सेटल गर्न सक्छन्। बिरामी ल्याउने हेलिकप्टर अस्पतालकै छतमा अवतरण गर्छन्। जहाँ आउने ठाउँमा पनि चेक हुँदैन भने काठमाडौंमा पनि सजिलै उम्किन सक्छन्। यस्तोमा नियमन चुनौतीपूर्ण भएको पोखरेलको भनाइ छ।

    ‘हेलिकप्टर सेवाको प्रकृति नै त्यस्तो हो कि जहाँ पनि अवतरण गर्न सकिन्छ। सकेसम्म सम्बन्धित जिल्लाको प्रहरी प्रशासनसँगको अनुमति तथा समन्वयमा उडान गर्नुपर्ने भन्ने नियम छ। तर कहिलेकाहीँ यस्तो हुन्छ कि बिरामी सिकिस्त हुन्छ। त्यस्तोबेला काठमाडौंमा ल्याउनु पर्ने हुन्छ। बिरामी भएको ठाउँमा प्रहरी पुग्न १/२ घन्टा लाग्ने पनि हुन्छ। त्यस्तोमा कडाइ गर्न सकिँदैन,’ पोखरेलले भने।

    सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडान नियमबाहिर गएर हुने गरेको छ। सोलुखुम्बुको विभिन्न क्षेत्रलाई आधार बनाएर हेलिकप्टरले यात्रु तथा सामान ओसारपसार गरिरहेको भए पनि सुरक्षा सतर्कतालाई बेवास्ता गर्ने गरिएको नागरिक उड्डयन प्राधिकरणकै कर्मचारीहरूको भनाइ छ। सुरक्षा जाँचबिना मान्छे तथा सामान ओसारपसारमात्र होइन गम्भीर समस्या आएका हेलिकप्टरसमेत आफूखुसी उड्ने गरेका सगरमाथा क्षेत्रमा कार्यरत एक कर्मचारीले बताए।

    बिनासुरक्षा जथाभाबी यसरी उडान गर्दा दुर्घटना हुन सक्ने भन्दै जिल्लाको प्रशासनले सुरक्षा व्यवस्था गरेरमात्र उडान गर्ने निर्णय पनि गरेको छ। तर त्यो अझै लागू भएको छैन। यतिसम्म कि हेलिकप्टरले तोकिएकोभन्दा बढी उचाइमा उडान गर्ने गरेको पाइएको छ। सगरमाथा क्षेत्रबाट निरन्तर गुनासो आएपछि आफूहरुले छानबिन गरे पनि तथ्य र प्रमाण नपाएपछि कारबाहीअघि नढाएको पोखरेलले जानकारी दिए।

    सगरमाथामात्र होइन तिब्बतसँगको सीमा क्षेत्रसम्मै उडान गरिदिने गरेको सूचना आएपछि प्राधिकरणले सम्बन्धित हेलिकप्टर कम्पनीलाई सचेत गराएको छ। ‘प्राधिकरणले आफ्नोतर्फबाट निगरानी पनि गरिरहनेछ,’ पोखरेलले भने।

    विमान निर्माता एयरबसले नेपालमा हेलिकप्टर सञ्चालन सुरक्षाका हिसाबले जोखिमपूर्ण भएको बताएको थियो। गत असोजमा सकिएको एयरबसको टोलीले नेपाली हेलिकप्टर अपरेटरको सुरक्षा अध्ययनपछि उक्त निष्कर्ष निकालेको हो। अपरेशन, इन्जिनियरिङ, इन्भेष्टमेन्टजस्ता क्षेत्रमा नेपाली अपरेटरका कमजोरी रहेको एयरबसको भनाइ छ।

    सानो बजारमा धेरै अपरेटर भएपछि अस्वस्थ प्रतिस्पर्धा बढेको एयरबसको निष्कर्ष छ। नाफाका लागि व्यवस्थापनले जस्तोसुकै सम्झौता गर्न पछि नपर्ने हुनाले उड्डयन सुरक्षामा असर गरेको एयरबसको अध्ययनले देखाएको थियो। अहिले नेपालमा १० हेलिकप्टर कम्पनी छन्। तीमध्ये ९ अहिलेले अहिले पनि सेवा सञ्चालन गरिरहेका छन्। सेतोपाटीबाट साभार गरिएको

    प्रतिक्रिया