• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    बाहिरियो प्रचण्डलाई एकलौटी अध्यक्ष बनाउन ओलीसँग भएको यस्तो सहमति, हेर्नुहोस बिस्तृतमा

    20.9K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकार र अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको जिम्मेवारी दिने निर्णय गरेको छ । बुधवार(आज) बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको नेकपाको सचिवालय बैठकले ओलीलाई प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व र प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टीको नेतृत्वको जिम्मा दिने निर्णय गरेको हो ।

    नेकपाका एक नेताकाअनुसार पार्टी एकताअघि भएको सहमति बुधबारको जिम्मेवारी बाँडफाँडसँगै समाप्त भएको छ । यसअघि दुई अध्यक्षले सरकारको आधाआधा कार्यकाल नेतृत्व गर्ने सहमति थियो । ती नेताले भने, ‘आज दुई अध्यक्षको कार्यविभाजन भयो। केपी ओली बाँकी रहेको अवधिभर सरकारको नेतृत्व गर्ने र प्रचण्डले पनि बाँकी रहेको अवधिभर पार्टी कार्यकारी अध्यक्षको जिम्मेवारी पाउनुभएको छ। पहिला आलोपालो भन्ने थियो। आजदेखि सकियो।’

    बैठकले पार्टी अध्यक्षद्वयको मर्यादाक्रम भने पुरानै कायम गरेको छ । पार्टी बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्तरुपमा गर्ने निर्णय भएको छ तर बैठकको सञ्चालन भने अध्यक्ष दाहालले गर्नेछन् । अध्यक्षद्वयबीचको आपसी सल्लाहमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णयसमेत भएको छ । बैठकमा मन्त्रिमण्डल फेरबदलको विषयमा छलफल नभएको जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले छिट्टै मन्त्रिमण्डल पुनःगठन गर्ने बताए ।

    बैठकमा कार्य विभाजनको प्रस्ताव प्रधानमन्त्री स्वयंले राखेका थिए। उनको प्रस्ताव उपस्थित सबै सचिवालय सदस्यले सहमति जनाएका थिए। बैठकमा अध्यक्षद्वय ओली, दाहाल, नेताहरु माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, रामबहादुर थापा सहभागी थिए। सचिवालय सदस्यहरु झलनाथ खनाल र ईश्वर पोखरेल उपस्थित भएका थिएनन्। दुवै नेता विदेश भ्रमणमा छन्।

    ओली प्रचण्डबारे सचिबालयको यस्तो निर्णय
    अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वरियताक्रम यथावत रहेन, अध्यक्ष केपी ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रीत हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रीत हुने, बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने, आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने, प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी ओलीले गर्ने र राजनीतिक स्थायीत्वको सन्देश दिने, पार्टी र सरकार सञ्चालन अध्यषद्वय बीचको आपसी सल्लाहमा गर्ने र पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।

    किन भएन मन्त्रिमण्डल पुनर्गठन ?
    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बुधबार हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन हुन नसकेको बताएका छन् । उनको प्रधानमन्त्रीको कार्यव्यस्तताको कारण देखाएपनि ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबीच कसलाई मन्त्री बनाउने र हटाउने भन्ने विषयमा मतैक्य हुन नसकेको बुझिएको छ । नयाँ मन्त्री छान्न नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेकपा)को बुधबार ३ घण्टासम्म बैठक बस्यो ।

    प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठन गर्ने र त्यसका लागि मन्त्रिमण्डलमा जाने र बाहिरिने मन्त्रीहरुका बारेमा सहमति जुटाउने योजना थियो । साढे १२ बजेका लागि बोलाइएको बैठक पौने १ बजे सुरु भएर तीन घण्टा चलेको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउने अपेक्षा गरिएको थियो । तर सो बैठकले खासै चर्चा नभएको ओली र प्रचण्डबीच शक्ति बाँडफाँडको निर्णय गर्यो भने ‘टक अफ द टाउन’ बनेको मन्त्रिमण्डल पुनर्गठनको बारेमा भने टुंग्याउनै सकेन ।

    मंगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले बुधबार आफू मन्त्रिमण्डल पुनर्गठनको तयारीमा रहेको भन्दै यो मन्त्रिपरिषद्को अन्तिम बैठक भएको र बैठकमा सहभागी मन्त्रीहरुलाई धन्यवाद समेत दिएका थिए ।सोही योजनाअनुसार मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारीमा रहेका प्रधानमन्त्रीले सचिवालय बैठकबाट नामहरु अनुमोदन गर्ने लक्ष्यका साथ बुधबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल समेत गरेका थिए । दुई नेताको छलफलपछि उनीहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास नै पुगेका थिए ।

    शीतलनिवासबाट फर्केलगत्तै बसेको सचिवालय बैठकमा सहमति खोज्न नेताहरु तीन घण्टासम्म बालुवाटारमा एकपक्षीय र दुई पक्षीय छलफलमा जुटेपनि अन्ततः मन्त्रिमण्डल पुनर्गठन हुन नसकेको हो । तर अचम्मको कुरा त के छ भने तीन घण्टासम्म बसेको बैठकमा मन्त्रिमण्डलबारे कुनै छलफल नै नभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसामु दाबी गरे । त्यसो त अध्यक्षद्वयबीच भएका छलफल र कुराकानीलाई अत्यन्तै गोप्य राखिएको थियो । कतिसम्म भने त्यसबारेमा सचिवालय सदस्यहरुलाई कुनै सूचना चुहाइएको थिएन ।

    ‘सचिवालय बैठकमा दुई अध्यक्षसँग नयाँ मन्त्रीहरुको नाम माग्दा समेत दिएनन् । उनीहरुबीच के–के सल्लाह भयो भन्ने समेत हामीलाई थाहा दिइएन,’ एक सचिवालय सदस्यले रातोपाटीलाई बताए, ‘हामी छलफलमै छौँ भनेर पटक पटक टार्ने काम भयो ।’ उता पार्टी प्रवक्ता श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठन प्रधानमन्त्रीको अधिकार क्षेत्रको कुरा भएको भन्दै यसअघि नै प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठनको संकेत गरिसकेको बताए । ‘प्रधानमन्त्रीले यस अघि नै संकेत गरे अनुसारनै तुरुन्तै मन्त्रिपरिषद पुनर्गठन हुन्छ,’ संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रवक्ता श्रेष्ठले भने, ‘ पुनर्गठनपछि हुने मन्त्रीको संख्या र नामावली भन्ने प्रधानमन्त्री आफैले घोषणा गर्नुहुन्छ ।’

    नेकपाभित्र मन्त्री मात्रै होइन, सभामुख समेत को हुने र कसलाई बनाउने भन्नेमा विवाद छ । सोही विवाद मिल्न नसक्दा पनि बुधबारको मन्त्रिमण्डल पुनर्गठनको योजना पछि धकेलिएको रुपमा समेत विश्लेषण हुन थालेको छ । जबकी मन्त्रिमण्डल विस्तार अघि उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजनीनामा गराउने स्वयम् प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताहरुको योजना थियो । त्यसका लागि तुम्बाहाम्फेसँग ओलीले बिहानै कुराकानी समेत गरेका थिए । तर, उनले राजीनामा नदिने जवाफ फर्काएपछि ओली प्रचण्डको योजना असफल हुन पुगेको बताइएको छ ।

    बुधबार बिहानैबाटै मन्त्रिमण्डल पुनर्गठन हुने चर्चा सबैतिर चलिसकेको थियो । बिहानै ओली–प्रचण्ड शीतलनिवास पुगेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको जानकारी गराए । सोही जानकारीअनुसार शीतलनिवासले आवश्यक तयारी पनि गर्यो । सो अनुसार नयाँ मन्त्रीहरुको सपथको पर्खाइमा रहेको शीतल निवास अन्ततः दिनभर कुरेको कुर्यै भयो । राष्ट्रपति कार्यालयका प्रेस संयोजक माधव शर्माले दिनभर राष्ट्रपति कार्यालय सपथको लागि तयारी अवस्थामा रहेको भएपनि बालुवाटारबाट अन्तिम समयमा सपथ राकिएको जानकारी आएको बताए ।

    प्रतिक्रिया