• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सरकारद्वारा आज एकाएक सार्वजनिक विदाको घोषणा, यस्तो छ कारण, विज्ञप्तिसहित

    22.5K
    SHARES

    कैलाली । सरकारले आज भदौ ६ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने भएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आज शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामना दिएको छ । गौरा पर्वका अवसरमा यही भदौ ६ गतेका दिन सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा गरिएको छ ।

    त्यस्तै कृष्ण जन्माष्टमीका दिन प्रदेश २ मा पनि सार्वजनिक विदा दिइने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले क्यालेण्डरमै कृष्ण जन्माष्टमीको विदा उल्लेख गरिसकेकाले सो दिन विदा दिने बताएका हुन् । यस पटकको कृष्ण जन्माष्टमी भदौ ६ गते शुक्रबार (भोली) परेको छ । यो दिन प्रदेश २ मा विदा रहने प्रदेश २ सरकारले जनाएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले कृष्ण जन्माष्टमीको दिन सार्वजनिक विदाको माग गर्दै मुख्यमन्त्रीलाई बुधबार ज्ञापन पत्र बुझाएपछि मुख्यमन्त्री राउतले यसअघि नै प्रदेश सरकारले क्यालेण्डरमा यो पर्वको विदा उल्लेख गरिसकेको जानकारी दिए । मुख्यमन्त्री राउतले कृष्ण जन्माष्टमी जस्तो महान पर्वमा संघीय सरकारले समेत विदा दिनुपर्ने बताउँदै यसका लागि आफूले पहल गर्ने बताएका थिए ।

    यस्तै सुदूरपश्चिम प्रदेशमा आज धुमधामका साथ गौरापर्वको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली मनाइँदैछ । विहीबार साँझ गौराघरमा भित्र्याएको गौरालाई आज ब्रतालु महिलाहरुले गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रही आएको छ । ब्रतालु महिलाहरुले बिरुडा(विभिन्न पाँच थरीका अन्न)ले दिनभरी फाग गाएर गौरादेवीको पूजा गर्ने चलन छ । हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रद्वारा पवित्र पारिएको धागो) आजै महिलाहरुले धारण गर्ने गर्दछन् ।

    तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै पश्चिम नेपालमा महिलाहरुले दुबधागो धारण गर्ने गर्दछन् । गौराघरबाट गौरालाई सिंगारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाहरुले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन रही आएको छ । गौराको उत्पत्ति, महेश्वरसंगको विवाह लगायतका प्रसंग ब्रतालु महिलाहरुले फाग मार्फत नै भन्ने गरेका छन् ।

    ब्रतालु महिलाहरुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान, छोराछोरी र आफन्तजनको चिरायु दिर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरुले ठाडोखेल, ढुस्को धमारी लगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरु खेल्ने गर्दछन् । महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने मान्यता छ । गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरुमा मनाउने गरिन्छ ।

    गौरा पर्वका अवसरमा आज काठमाडौंको टुडिखेलमा काठमाडौंमा बसोबास गर्दै आएका सुदूर तथा मध्यपश्चिमेलीहरु भेला भई सामूहिक देउडा खेल्ने कार्यक्रम राखिएको छ । दुवोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दूर्वाष्टमी पनि भनिन्छ। दुवो जसरी फैलिन्छ त्यसरी नै सन्तान दर फैलिउन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ। सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दूर्वाष्टमी पर्व मनाइन्छ।

    अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुवोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि गौतमले बताए। अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुवोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ। यस दिन दुवो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्मग्रन्थ हेमाद्रिमा उल्लेख गरिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ