• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    भारतीय दादागिरीबिरुद्ध गर्जिए विप्लव, नक्सा खारेज गर्न चेतावनी दिदै गरे संघर्षको घोषणा, विज्ञप्तिसहित

    13.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टी महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गरी भारतको सो कदम नेपालमाथिको अतिक्रमणकारी रवैया र हमला भन्दै एकहप्ते बृहत् संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

    भारतीय दादागिरीबिरुद्ध विप्लवले चरणबद्ध रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका हुन । उनले भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेसम्मका संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । विज्ञप्तिमा आगामी कात्तिक २१ गते मसाल जुलुश, २२ गते कोणसभा, २३ गते भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन गर्ने, २६ गते भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने उल्लेख छ ।

    नेपाली भूमि आफ्नो नक्सामा देखाएर भारतले अन्तर्राष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यो भारतको साम्राज्यवादी, अतिक्रमणकारी रवैया नेपालमाथिको हमला हो । नेपालको स्वाधिनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप हो । यो भारतको अन्तर्राष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण पनि हो । हाम्रो पार्टी भारतीय साम्राज्यवादी अतिक्रमणको आपत्ति, विरोध र भत्र्सना गर्दछ ।’

    महासचिव विप्लवले तत्काल उक्त साम्राज्यवादी नक्सा खारेज गर्न भारतलाई चेतावनीसमेत दिएका छन् । ‘अन्यथा पार्टीले राष्ट्रिय स्वाधिनताको आन्दोलन सञ्चालन गर्ने चेतावनी दिन चाहन्छ’ विज्ञप्तिमा छ, ‘यो मुक्ति स्वाधिनताको संघर्षमा सम्पूर्ण पार्टी, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील र सबै क्षेत्रका जनतासँग एकजुट भएर उठ्न अपिल गर्दछ ।’

    यस्तै मोहन वैद्य (किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नेपाली भूभागलाई भारतले उसको नक्सामा समेटेकोप्रति आपत्ति जनाएको छ । भारत सरकारद्वारा हालै सार्वजनिक नयाँ नक्सामा नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग आफ्नो नक्सामा समेटिएको छ । भारतीयको यो रवैयालाई लिएर आलोचना भइरहेका बेला क्रान्तिकारी माओवादीले त्यसको कडा शब्दमा भत्र्सना गरेको हो । उसले भारतको यस्तो शैलीले नेपाली भूभागमा मात्रै नभएर सार्वभौमिकता र स्वाधीनतामाथि नै नांगो अतिक्रमण भएको निष्कर्ष निकालेकाे छ ।

    ‘भारत सरकारद्वारा हालै सार्वजनिक नयाँ नक्सामा पहिलेदेखि अतिक्रमण गर्दै आएको नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्नेे भूभागलाई भारतमा गाभिएको छ’, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि गरिएको नांगो अतिक्रमण हो ।’

    नेपाली भूमि भारतीय नक्सामा समेटिएको विषयलाई कूटनीतिक पहलमार्फत समाधान गर्न पनि उसले सरकारसमक्ष माग गरेको छ । ‘भारतले गलत गरेकाले कडा विरोध गर्न, नेपालको सार्वभौमिताको पक्षमा दह्रोसंग उभिन र यसबारे तुरुन्तै आवश्यक कूटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसित जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया