• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेकपा हाइकमाण्ड बैठकले गर्यो यस्तो निर्णय, खुमलटारदेखि धुम्बाराहीसम्म हलचल

    14.7K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको महासचिव विष्णु पौडेलले बताए । ‘कुन प्रदेशका लागि के गर्ने भन्ने विषयमा सरकार र राष्ट्रपतिले निर्णय गर्नुहुन्छ,’ उनले भने ।

    चितवनका शेरचन पूर्वउपप्रधानमन्त्री समेत हुन् । एक समय जनमोर्चा नेपालका अध्यक्षसमेत रहेका शेरचन माओवादी हुँदै अहिले नेकपामा सक्रिय थिए । कास्कीका अधिकारी पूर्वसभासद हुन् । उनी प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावका लागि उम्मेदवारको दाबेदार थिए । बाँकेका तिलक परिवार पूर्वसभासद हुन् । प्रदेश प्रमुखमा सिफारिस भएका सिराहाका यादव नेकपाका केन्द्रीय सदस्य समेत हुन् ।

    यस्तै बैतडीका कलौनी ०४८ मा शेरबहादुर देउवासँग चुनाव लडेका थिए । एमाले फुटेर माले बन्दा त्यता गएका उनी पछिल्लो समय तत्कालीन एमालेमा सक्रिय थिए । प्रसाई मेचीनगर नगरपालिकाको मेयरको उम्मेदवार थिए । यस्तै चितवनकी त्रिपाठी तत्कालीन माओवादीसम्वद्ध वेपत्ता परिवार समाजको अध्यक्ष हुन् । उनका श्रीमान ज्ञानेन्द्र त्रिपाठीलाई सशस्त्र विद्रोहको समयमा राज्यपक्षले वेपत्ता पारेको थियो । नेकपाको यस्तो निर्णयले सत्तारुढ नेकपाभित्र नयाँ तरंग उत्पन्न भएको छ ।

    यसैबीच सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य माधवकुमार नेपालले पार्टीले सिफारिस गरेका प्रदेश प्रमुखको नाममा लिखित असहमति जनाएका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखमा सात जनाको नाम सिफारिस गरेको थियो। सात जनामा नेपालले सिफारिस गरेका कुनै पनि व्यक्तिको नाम नपरेपछि पार्टी निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्।

    प्रदेश प्रमुखमा सिफारिस भएका नामप्रति नेपालले असन्तुष्टि व्यक्त गरेको एक सचिवालय सदस्यले बताए। उनका अनुसार नेपालले प्रदेश प्रमुखमा अमृत बोहरा, प्रदीप नेपाल, विश्वकान्त मैनाली, रघुजी पन्त, श्रीमाया थकालीको नाम सिफारिस गरेका थिए। नेपालले सिफारिस गरेका कुनै पनि व्यक्ति प्रदेश प्रमुखमा सिफारिस नभएपछि उनी असन्तुष्ट बनेका हुन्।

    ‘पहिला पनि उहाँले कतिपय कुरामा असन्तुष्टि राख्दै आउनुभएको थियो’, ती सचिवालय सदस्यले नेपालखबरसँग भने, ‘सचिवालय बैठकमा यो उहाँको दोस्रो नोट अफ डिसेन्ट हो।’ प्रदेश प्रमुखमा दुई अध्यक्षले ४/३ को भागबण्डा गरेको नेपालको आरोप छ। उता पार्टीले भक्तपुर १ नम्बर क्षेत्र क को उम्मेदवारमा देवीप्रसाद ढकालको नाम सिफारीस गरेकोमा कडा आपत्ति जनाउँदै नेकपा भक्तपुर जिल्ला कमिटीका सदस्यहरुले भक्तपुर कार्यालयमा तालाबन्दी गरिएका छन् ।

    आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३ भक्तपुर क्षेत्र नं। १ ९क० का लागि पार्टीले देवीप्रसाद अर्थात डीपी ढकाललाई उम्मेदवारी बनाएकोमा आपत्ति गर्दै आज कार्यालयमा तालाबन्दी गरिएको हो । नेकपा जिल्ला कमिटी सदस्य मन्दरा मिश्र, साधुराम दाहाललगायत जिल्ला कमिटीका पदाधिकारी, सदस्य, चाँगुनारायण क्षेत्रका नेकपाका सयौँ कार्यकर्ताको टोलीले उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन् ।

    टोलीले सूर्यविनायकस्थित पार्टी कार्यालयको ढोकामा प्रेस विज्ञप्ति टाँसेर दुईवटै ढोकामा तालाबन्दी गरी नाराबाजी गरेका छन् । पार्टी कार्यालय बाहिर पनि पार्टीको निर्णयविरुद्ध चर्को नाराबाजी गरिएको थियो । तालाबन्दी पछि पार्टी जिल्ला कमिटी सदस्य मन्दरा मिश्रले पार्टी ‘हाइकमाण्ड’ले यो निर्णय नसच्याएसम्म पार्टी कार्यालयमा छाड्न नहुने र धर्ना बस्नुपर्ने भन्दै कार्यकर्तालाई पार्टी कार्यालय नछाड्न निर्देशन दिएका छन् ।

    अर्का जिल्ला कमिटी सदस्य साधुराम दाहालले गतनिर्वाचनमा उम्मेदवार भई ७८६ मत ल्याएका ढकाललाई उम्मेदवार बनाउँदा पार्टीको जीत सुनिश्चित नहुने भएकाले सहज रुपमा जित्ने नेतालाई टिकट दिनुपर्ने मागसहित तालाबन्दी गरिएको बताए । पार्टीले निर्णय फिर्ता लिएर अर्को उम्मेदवार चयन नगरेसम्म तालाबन्दी जारी राखिने आन्दोलनरत् पक्षले बताएका छन् । नेकपा भक्तपुर जिल्लाले रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, डीपी ढकाल र नारायणी दङ्गालको नाम सिफारिस गरेको थियो ।

    यसैबीच प्रमुख विपक्षी नेपाली कांग्रेसले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ । यसले सरकार र विपक्षीबीच द्वन्द्व बढाउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मात्र सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णयमा हस्ताक्षर गरेकी थिइन् ।

    कांग्रेस प्रवक्ता शर्माले भने सरकार जरुरी काम छाडेर केही कार्यकर्तालाई जागिर खुवाउनेतिर लागेको टिप्पणी गरे । शर्माले  भने, ‘आजको दिनमा सरकारले गर्नुपर्ने थुप्रै कामहरु छन्, तर त्यसलाई छाडेर आफ्नो निकटस्थहरुलाई जागिर खुवाउनेतिर लागेर आफ्नो असफताको खाडल खल्नेतिर लाग्यो ।’

    सरकारको निर्णय पूर्वाग्रहीसमेत भएको उनले बताए । यदि संघ वा प्रदेश सरकारलाई अमुख प्रदेश प्रमुखका कारण काम गर्न असहज भएको भए भन्नुपर्ने भन्दै उनले भने, ‘एकमुष्ट रुपमा पदमुक्त गर्नु भनेको राजनीतिक पूर्वाग्रह पनि हो ।’ उनले अघि भने, ‘अघिल्लो सरकारका निर्णयहरु उल्टाएर राजनीतिक द्वन्द्व बढाउन खोजियो ।’ उनले उपचुनावका लागि आचार संहितासमेत लागू भइसकेको अवस्थामा प्रदेश प्रमुखहरु हटाउने र नियुक्त गर्नु कति नैतिकपूर्ण हुन्छ भन्ने प्रश्न समेत गरे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ