काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’लाई प्रहरीले पुनः गिराफ्तार गरेको छ । मंगलवार सर्वोच्च अदातलबाट रिहा भएका जिल्ला ईन्चार्ज रुपेशलाई प्रहरीले सर्बोच्चको गेटबाटै पुनः गिरफ्तार गरेको हो ।
सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडा र बमप्रसाद श्रेष्ठको सँयुक्त ईजलासले वाग्लेलाई रिहा गर्न आदेश दिएको थियो । गिरफ्तार पछि वाग्लेलाई कहाँ लगिएको छ भन्ने कुनै जानकारी प्राप्त भएको छैन । वाग्लेको मुद्दा कास्की र स्याङ्जामा चलिरहेकाले उनलाई पोखरा नै लैजाने तयारी गरेको हुनसक्ने आशंका गरिएको पत्रकार राजेन्द्र अधिकारीले जनाएका छन् ।
रुपेशलाई पोखराको शिशुवाबाट भदौ ६ गते पत्रकार ओम हमालसंगै गिरफ्तार गरिएको थियो । मंगलवारको बहसमा वाग्लेको तर्फबाट छ जना अधिवक्ताले वहस गरेका थिए । पत्रकार ओम हमालसँगै रिहा भएका रुपेशलाई प्रहरीले पुनः गिरफ्तार गरेपनि पत्रकार हमाल भने मंगलवार रिहा भएका छन् ।
यस अघि हमाललाई पनि सर्बोच्च्चले रिहा गर्न आदेश दिएकाे थियो । सर्बोच्चको आदेशमा रिहा भएका हमालले प्रहरीमाथि हातपात गरेको आरोपमा गत बुधवार पुनः गिरफ्तार परेका थिए । उनको काठमाडौं जिल्ला प्रशासन कार्यालबाट ७ दिनको म्याद थपिएको थियो ।
प्रतिक्रिया