• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    मन्त्रीहरुले सपथ खाएको २४ घण्टा नबित्दै नेकपाभित्र लफडा, ओली-प्रचण्डलाई आयो यस्तो काउन्टर

    52.1K
    SHARES

    काठमाडौं। मन्त्रिपरिषद् पुनर्गठन भएको २४ घण्टा नबित्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र लफडा सुरु भएको छ । पार्टीका २ अध्यक्ष केपी ओली र ओली प्रचण्डले गुट-उपगुटहरुका लागि भागबण्डा मिलाउन नसकेपछि अन्य पक्षरु रुष्ट बनेका छन् । उक्त कुरा (नेकपा) नेता भीम रावलले मन्त्रिपरिषद् पुनर्गठनमा अपनाइएको प्रक्रियाप्रति जनाएको असन्तुष्टिले नै छताछुल्ल पारिदिएको छ ।

    मन्त्री हेरफेर सामान्य कार्य भए पनि अपनाइएको प्रक्रिया र मन्त्रीका लागि चयन गरिएका व्यक्तिले नेकपाका इमान्दार नेता र कार्यकर्ता सोचनीय र गम्भीर बनेको भन्दै उनले सामाजिक सञ्जालमा एकपछि अर्को स्टाटस नै लेखेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा विभिन्न चार वटा बुँँदा लेख्दै मन्त्रिपरिषद पुनर्गठनमा असन्तुष्टि पोखेका हुन् । उनले पार्टीविरुद्ध लाग्दै हिड्ने, संविधानलाई नै नमान्ने तथा धन र बलका माध्यमबाट सांसद बनेकाहरुलाई मन्त्रालयमा ल्याएको भन्दै असन्तुष्टि जनाएका छन् ।

    उनले संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपेन्द्र यादवलाई कानुनमन्त्री बनाइएको प्रति असहमति जनाएका छन् । सामाजिक सञ्जालमा लेखेका छन्– ‘नेकपालाई बलियो र विजयी बनाउन रगत–पसिना बगाउने र देशको लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र नेकपाको उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानून, न्याय र संसदीय मामिलाजस्ता मन्त्रालय सुम्पिनु पर्ने के बाध्यता आइलाग्यो ?’

    उनले यी चार बुँदामा आफ्नो असहमति प्रकट गरेका छन्
    १, संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी (पक्ष–विपक्ष) राजनीति र मन्त्रीहरूको चयनमा संलग्न रहेको देखिने कार्य किन गरियो ?
    २, नेकपालाई बलियो र विजयी बनाउन रगत–पसिना बगाउने र देशको लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र क।पा।को उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानून, न्याय र संसदीय मामिलाजस्ता मन्त्रालय सुम्पिनु पर्ने के बाध्यता आइलाग्यो ?

    ३, विगतमा क पा विरूद्ध क्रियाशील, धनबल र पूँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको औचित्य के हो ?
    ४, संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो त ?
    नेकपाको सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका रावलले सरकारका नराम्रा कामको खुलेर विरोध गर्ने गरेका छन् ।

    मन्त्री पदबाट बर्खास्त भएका नेकपा नेता गोकर्ण विष्टले बिहिबार सामाजिक सञ्जाल फेसबुकमा एउटा मार्मिक स्टाटस लेखेका छन् । उक्त स्टाटसको माध्यमबाट उनले आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै देश र जनताका लागि काम गरेको प्रतिक्रिया दिएका छन् । बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै वैदेशिक रोजगारका क्रममा ठगिएका युवा, आन्तरिक रोजगारी, बेरोजगारी युवा र देशविदेशमा पसिना बगाउने युवाका लागि इमानदारीपूर्वक काम गरेको उनले प्रतिक्रिया दिएका हुन् ।

    विष्टले सामाजिक सञ्जालमा भनेका छन्,’जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु – थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !”

    प्रधानमन्त्री ओलीले गोकर्ण विष्टसहित भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई पनि हटाएका छन् । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको छ । चारै जना पूर्व एमालेको कोटाबाट मन्त्री भएका थिए । यस्तै पूर्व माओवादीको कोटाबाट सरकारमा गएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

    त्यस्तै ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बनेका छन् भने यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । यादव हाल भारत भ्रमणमा छन् । हालै सम्पन्न समाजवादी पार्टीर्को बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेलगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरेका हुन् ।

    नवनियुक्त मन्त्रीहरुले भने पद तथा गोपनियताको शपथ लिएका छन् । विहीवार विहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच नव नियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् । राष्ट्रपति विद्या भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई शपथ दिलाएकी हुन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम बुधवार साँझ २५ सदस्यीय नयाँ मन्त्रिमण्डलको पुनर्गठन गरेकी थिइन् ।

    नयाँ मन्त्रीमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ रहेका छन् । त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेका छन् । वर्तमान मन्त्रिमण्डलबाट बिदा हुनेमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव छन् ।

    त्यसैगरी राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र सुरेन्द्रकुमार यादव पनि जिम्मेवारीबाट मुक्त भएका छन् । त्यस्तै उपप्रधानमन्त्री उपेन्द्र यादव र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको एकआपसमा विभागीय मन्त्रालय हेरफेर भई उपप्रधानमन्त्री यादवले कानून र ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्ने छन् । विसं २०७४ फागुन ३ गते ओलीको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको थियो ।

    मन्त्रीबाट बिदा हुनु दुर्भाग्य नभइ भाग्य– गोकर्ण विष्ट
    निवर्तमान मन्त्री गोकर्ण विष्टले मन्त्री पदबाट विदा हुनु दुर्भाग्य नभइ भाग्य ठानेको टिप्पणी गरेका छन् । श्रम मन्त्रीबाट विदाभएसँगै मन्त्रालयको कामकारवाहीबारे जानकारी दिन विहीवार(आज) आयोजित पत्रकार सम्मेलनमा पूर्व मन्त्री विष्टले स्थायी सरकारको अस्थायी मन्त्रीको रुपमा विदा भएको बताए । उनले राजनीतिक तरलताले गर्दा आफू विदा हुनु परेको बताए । आफूले मन्त्रालयमा रहँदा लाखौं श्रमिकको हितको पक्षमा काम गरेको मन्त्री विष्टको दाबी थियो ।

    ‘यो लाखौं श्रमिकको भविष्यको मन्त्रालय हो र राम्रो बनाउन प्रयास गरेको थिएँ’ उनले भने,‘पार्टी र सरकारले नरुचाएको कारण विदा भएँ ।’
    उनले शुरुमा चार कोठामा सिमित भएको मन्त्रालयलाई व्यवस्थित गर्ने काम आफूले गरेको मन्त्री विष्टको भनाइ थियो । आफ्नो कार्यकालमा पाँच देशसँग श्रम सम्झौता, १६ देशसँग काउन्सुलर मार्फत श्रम सम्झौताको प्रयास भएको उनको भनाइ थियो । आफ्नो कार्यकालमा श्रम मन्त्रालयलाई स्थानीय तहसँग जोड्न पहल गरेको उनको भनाइ थियो ।

    आफूलाई श्रम मन्त्रालयको जिम्मेवारी दिएकोमा प्रधानमन्त्री केपी ओलीलाई विष्टले धन्यावाद दिए । मन्त्रालयका सचिव विनोद केसीले मन्त्रीको रुपमा गोकर्ण विष्टसँग काम गर्न पाउदा खुसी लागेको बताए । आफूलाई अझै मन्त्रीको रुपमा विष्टसँग काम गर्न मन भएपनि नपाएको उनको दुखेसो थियो । ‘गरीबीको रेखामा रहेका जनतालाई माथि उठाउने गरि उहाँले काम गर्नुभयो’ सचिव केसीले भने ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ